काठमाडौं । नेपाल बिमा प्राधिकरणले नेपाल रि र हिमालयन रिलाई विशेष संरक्षण हुने गरी बिमकको पुनर्बिमा निर्देशिका २०८० जारी गरेको छ । पुनर्बिमा व्यवसायसम्बन्धी व्यवस्थाको तर्जुमा गरी जीवन तथा निर्जीवन बिमा व्यवसाय गर्ने बिमकको पुनर्बिमा व्यवस्थालाई व्यवस्थित गर्न भन्दै जारी गरिएको निर्देशिकाले स्वदेशी पुनर्बिमा कम्पनीहरुलाई विशेष संरक्षण गरेको छ ।
बिमा ऐन, २०७९ को दफा १६६ ले प्राधिकरणलाई पुनर्बिमा निर्देशिका जारी गर्ने अधिकारी दिएको थियो । अब बिमा कम्पनीहरुले नेपाल रि र हिमालयन रिले अस्विकार गरेको पुनर्बिमा मात्रै विदेशी कम्पनीमा पठाउन पाउनेछन् । बिमकले आफ्नो धारण निर्धारण गर्दा जोखिमको प्रकृतिअनुसार आफ्नो खुदधारण न्यून गर्न सक्नेछ । बिमकले फ्याकल्टेटिभ पुनर्बिमा गर्दा सुरुमा स्वदेशी पुनर्बिमकलाई प्रस्ताव गर्नुपर्ने छ र पुनर्बिमकले उक्त प्रस्ताव स्वीकार वा अस्वीकार के गर्ने हो सो कुरा खुलाई चौबीस घण्टा जवाफ पठाउनु पर्नेछ । पुनर्बिमा कम्पनीले प्रस्ताव अस्वीकार गरेमा बिमकले उक्त पुनर्बिमा अन्यत्र गर्न सक्नेछ ।
बिमकले आफ्नो नेटवर्थको आधारमा बिमाको प्रकार अनुसार पुनर्बिमा व्यवस्था गर्नुपर्नेछ । बिमकले जारी गरेको बिमालेखअन्तर्गत प्रतिबिमालेख। प्रतिजोखिममा बिमकको धारण नेपालभित्र रहेको आफ्नो नेट वर्थको अधिकतम धारण जीवन बिमकको हकमा शून्य दशमलव पाँच प्रतिशत र निर्जीवन बिमकको हकमा पाँच प्रतिशतभन्दा बढी हुनुहुँदैन । जीवन बिमकको हकमा प्रतिबिमालेख बढीमा ५० लाख रुपैयाँसम्म धारण गर्न सक्नेछन् । विदेशमा प्रधान कार्यालय रही नेपालमा शाखा कार्यालयका रूपमा कारोबार गरिरहेका बिमकको हकमा पुनर्बिमा गर्दा उक्त प्रधान कार्यालयको क्षमताबमोजिमको धारण कायम गरी पुनर्बिमा गर्न सकिनेछ ।
बिमा कम्पनीहरुले ट्रिटी पुनर्बिमा, ऐच्छिक पुनर्बिमा ‘फ्याकल्टेटिभ पुनर्बिमा’ र बिमा पुलको पुनर्बिमा गर्न पाउने छन् । कम्पनीहरुले आफूले धारण गर्ने जोखिम धारण गरी बाँकी रहेको वा आफुले धारण गर्न नसक्ने अंशको पुनर्बिमा गराउनु पर्नेछ । यसरी जोखिम बहन गर्दा आफूले पूरै स्वीकार गर्ने जोखिम बाहेकको बिमालेखले रक्षावरण गर्ने कुनै पनि जोखिम नछुट्ने गरी पुनर्बिमाको व्यवस्था गर्नुपर्ने भएको छ ।
बिमकले पुनर्बिमा गर्दा जोखिमको विविधिकरण गर्नुपर्ने छ । बिमकले प्राविधिक तथा वित्तीय क्षमताको पर्याप्त मात्रामा विश्लेषण गर्नुपर्ने छ । बिमकले प्रत्येक बिमालेखमा उचित र पर्याप्त मात्रामा पुनर्बिमाको व्यवस्था नगरी बिमालेख जारी गर्नुहुँदैन ।
बिमकले प्रत्येक बिमालेखले रक्षावरण गरेको जोखिमको शतप्रतिशत पुनर्बिमा गराउन पाउने छैनन् । निर्देशिकामा ट्रिटी पुनर्बिमाअन्तर्गत बीमकले प्रत्यक्ष हिस्सा पाँच वर्षपछि शुन्यमा झार्नुपर्ने छ । बिमा कम्पनीले ट्रिटी पुनर्बिमाअन्तर्गत प्रत्यक्ष हिस्सा स्वदेशी पुनर्बिमकलाई प्रदान गरेपश्चात बाँकी रहेको हिस्साको कम्तीमा ३० प्रतिशत पुनर्बिमाबराबर हुने गरी स्वदेशी पुनर्बिमकलाई प्रदान गर्नुपर्नेछ ।
बिमा कम्पनीहरुले जीवन बिमा, मोटर, कृषि, पशुपन्छी तथा जडिबुटी बिमा तथा विविध (यात्रा, ट्रेकिङ तथा स्वास्थ्य बिमाबाहेक) बिमालाई दफा १८ को अधिनमा रही स्वदेशमा नै शत प्रतिशत पुनर्बिमा गर्नुपर्ने छ । र, त्यसरी प्राप्त पुनर्बिमा स्वदेशी पुनर्बिमकले अस्वीकार गर्न पाउने छैन ।
नेपाली नागरिकको बिमायोग्य हित रहेको विदेश स्थित सम्पत्तिको पनि नेपाली बिमा कम्पनीले बिमा गर्न पाउने भएका छन् । यसरी गरिएको बिमाको दाबी भुक्तानी स्वदेशी मुद्रामै हुनेछ । यस्तो बिमाको पुनर्बिमासमेत गर्न सकिनेछ । विदेशी पुनर्बिमक तथा पुनर्बिमा दलाल प्राधिकरणमा सूचीकृत हुनुपर्नेछ । उनीहरुले प्राधिकरणले तोकेअनुसार विवरण पेस गर्नुपर्ने छ ।
प्रतिक्रिया दिनुहोस्