भक्तपुर । भक्तपुरमा घरेलु तथा कृषि पर्यटन उद्योग प्रवर्धनका लागि घरेलु कृषि पर्यटन मेला हुने भएको छ । भक्तपुरमा उत्पादित घरेलु तथा कृषि उत्पादन एवं नेपाली रैथाने उत्पादन, नेवारी खानाका परिकारसहित भक्तपुरको सूर्यविनायकमा मेला हुने भएको हो ।
नगरपालिकाले विभिन्न स्वरोजगारका कार्यक्रम साथै सीपमूलक तालिम दिँदै आएको छ, नगरपालिकाको उपलब्धि साथै कृषि, पर्यटन तथा घरेलु उद्योगबाट उत्पादन भएका सामग्रीलाई बजारीकरणमा सहजताका लागि मेलाको आयोजना गरिएको सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं वडा नम्वर ७ का वडा अध्यक्ष रवीन्द्र सापकोटाले जानकारी दिए । उनका अनुसार मेलामा ९५ भन्दा बढी स्टलहरू रहने छन् ।
नेपाली उत्पादनको प्रयोग गरौँ स्थानीय उत्पादनलाई प्राथमिकता दिऊँ भन्दै उक्त मेला हुन लागेको भक्तपुर घरेलु तथा साना उद्योगका अध्यक्ष प्रेम खर्बुजाले जानकारी दिए। सूर्यविनायक नगरपालिकाको सहयोगमा हुन लागेको उक्त मेलामा भक्तपुरमा उत्पादन हुने तथा नेपाली रैथाने उत्पादनहरूको प्रदर्शनी हुने छ ।
नेपालको कुल गार्हस्थ्य उत्पादनको ठूलो हिस्सा ओगटेको साना तथा घरेलु उत्पादनलाई नेपाली माझ चिनाउन मेला आयोजना गर्न लागेको उनले जानकारी दिए। मेलामा घरेलु उत्पादनका साथै स्थानीय खानाहरूको स्टल नेवारी खाना, योमरी, चटामरी, समय बजी, बारा, च्याउको छ्वायला तथा च्याउका विभिन्न परिकारहरू समेटिने खर्बुजाले बताए ।
भक्तपुर जिल्लाका स्थानीय उत्पादन विशेष गरी सूर्यविनायक नगरपालिकाका स्थानीय उत्पादनलाई पर्यटन सँग जोड्नको लागि उक्त मेलाको आयोजना गरिएको भक्तपुर पर्यटन विकास समितिका पूर्व अध्यक्ष राम सुन्दर भेलेले जानकारी दिनुभयो । उहाँका अनुसार भक्तपुरका घरेलु, रैथाने उत्पादनसँग पर्यटन जोड्न नसके पर्यटन उद्योग र घरेलु उद्योग दुवै धारासायी हुने उहाँको धारण रहेको छ ।
सूर्यविनायक नगरपालिका वडा नम्वर ८ स्थित हरित कृषि थोक बजार आदर्श चोकमा हुने उक्त मेलामा भक्तपुर साङ्गीतिक समाजले विभिन्न सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गर्ने साङ्गीतिक समाजका अध्यक्ष प्रवीण शाहीले जानकारी दिए।
मेलामा घरेलु, कृषि, पर्यटन, हस्तकला, काष्ठकला, धातुकला, विद्युतीय सामग्रीहरू, नेवारी खाना, विभिन्न खानाहरू, सहकारी, बैंङ्किङ, शिक्षा, लगायतका स्टलहरू समावेश हुने छन् ।
प्रतिक्रिया दिनुहोस्