पोखरा । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखराको न्युरोडमा रहेको आफ्नै भवनको उद्घाटन गरेको छ । सोमबार आयोजित एक भव्य कार्यक्रमबीच कम्पनीका सञ्चालक समितिका सदस्यहरु कमलेश अग्रवाल, विमलप्रसाद ढकाल र कृष्णराज लामिछाने, प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र नेपाल बिमा प्राधिकरण गण्डकी प्रदेशका प्रादेशिक प्रमुख केशवप्रसाद दाहालले संयुक्त रूपमा उक्त भवनको उद्घाटन गरेका हुन् ।
करिब ३ हजार २ सय २० वर्ग फिटमा फैलिएको उक्त भवनको उद्घाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ–संस्थाका प्रमुख, विभिन्न सञ्चार माध्यमका प्रतिनिधि, बिमा अभिकर्ता तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति थियो ।
यस सुविधासम्पन्न भवनमा गण्डकी प्रदेशको प्रादेशिक कार्यालय र पोखरा शाखा कार्यालय रहने छ । उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा यस कम्पनीका सञ्चालक समितिका सदस्य कमलेश अग्रवालले नेपाल लाइफको आफ्नै भवनको उद्घाटन गर्न पाउँदा हर्षले गदगद भएको बताए ।
निकट भविष्यमा नै कम्पनीले नेपालका मुख्य सहरहरुमा घर जग्गा खरिद गर्ने योजनासहित कार्यारम्भ गरिसकेको बताए । अग्रवालले नेपालले संघीयताको ढाँचा अवलम्बन गरेको र यसैलाई मुर्तरुप प्रदान गर्ने अभिप्रायका साथ नेपाल लाइफले सातैवटा प्रदेशमा प्रादेशिक कार्यालयको स्थापना गरिसकेको कुरा बताए ।
नेपाल बिमा प्राधिकरण, गण्डकी प्रदेशका प्रमुख केशवप्रसाद दाहालले नेपाल लाइफले प्रादेशिक कार्यालय स्थापना गरी नेपाल बिमा प्राधिकरणले लिएको नीतिलाई सघाएको बताए । प्रादेशिक कार्यालय स्थापना गरी केन्द्रीय कार्यालयबाट प्रदान गरिने सेवाहरु स्थानीय ठाउँबाट प्रदान गर्न सके बिमा सचेतामा बढ्न गई बिमा प्रतिमान्छेको आकर्षण बढ्नेमा आफू विश्वस्त रहेको बताए ।
सो कार्यक्रममा बोल्दै सञ्चालक समितिका सदस्य विमलप्रसाद ढकालले बिमा व्यवसाय आफ्नो सिमा आफैं तोकेर गर्न सकिने व्यवसाय रहेको र यस क्षेत्रमा प्रचुर सम्भावना भएको हुनाले आफ्नै गाउँ ठाउँमा रहेर स्वरोजगार हुन इच्छुक व्यक्तिहरुका लागि यो क्षेत्र एकदमै लाभदायी तथा सम्मानजनक रहेको बताए ।
कम्पनीका सञ्चालक समितिका सदस्य कृष्णराज लामिछानेले नेपाल लाइफको काठमाडौं उपत्यका बाहिर पोखराको भवन पहिलो रहेको तथा यसले कम्पनीको विश्वसनियता बढी बिमा बजारको विकासमा टेवा पुग्ने बताए ।
प्रतिक्रिया दिनुहोस्