काठमाडौं । अविरल वर्षाका कारण देशैभर वाडी र पहिराे गएकाे छ । पिहराेका कारण देशका बिभिन्न सडक तथा राष्ट्रिय राजमार्ग समेत अवरुद्ध भएकाे छ । अवरुद्ध रहेकाे नारायणगढ–मुग्लिङ सडक खण्ड पहिरो पन्छाए २८ घण्टा पछि शुक्रवार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो । तर साे सडक पिहराेका कारण पून अवरुद्ध भएकाे छ ।
नारायणगढ–मुग्लिङ सडक खण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान पहिरो खसेको हो ।
सोही स्थानमा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रवार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो । पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको सडकमा पुनः पहिरो खसी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
२८ घण्टा लगाएर पहिरो पन्छाएसँगै रोकिएर राखिएका सवारी साधनलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको समयमा पुनः पहिरो खसेसँगै यस सडक भएर यात्रा गर्ने यात्रु अलपत्र परेका छन् । पहिरो पन्छाउने काम सुरु गरिएको छ । सो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी आवतजावत गर्ने गर्दछन् ।
पहिराले गोरुसिङ्गे सन्धिखर्क सडक अवरुद्ध
अविरल वर्षाका कारण गोरुसिङ्गे सन्धिखर्क सडक अवरुद्ध भएको छ । सन्धिखर्क–६ नरपानीको बहखोरामा गए राति पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।
गोरुसिङ्गे सन्धिखर्क सडकको सन्धिखर्क–६ नरपानीकै दहखोला र शीतगङ्गा १३ कोन्द्रेखोलामा खसेको पहिरो हटाइ सकिएको र बहखोरको सडकमा खसेको पहिरो पन्छाउने कार्य भइरहेको प्रहरी प्रमुख प्रनाउ रिजालले जानकारी दिए । सडक अवरुद्ध बनेपछि सन्धिखर्कबाट बाहिर जाने र बाहिरबाट सन्धिखर्क आउने यात्रु बीचमै रोकिएका छन् ।
पहिराले नवलपुरका पहाडी क्षेत्रमा यातायात अवरुद्ध
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा सञ्चालन हुने यातायात पहिराका कारण अवरुद्ध भएको छ । जिल्लाको दलदले–कुमसोत–पोखरी खण्डअन्तर्गत हुप्सेकोट गाउँपालिका–५ पाङ्गे्र र पोखरी खण्डमा खसेको पहिराको कारण यातायात अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख गणेश पौडेलले बताए ।
पानी परिरहेकाले यस खण्डमा तत्काल पहिरो पन्छाएर बाटो खुलाउन समस्या भएको उनले बताए । नवलपुरको पहाडी क्षेत्रलाई जोड्ने मुख्य खण्ड पहिराले अवरुद्ध भएपछि दललदलेबाट पहाडी क्षेत्रमा छुट्ने र पहाडी क्षेत्रबाट दलदलेतर्फ छुट्ने सवारी सञ्चालनमा आउन सकेका छैनन् ।
पहिराले बाटो अवरुद्ध हुँदा मुख्य राजमार्ग र सदरमुकामसँग पहाडी क्षेत्रको यातायात सम्पर्क टुटेको छ । यसैगरी कालिगण्डकी करिडोरको नवलपुरखण्डसमेत पहिराको कारण अवरुद्ध भएको छ । कालिगण्डकी करिडोरअन्तर्गत बुलिङटार १ र ६ मा पहिरो खसेकाले करिडोर पूर्णरुपमा बन्द भएको प्रमुख पौडेलले बताए ।
जिल्लाको मुख्य राजमार्ग पूर्व पश्चिम राजमार्गमा भने यातायात सञ्चालनमा कुनै समस्या नरहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्