नवलपरासी । नवलपुरको शनिश्चरे तालको पुनःनिर्माण गरिएको छ । जिल्लाको देवचुली नगरपालिका–१ मा अवस्थित तालको गण्डकी प्रदेश सरकारको सहयोगमा पुनःनिर्माण सम्पन्नभएको हो । जिल्लाकै ठूलो तालका रुपमा रहेको शनिश्चरे ताल साँघुरिँदै गएपछि ताल सफा गर्ने, ताल पुरिएको स्थानमा खन्नेलगायतको काम गरिएको सिसबार उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर पाण्डेले बताए ।
एकतीस बिघा क्षेत्रफलमा फैलिएको ताल गण्डकी प्रदेश सरकारको ४० लाख र उपभोक्ता समितिबाट ४ लाख ३४ हजार चार सय २१ गरी कूल ४४ लाख ३४ हजार चार सय २१ लागतमा पुनःनिर्माण गरिएको उनले जानकारी दिए । सिमसारको रुपमा रहेको यस क्षेत्रको संरक्षण गर्दै तालको रुपमा विकास गरिएको हो ।
ताल संरक्षण गर्नु जैविक विविधताका हिसाबले समेत महत्वपूर्ण रहेको अध्यक्ष पाण्डेले बताए । गैँडा, मृगलगायतका वन्यजन्तुलाई पानीको स्रोत, लोपउन्मुख चराको बासस्थानका लागि तालको महत्व रहेको अध्यक्ष पाण्डेले बताए । जिल्लाकै ठूलो ताल भएकाले पर्यटनको आकर्षणसमेत बन्ने उनले बताए ।
“जैविक विविधताको संरक्षण गर्दै पर्यापर्यटनको माध्यमबाट दिगो जीविकोपार्जन गर्नका लागि यो तालको महत्व रहेको छ”, उनले भने । तालमा अहिले माछापालनसमेत गरिएको छ । लक्षित वर्ग माझी, मुसहर, बोटे समुदायको आर्थिक उपार्जनमा समेत तालले सहयोग पुग्ने उनले बताए ।
पूर्व पश्चिम राजमार्गको केउरेनीदेखि दुई दशमलव पाँच किलोमिटरको दूरीमा रहेको शनिश्चरे ताललाई जिल्लाकै आकर्षक पर्यटकीयस्थलको रुपमा विकास गर्न १५ करोडको विस्तृत परियोजना प्रतिवेदनसमेत तयार पारिएको अध्यक्ष पाण्डेले बताए ।
पार्क, मचान, दृश्यावलोकन स्तम्भसहितका संरचना बनाउने गरी विस्तृत परियोजना प्रतिवेदन तयार पारिएको उनले बताए । प्रारम्भिकरुपमा थोरै बजेटले तालको पुनःनिर्माणको काम गरिएको र क्रमशः योजनाअनुसारका काम गरिने अध्यक्ष पाण्डेले बताए ।
“प्रदेश सरकारबाट प्राप्त रकमबाट प्रारम्भिक चरणमा तालको पुनःनिनिर्माणको काम अघि बढाएका छौँ, क्रमशः यसको विकास गर्ने योजना हाम्रो रहेको छ”, अध्यक्ष पाण्डेले भने । “मुख्य कुरा बजेटको समस्या हो, यसका लागि तीनै तहका सरकारसमक्ष समन्वय गरिरहेका छौँ ।” चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले तालको थप महत्व रहेको उनकाे भनाइ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्