काठमाडौं । सामाजिक उत्तरदायित्वअन्तर्गत सनराइज बैंकले सुनसरीको झुम्का नगरपालिकामा मासु उत्पादनका लागि पशुपालनसम्बन्धी र डडेलधुरामा आलु खेती सम्बन्धमा सीपमूलक तालिम तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
स्थानीय तहमा सुहाउँदो कृषि व्यवसायसम्बन्धी तालिम स्थानीय व्यक्तिहरुलाई प्रदान गरेर उनीहरुको आम्दानी वृद्घिमा मद्दत गर्ने तथा त्यस व्यवसायमा आवश्यक पर्ने बैंकिङ ज्ञान प्रदान गर्ने उद्देश्यका साथ असार १ गतेदेखि झुम्का, सुनसरीमा ३१ जना सहभागीहरुका साथमा २ दिने मासु उत्पादनका लागि पशुपालनसम्बन्धी सीपमूलक तालिम तथा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको थियो ।
सनराइज बैंक कोसी प्रदेशका प्रमुख विनोद गजुरेल र बैंकका अन्य पदाधिकारीहरुको उपस्थितिमा उक्त कार्यक्रम गरिएको थियो । २ दिने कार्यक्रमको प्रशिक्षण डा. नागेन्द्रबहादुर दाहाल र सबिन खतिवडाले गरेका थिए । बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको उक्त कार्यक्रम विशेषगरी बाख्रा, बङ्गुर र कुखुरा पालनमा केन्द्रित सीपमूलक तालिम दिइएको थियो ।
त्यसैगरी कृषकहरु समक्ष कृषि, आम्दानी वृद्धि र बैंकिङ ज्ञान प्रदान गर्न जेठ ३२ गतेदेखि अमरगढी ८, डडेलधुरामा आयोजित २ दिने आलु खेती उत्पादन तथा वित्तीय साक्षरता कार्यक्रममा ४० जना सहभागीहरु थिए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालयका स्रोत व्यक्तिहरु ध्रुवराज जोशी मनिषा चौधरीद्वारा प्रशिक्षित उक्त कार्यक्रम मुख्य अतिथि अमरगढी ८ का वडा अध्यक्ष नरबहादुर शंखी र बैंकका तर्पmबाट प्रतिनिधि पुष्पराज भट्टको उपस्थितिमा आयोजना गरिएको थियो ।
यस तालिमले आलुको व्यवसायिक उत्पादन, बजारीकरण, आलुबाट बनाउन सकिने सामग्रीसम्बन्धी ज्ञान र त्यसबाट आफ्नो आयलाई कसरी बढाउन सकिन्छ भन्नेबारे ज्ञानसमेत दिइएको थियो।
सीपमूलक तालिमले कृषकहरुमा उत्पादन वृद्घि, त्यसको बजारीकरण र बचतका बारेमा ज्ञान प्रदान भएको र यसले उनीहरुको व्यावसायिक क्षमतामा वृद्धि गर्ने बैंकले विश्वास लिएको छ । बैंकले यस्ता सीपमूलक तालिम देशभरिका सातै प्रदेशमा गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्