काठमाडौं । नेकपा(एमाले)का सचिव तथा सांसद योगेश भट्टराईले विदेशी ऋण नतिर्ने निर्णय गर्नुपर्ने बताएका छन् । प्रतिनिधी सभाको बैठकमा आगामी आर्थिक बर्षको बजेटमाथिको छलफलमा भाग लिँदै भट्टराईले भने झण्डै २१ खर्ब ऋण तिर्न बाँकी रहेको र सोमध्ये विदेशी ऋण नतिर्ने घोषणा गरिनुपर्ने बताएका हुन् ।
पूर्व मन्त्री समेत रहेका नेता भट्टराईले संसदबाट संकल्प प्रस्ताव पारित गरेर विदेशी ऋण नतिर्ने घोषणा गर्न सकिने र तत्कालै त्यस्तो गरिनुपर्ने बताएका हुन् ।
यसो भने भट्टराईले
आज हाम्रो झण्डै २१ खर्बको ऋण भएको छ, आन्तरिक र वाह्य गरेर । यो अब हामी तिर्न सक्छौं की सक्दैनौं ? त्यसकारणले एउटा वृहद गोलमेच सम्मेलन मार्फत यो संसदले घोषणा गरोस की हाम्रा विदेशी मित्र राष्ट्र, दाताहरुलाई हामी अब ऋण तिर्न सक्दैनौं । ऋण जति तपाई सहायतामा बदल्नुस् । अनुदानमा बदल्नुस् । यो सामुहिक ढंगले हामी घोषणा गरौं । यदि होइन भने तपाईले झण्डे साढे ३ खर्ब वित्तिय व्यवस्थापनका निम्ति छुट्याईराख्नु भएको छ । त्यो भनेको ब्याज तिर्ने, साँवा तिर्नेमा जान्छ, जुन पैसा पुँजीगत खर्च भन्दा धेरै छ । यो कहिलेसम्म धान्नु हुन्छ ? हामी तिर्न सकुँला त ? बडो कठिन छ । त्यसकारण आज हामीले भूकम्पका बेला लिएको होला, कोभिडका बेलामा लिएको होला । त्यो त एउटा आम जनकल्याणका लागि लिएको हो नी । त्यो दायित्व अन्तराष्ट्रिय समुदायको पनि हुन्छ की नेपाल जस्ता अल्पविकसित मुलुकहरुका सन्दर्भमा की उनीहरुले त्यो अनुदानमा परिणत गर्न सक्छन् । र त्यसका लागि निम्ति एउटा राष्ट्रिय संकल्प चाहिन्छ । त्यसका निम्ति तपाईले प्रमुख प्रतिपक्षी दलसँग सम्वाद गर्नुपर्छ । संसदसँग छलफल गर्नुपर्छ । यो संसदसँग तपाईले आदेश लिनुपर्छ । अनि बल्ल तपाईले त्यो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्