काठमाडाैं। चालु आर्थिक वर्ष २०७९र८० को जेठ मसान्तसम्ममा नेपालले व्यहोरेको व्यापारघाटा १३ खर्ब ३७ अर्ब ३९ करोड रूपैयाँ पुगेको छ ।
भन्सार विभागले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार ११ महिनामा मुलुकले कुल १४ खर्ब ८० अर्ब ९८ करोड रूपैयाँ बराबरको वस्तु आयात गर्दा १ खर्ब ४३ अर्ब ५८ करोड रूपैयाँ बराबरको मात्रै निर्यात गरेको हो ।
विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा वैदेशिक व्यापारको आँकडा घटेको छ । गत आर्थिक वर्षको जेठ मसान्तसम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा आयात १६ दशमलव शून्य एक, निर्यात २२.७४ र कूल व्यापार १६.६५ प्रतिशतले घटेको छ । कूल वैदेशिक व्यापार घटेसँगै गत वर्षको तुलनामा व्याघार घाटा पनि १५.२१ प्रतिशतले घटेको छ ।
यो अवधिमा मुलुकले कूल निर्यातको तुलनामा १०.३१ गुणा धेरै आयात गरेको छ । त्यस्तै, कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९१.१६ प्रतिशत र निर्यातको हिस्सा ८.८४ प्रतिशत रहेको छ।
नेपालले सबैभन्दा बढी वैदेशिक व्यापार गर्ने छिमेकी मुलुक भारतसँग मात्र यो अवधिमा ८ खर्ब ३८ अर्ब ८५ करोड रूपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । जेठ मसान्तसम्ममा भारतबाट नौ खर्ब ३७ अर्ब ८३ करोड रूपैयाँको सामान आयात हुँदा ९८ अर्ब ९७ करोड रूपैयाँ बराबरको मात्रै निर्यात भएको देखिन्छ ।
त्यस्तै, चीनबाट २ खर्ब २ अर्ब ३७ करोडको वस्तु आयात हुँदा १ अर्ब ५२ करोडको मात्र निर्यात भएको छ । जसकारण चीनसँगको व्यापारघाटा २ खर्ब ८४ करोड रूपैयाँ बराबर छ । नेपालले धेरै व्यापार घाटा व्यहोरेका मुलुकहरूमा इन्डोनेसियासँग ३९ अर्ब ७५ करोड, संयुक्त अरब इमिरेट्ससँग ३० अर्ब ७४ करोड र अर्जेन्टिनासँग २३ अर्ब ४७ करोड रूपैयाँ रहेको छ ।
नेपालले धेरै व्यापार नाफा गरेका मुलुकमा डेनमार्क, नर्वे, अल्जेरिया, नाइजर, कम्बोडिया, उरुग्वेलगायत छन् । चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको वैदेशिक व्यापारको अवस्था हेर्दा नेपालले डेनमार्कसँग ४३ करोड ६० लाख रूपैयाँ, नर्वेसँग रु १० करोड १६ लाख रूपैयाँ र अल्जेरियासँग सात करोड २५ लाख रूपैयाँ व्यापार नाफा गरेको छ ।
जेठ मसान्तसम्ममा नेपालले सबैभन्दा बढी आयात गरेका वस्तु हेर्दा १ खर्ब ३७ अर्ब ६० करोड रूपैयाँको डिजेल, ६१ अर्ब ३८ करोड रूपैयाँको पेट्रोल र ५४ अर्ब ३२ करोड रूपैयाँको एलपी ग्यास रहेको छ । त्यस्तै, ३४ अर्ब तीन करोड रूपैयाँको कच्चा सोयाबिन तेल, २४ अर्ब ९७ करोडको कोइला र २४ अर्ब ६२ करोड रूपैयाँको कच्चा पाम तेल आयात भएको छ ।
यही अवधिमा नेपालले धेरै निर्यात गरेका वस्तुको सूचीमा कार्पेट, पाम तेल, सोयाबिन तेल, अलैँचीलगायत छन । जेठ मसान्तसम्ममा नेपालले सबैभन्दा धेरै १० अर्ब ३२ करोडको कार्पेट निर्यात गरेको छ । त्यस्तै, रु १० अर्ब २१ करोडको प्रशोधित पाम तेल, रु आठ अर्ब ४७ करोडको प्रशोधित सोयाबिन तेल र रु सात अर्ब ७० करोडको अलैँची निर्यात गरेको भन्सार विभागको तथ्याङ्कबाट देखिन्छ । रासस
प्रतिक्रिया दिनुहोस्