Shikhar Insurance
National Life

पोखराको पृथ्वीचोकमा भ्रष्टाचारविरोधी गर्जन

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १७, बुधबार १२:३९
Hyundai
NCELL
NIMB

‘हिँड्नै पर्छ माथि र तल
चिन्नै पर्छ सुन हो कि पित्तल
खेद्नुपर्छ भ्रष्टलाई पाल्नेलाई
देशको इज्जत स्वाभिमान फाल्नेलाई।।।’

मंगलबार पोखराको पृथ्वीचोकमा यसरी गर्जिए, सर्जक नारायण बाँस्तोला । पशुपतिको जलहरीमा जडित धातुबारे संसदसम्मै उठेको विवाद निरुपण हुनुपर्ने आशयको रचनासहित उनले आफूलाई प्रस्तुत गरे । गीतिलयमा भ्रष्टाचारविरोधी सिर्जना सुनाएका उनले अघि थपे–

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘हाँकौ अब बनेर एकैमन
भ्रष्टाचारविरोधी आन्दोलन
मेचीकाली उर्लेर आइदेऊ
भ्रष्टाचारी सबैलाई बगाइदेऊ।।।’

जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य बाँस्तालासहितका सर्जक र राजनीतिकर्मीले एकै मञ्चमा भ्रष्टाचारविरुद्ध आफूलाई उभ्याए । कास्कीस्थित नेकपा (एकीकृत समाजवादी)को मोर्चा सङ्गठनले सुरु गरको भ्रष्टाचारविरुद्धको आन्दोलनमा उनीहरू जोडिएका हुन् ।

जनसांस्कृतिक महासङ्घ, कास्कीका अध्यक्ष राजेन्द्र पोखरेलले सबैखाले भ्रष्टाचारका फाइल खोल्न गीतमार्फत सरकारलाई आग्रह गरे।

‘हेर्नुहोस् त भ्रष्टाचार व्याप्त
हुन्न कारबाही कानुन छ पर्याप्त
लौलौ सरकार बोल
वाइडबडी, यती, ओम्नीका सबै फाइल खोल।।।’

सुशासनका पक्षमा र भ्रष्टाचारको विरुद्धमा सर्जकले गीत र कविता सुनाएका थिए । विरोध प्रदर्शनपछि पृथ्वीचोकमा भएको कोणसभामा नेकपा (एस) कास्कीका महिला विभाग प्रमुख शर्मिला पौडेलले आफ्नो पार्टी भ्रष्टाचार र बेथितिका विरुद्ध सङ्घर्षमा होमिएको बताइन्।

“हाम्रो पार्टी भ्रष्टाचारीलाई प्रश्रय दिने पार्टी होइन, यदि हाम्रा कोही नेता भ्रष्टाचारमा मुछिएका छन् भने हामीले नै कारबारी गर्छौं, प्रहरीमा लगेर बुझाउँछौं”, उनले भनिन् । नेतृ पौडेलले पार्टी र नेताले गलत गरे विरोध गर्ने तर सहेर नबस्ने बताइन्।

“हामी कसैका एसम्यान होइनौं, हिजो पनि गलत चिजसँग विद्रोह गरेर आएका हौं”, उनले भनिन्, “भ्रष्टाचारीलाई मुक्ति दिने प्रपञ्च गरिए त्यो हामीलाई स्वीकार्य छैन ।” उनले आफ्ना नेता अहिलेसम्म कुनै भ्रष्टाचारका मुद्दामा नजोडिएको दाबी गरिन्।

अनेरास्ववियु गण्डकी प्रदेशका अध्यक्ष ठाकुर पराजुलीले अहिलेको सरकारले थालेको भ्रष्टाचारविरुद्धको अभियानमा आम नागरिकको साथ रहेको बताए । उनले जुनसुकै तहको नेता भए पनि भ्रष्टाचारका मुद्दामा जोडिए अनुसन्धान र कारबाहीको दायरामा ल्याउनुपर्ने धारणा राखे । नक्कली भुटानी शरणार्थी प्रकरणलाई सरकारले कसरी निरुपण गर्छ भनेर सबैले पर्खिरहेको अध्यक्ष पराजुलीले बताए।

“प्रधानमन्त्रीज्यू भ्रष्टाचारका मुद्दाको छानबिन र अनुसन्धानमा निर्मम भएर लाग्नुस्, तपाईंलाई सिङ्गै देशको साथ रहन्छ”, उनले भने । अध्यक्ष पराजुलीले भ्रष्टाचार र बेथितिको अन्त्य गर्दै सुशासनसहितको समृद्धि हासिल गर्न नसके देश पश्चगमनतिर फर्कन सक्ने खतरा रहेको औंल्याए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्