वीरगञ्ज। मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाले अगामी आर्थिक वर्षका लागि ३ अर्ब २१ करोड रूपैयाँको अनुमानित बजेट ल्याएको छ ।महानगरपालिकाले आज वीरगञ्जमा आयोजना गरेको १३औं नगर अधिवेशमा महानगरपलिकाका उपप्रमुख इम्तियाज आलमले आर्थिक वर्ष २०८०/८१ का लागि ३ अर्ब २१ करोड ३५ लाख ४४ हजार रूपैयाँको अनुमानित आयव्यायको बजेट प्रस्तुत गरेकाे हो ।
‘औद्योगिक तथा व्यापारिक सहर, सुसंस्कृत सभ्य हाम्रो वीरगञ्ज महानगर’ भन्ने नारासहित महानगर उपप्रमुख आलमले नगर सभालाई सम्बोधन गर्दै चालुतर्फ कूल बजेटको ७७ प्रतिशत चालु खर्च, २२ प्रतिशत पुँजीगत खर्च र कुल बजेटको एक प्रतिशत वित्तीय व्यवस्थापनतर्फ छुट्याइएको जानकारी दिए।
उनका अनुसार आगामी आवका लागि चालु खर्चतर्फ २ अर्ब ४८ करोड ८५ लाख पाँच हजार, पुँजीगततर्फ ६८ करोड ८७ लाख १५ हजार र वित्तीय व्यवस्थातर्फ तीन करोड ६३ लाख २४ हजार रुपैयाँ छुट्याइएको छ ।
सभामा उनले आन्तरिक आयबाट एक अर्ब २० करोड ४४ लाख ३० हजार, नेपाल सरकारको वित्तीय हस्तान्तरणबाट १ अर्ब ३३ करोड २१ लाख, सङ्घीय राजस्व बाँडफाँटबाट २५ करोड २४ लाख ७० हजार, प्रदेश वित्तीय हस्तान्तरणबाट ५ करोड ४५ लाख ९५ हजार र प्रदेश राजस्व बाँडफाँटबाट दुई करोड ८७ लाख रुपैयाँ बेहोरिने जानकारी दिए।
प्रस्तुत बजेटमा आगामी आर्थिक वर्षका लागि शिक्षा क्षेत्र सुधारतर्फ १२ करोड २० लाख र खानेपानी तथा सरसफाइ क्षेत्रमा १२ करोड रूपैयाँ विनियोजन गरिएको छ ।आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ एवं विकेन्द्रित रूपबाट उपलब्ध गराउन विकेन्द्रित स्वास्थ्य सेवाका लागि ३ करोड ७५ लाख रूपैयाँ, यातायात पूर्वाधार क्षेत्रका लागि ५९ करोड, स्वयंसेवक शिक्षक कार्यक्रमका लागि चार करोड ७५ लाख रूपैयाँ, खेलकुद क्षेत्रका लागि १ करोड रूपैयाँ छुट्याइएको उपप्रमुख आलमले जानकारी दिनुभयो ।
कार्यक्रममा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख राजेशमान सिंहले स्वास्थ्य, शिक्षा, पूर्वाधारको विकासलाई जोड दिनुका साथै सुशासनलाई प्राथमिकतामा राखिएको जानकारी दिए ।
उनले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदै असारे विकासलाई निरुत्साहित गरिने र महानगरपालिकाको प्रशासनिक सेवालाई चुस्तदुरुस्त बनाउँदै परम्परागत विधिलाई परिमार्जित गर्दै महानगरपालिकाको सबै वडालाई अनलाइन प्रविधिसँग जोडिने बताए।
आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेट चालु आवको तुलनामा करिब चार प्रतिशत कम रहेको छ । महानगरपालिकाको १२औँ नगर अधिवेशनबाट ३ अर्ब ३३ करोड ६३ लाख २६ हजार रूपैयाँको बजेट प्रस्तुत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्