काठमाडाैं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीका लागि कम्बोडिया र दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोलुखुम्बुको लिखुपिके गाउँपालिका–१ घर भई हाल काठमाडौंमा बस्दै आएका ४६ वर्षीय शेरबहादुर तामाङ र झापाको दमक नगरपालिका–१० घर भई हाल काठमाडौं बस्दै आएकी ४५ वर्षीया मुनादेवी कार्की छन् । तामाङले खुमबहादुर रानालाई वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिन्छु भन्दै ५ लाख ठगी गरेको आरोपमा आज नयाँबानेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यसैगरी, कार्कीले उमेश श्रेष्ठलाई वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भन्दै ४ लाख ५० हजार ठगी गरेको आरोपमा प्रहरीले बबरमहलबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । उनका अनुसार पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्