म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनाका अवधिमा ८२ प्रतिशत योजना निर्माण सकेको छ ।
चालु आव २०७९/०८० मा बजेट विनियोजन भएका ३ सय ४२ मध्ये जेठ मसान्तसम्म दुई सय ८३ योजना निर्माण सकिएको नगरपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले तीन सय ३० योजना उपभोक्ता समिति र १२ ठेक्का प्रक्रियाबाट कार्यान्वयन गरिएको जानकारी दिए। “भौतिक पूर्वाधारका ५९ वटा योजना सम्पन्न हुने क्रममा छन”, उनले भने, “सबैभन्दा बढी भौतिक पूर्वाधारका योजनामा विनियोजन भएकोमध्ये ६३.४२ प्रतिशत खर्च भएको छ ।”
भौतिक पूर्वाधारतर्फ १७ करोड ६९ लाख ८५ हजार रुपैयाँ बजेट विनियोजन भएकामा ११ करोड २१ लाख ७९ हजार रुपैयाँ खर्च भएको छ । सडक, भवन, खानेपानी, सिँचाइ, पदमार्ग, नाली निर्माणसम्बन्धी योजना धेरै छन् । नगर गौरवका आयोजनाको रुपमा रहेको प्रशासकीय भवनको तला थप, बेनीको मिनि रङ्गशाला, बेनी–ज्यामरुककोट, सिंगा–तातोपानी तल्लो बजारमा कालोपत्र, बेनी–पात्लेखेत सडक र खबरा खानेपानी आयोजना निर्माण सकिएको छ ।
पात्लेखेत–काछलुङ खानेपानी आयोजनको ८५ प्रतिशत, गाजने–नयाँगाउँ–ढोलथान खानेपानी आयोजनाको ७५, अर्थुङ्गे–पुलाचौर–भुतपानी सडकको ८०, सिंगा कोल्ड स्टोरको २५, दूधेखोला–हल्लेगौडा–भकिम्ली सडकको ७० र महारानीथान–छाप–डाडाखेत–ठूलोखोला सडक आयोजनाको ८५ प्रतिशत भौतिक प्रगति भएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकामा विनियोजन भएको कूल ७९ करोड १८ लाख १३ हजार रुपैयाँ बजेटमध्ये ६८.९७ प्रतिशत खर्च भएको छ । विकास आयोजना तथा कार्यक्रमका लागि पुँजीगत शीर्षकको २९ करोड ३७ लाख ३८ हजारमध्ये १९ करोड ४७ लाख ३३ हजार अथवा ६१ दशमलव ७८ प्रतिशत खर्च भएको छ ।
चालु आवमा ४ करोड २३ लाख ७० हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको नगरपालिकाले ११ महिनामा ४ करोड २६ लाख ७२ हजार एक सय ४० संकलन गरेको छ । चालु आवको ११ महिनाका अवधिमा तीन सय ५१ जना बसाइँसराइ गरी गएका छन् भने दुई सय १५ जना नगरभित्र बसाई सरेर आएका छन् । नगरपालिकाको न्यायिक समितिमा दर्ता भएका २३ उजुरीमध्ये १९ को फछ्र्योट र तीन लाई सम्बन्धित निकायमा सिफारिस गरिएको छ । एक वटा सुनुवाइको प्रक्रियामा छ ।
प्रतिक्रिया दिनुहोस्