काठमाडाैं। अर्थमन्त्री डा. प्रकाशशरण महतले पूर्व-पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने कार्यलाई तीव्रता दिइने बताए ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०र८१ बजेट सार्वजनिक गर्दै नारायणगढ–बुटवल र कमला–कञ्चनपुर खण्डको विस्तार तथा स्तरोन्नतिको कार्य आगामी आवमा सम्पन्न गरिने उल्लेख गरे।
कमला-ढल्केवर-पथलैया, बुटवल-गोरुसिङ्गे, काँकडभिट्टा-लौकही, पथलैया-नारायणगढ र लमही-भालुवाङ सडकखण्डको स्तरोन्नति सुरू गरिने भएको छ ।
यसैगरी नारायणी नदी र तिनाउ नदीमा सिग्नेचर पुल निर्माण सुरू गरिने उहाँले बताउनुभयो । पूर्व-पश्चिम राजमार्गको विस्तार तथा स्तरोन्नतिका लागि ३१ अर्ब २ करोड रूपैयाँ विनियोजन गरेको अर्थमन्त्री डा. महतले जानकारी दिए।
नागरिक जीवनलाई सहज बनाउन तथा आर्थिक विकासको आधार तयार गर्न प्रतिफलयुक्त, सुलभ, सुरक्षित, गुणस्तरीय र दिगो यातायात पूर्वाधारमा सरकारले लगानी केन्द्रित गर्ने उनले बताए। दुर्घटना कम गर्न आवश्यक पूर्वाधार निर्माणका साथै आवश्यक नीति अगाडि बढाइने बजेटमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्