काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले आज (असार १९ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले जारी पूँजी ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात ८ करोड रुपैयाँ बराबरको प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ दरका ८ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो। उक्त सेयरका लागि दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं. ५, ६, ७ र ८, बिगु गाउँपालिका वडा नं. ४ र कालिञ्चोक गाउँपालिका वडा नं. ३ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।
साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने २ करोड रुपैयाँ बराबरको प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ दरका २ लाख कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो।
कम्पनीको उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले अधिकतममा ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा साउन २ गते हुनेछ भने ढिलोमा साउन १७ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने साउन २ गतेभित्र आवेदन दिनु पर्नेछ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले कम्पनीको रजिष्ट्रर्ड कार्यालय, प्रभु बैंक, सिन्धु विकास बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका तोकिएका शाखा कार्यालय तथा गौरीसंकर गाउँपालिकाको कार्यालयबाट आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
प्रतिक्रिया दिनुहोस्