दोलखा । जिल्लाको उत्तरी सीमा र चीनको नाका जोड्ने राजमार्ग(१२ किमी) निर्माण शुरु हुने भएको छ । लामाबगरबाट नौ किलोमिटर टाढा पर्ने लप्चीसम्म चाहिँ सुरुङमार्ग निर्माण हुने छ । सञ्चार सूचना तथा प्रविधिमन्त्री पार्वत गुरुङले सोका लागि यसै वर्षमा ठेक्का लाग्ने बताएका छन् ।
सडक विभागले उत्तर–दक्षिण कोरिडोरअन्तर्गत दोलखाको लामाबागरदेखि बन्ने सुरुङमार्गको डिजाइन तयार गरेको छ । सुरुङमार्ग निर्माण गर्नका लागि बहुवर्षीय ठेक्का गर्न अर्थ मन्त्रालयसँग बजेटको सहमति पनि माग गरिएको छ ।
विभागको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक विजय जैसीका अनुसार यसरी सडक यातायात चलेमा चीनसँग जोडिने छोटो मार्ग बन्ने छ । जैसीका अनुसार आगामी दिनमा नाका खुलाउने योजनानुसार चीनसँग जोड्ने निकै छोटो दूरीमा पर्ने सो नाका खुलाउन लागिएको छ ।
दोलखाबाट भारत र चीनसँग जोड्ने सो नै उत्तम नाका हुने सूचना तथा सञ्चारमन्त्री गुरुङले बताउँदै आएका थिए । माथिल्लो तामाकोशीको मुखबाट शुरु हुने उक्त मार्ग निर्माणपछि चीनबाट आयात हुने सामान ढुवानी गर्न र दोलखामा उत्पादित तरकारी तथा अन्य बालीको निकासी गर्न सहज हुने स्थानीयवासीको धारणा रहेको छ ।
सो मार्ग निर्माण गर्नका लागि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको हेडवक्र्समाथिको भागमा करीब एक किलोमिटर सुरुङ निर्माण गर्नुपर्नेछ ।सो सुरुङसँगै थप नौ किमी सडक निर्माण भएछि मात्रै चीनसँग नाका जोडिने छ । सो मार्गलाई चीन र भारतसँग जोड्ने नेपालकै छोटो दूरीको सडकका रुपमा लिन सकिने मन्त्री गुरुङले बताए ।
चीनको तिब्बतदेखि भारतको भित्तामोठसम्मको सो सडक निकै छोटो दूरीको हुने भएकाले दुवै देशका सामान लैजान र ल्याउनसमेत सहज हुनेछ । भारतको सिमानादेखि लामाबगरसम्म पक्की सडक निर्माण यसअघि नै भएकाले लामाबगरदेखि लप्ची र चीनको नाकासम्म सडक जोड्न बाँकी रहेको स्थानीयवासीले बताएका छन् ।
लप्चीदेखि तिब्बतको फलाकसम्मको १२ किमी सडक निर्माणपछि चीनको सिमानासम्म गाडीमा पुग्न सकिन्छ । यसअघि नै सडक डिभिजन कार्यालय दोलखाले ठेक्का लगाएर ३ किमी ट्र्याक खोलिसकेको छ । राजमार्ग निर्माणपछि भित्तामोठदेखि फलाकसम्म मोटरमा पुग्न सकिने छ । यसबाट भारत र चीनसँग जोडिने उत्तर –दक्षिण राजमार्ग तयार हुनेछ ।
यस वर्ष तीन सुरुङमार्गको अध्ययन शुरु भइरहेको छ । सो राजमार्ग काठमाडौँ –निजगढ दु्रतमार्गअन्तर्गत पर्छ । अन्य १७ सुरुङमार्ग अध्ययन सकिने अवस्थामा पुगेको बताइएको छ । सुरुङमार्ग निर्माणमा खर्च धेरै लाग्ने भए तापनि दूरीको हिसाबले छोटो हुने भएकाले सङ्घीय सरकारले यस प्रकारका सडक निर्माण गरी समय र आर्थिक भार कम गर्न सके देश विकासमा टेवा पुग्ने स्थानीयवासी बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्