काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले स्वदेशमै पसिना बगाउने अभियान चलाउन आग्रह गरेका छन् । किसान डेरी उद्योगको शुक्रबार उदयपुरमा उद्घाटन गर्दै मन्त्री भुसालले भने, ‘युवाहरु अवसरको खोजीमा विदेश गइरहेका छन्, स्वदेशमै केही गर्न सकिने प्रशस्त आधारहरु छन् । अब विदेशमा बगाउने पसिना यहीँ बगाउँ भन्ने अभियान चलाएर अगाडि बढ्नुपर्छ ।’
मन्त्री भुसालले बर्सेनि जग्गा बाँझो राख्नेक्रम चलिरहेको समेत दृष्टान्त प्रस्तुत गरे । विभिन्न रिर्पोटका अनुसार देशभर १० लाखभन्दा बढी क्षेत्रफल जग्गा बाँझो रहेको तथ्य प्रस्तुत गर्दै मन्त्री भुसालले बाँझो जग्गालाई प्रयोगमा ल्याउने गरी आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिएको बताए । जग्गा बाँझो राखेर भोकै बस्ने काम अब बन्द गर्नुपर्नेमा उनको विशेष जोड छ ।
कृषि तथा पशुपन्छीको क्षेत्रमा दिइने अनुदानको सही सदुपयोग हुन नसकेको उनले बताए । अनुदान पाउने तर भाग्ने परिपाटी रहेको भन्दै मन्त्री भुसालले अनुदानको सही सदुपयोग हुनुपर्नेमा जोड दिए । साथै कार्यक्रमलाई उत्पादनमुखी बनाएर अगाडि बढ्नुपर्ने उनले औंल्याए ।
प्रतिक्रिया दिनुहोस्