काठमाडौं । सरकारले वृद्ध भत्तासहितका सामाजिक सुरक्षा भत्ताहरुका लागि एक खर्ब ५७ अर्ब ७३ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले संघीय संसदमा पेश गरेको बजेट वक्तव्य अनुसार वृद्ध भत्ता वापत यस अघि वितरण हुँदै आएको मासिक ४ हजार रुपैयाँ कायमै गरिएको छ । सिमान्तकृत, दतिल, पिछडिएको क्षेत्र र बालबालिकालाई उपलब्ध गराइँदै आएको भत्ताले पनि निरन्तरता प्राप्त गरेको छ ।
अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०र८१ बजेट सार्वजनिक गर्दै गत वर्षको भन्दा २३ अब बढी रकम यो शीर्षकमा छुट्ट्याएका छन् ।
चालु आर्थिक वर्षबाट ६८ वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई प्रदान गरिदै आएको मासिक ४ हजार रुपैयाँ भत्तालाई निरन्तरता दिइएको छ । ६० वर्ष पूरा भएका दलित, एकल महिला, विपन्न, सीमान्तकृत वर्ग र समुदाय तथा बालबालिकालाई दिइदै आएको सामाजिक सुरक्षा भत्ताका लागि रकम विनियोजन गरिएको छ । छात्रवृति, स्वास्थ्योपचार, स्वास्थ्य बीमा लगायतका क्षेत्रमा प्रदान गरिएको सामाजिक सुरक्षाका कार्यक्रमलाई निरन्तरता दिएको छ ।
चालू आवमा सामाजिक सुरक्षा र औषधि उपचार तथा आर्थिक सहायताका लागि १ खर्ब ३४ अर्ब १ करोड रुपैयाँ विनियोजन गरिएको थियो । उक्त रकम पनि अपुग भएपछि सरकारले सेवा निवृत्त कर्मचारीको पेन्सन दिन अतिरिक्त स्रोत खोज्नुपरेको थियो । सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०र८१ को बजेट तयार पारेको अर्थमन्त्री डा महतले बताए ।
प्रतिक्रिया दिनुहोस्