हक्की स्वभाव र प्रष्ट वक्ताको छवि बनाएका बैंकर हुन मनोज ज्ञवाली । देशकाल र परिवेशबारे निरन्तर आफ्ना धारणा राख्न नचुक्ने ज्ञवाली अहिले नबिल बैंकको डेपुटी सीईओ छन् । नबिलमा ज्ञवालीलाई ‘फ्युचर लिडर’का रुपमा हेरिन्छ । नेपालमा नाफा कमाउनेहरुलाई गाली गर्ने प्रवृत्ति बढेकामा उनी चिन्तित छन् ।
मान्छेहरु आफ्नो प्रत्यायोजित जिम्मेवारीलाई छाडेर अरुका बिषयमा टिप्पणी गर्दै भाइरल बन्न तिर लागेर समाजलाई विकृत बनाउन उद्यत भएको देखेर उनी पनि चिन्तित छन् । असलहरुलाई गाली गरेर खराब देखाउने र खराबहरुलाई प्रोत्साहन गर्ने क्रमसँगै बैंकहरु पनि निशानामा परेको उनको निष्कर्ष छ ।
समग्र अर्थतन्त्र, सरकार–राष्ट्र बैंक सम्बन्ध, बैंकको ब्याजदर र प्रतिफल लगायतका बिषयमा सिंहदरबारले उनै ज्ञवालीसँग लामो संवाद गरेको छ । प्रस्तुत छ, नबिल बैंकका डेपुटी सीईओ ज्ञवालीसँगको कुराकानीको सम्पादित अंश ।
समाजमा अहिले यस्तो प्रवृत्ति स्थापित भएछ, नाफा कमाउनेहरू चोर हुन्, फटाहा हुन्, लुटेरा हुन भन्ने । हामीकहाँ जाँदै छौं ?
अलिकति निराशा, अलिकति फ्रस्ट्रेसन हुनेबित्तिकै त्यसलाई मिलाएर गाली गर्न जानेपछि हिरो हुने प्रवृत्ति हाम्रो समाजमा स्थापित भैरहेको छ । यसले अलिकति कमाएर खानेहरू दलाल नै हुन्, बदमास नै हुन्, चोरै हुन्, फटाहा नै हुन् भन्ने हुन थाल्यो । राम्रो गरेर केही पनि हुन्न, राम्रो गर्नेहरूलाई सम्मान गर्नुपर्छ भन्नेभन्दा पनि तिनीहरूलाई गाली गरेर स्थापित हुने क्रम बढेको छ ।
केही समयअघि मात्रै प्रेम आचार्य नाम गर्नुभएका एक जना उद्यमीले आत्मदाह गर्नुभयो । उहाँले केही व्यवसायीहरूले पैसा नदिएको भनेर लेख्नुभएको थियो । त्यसपछि सामाजिक सञ्जालमा ती व्यवसायीहरूमाथि व्यापक गाली भयो । गाली खानेहरू नेपालको उद्यम व्यवसायका क्षेत्रमा नाम चलेका र राम्रो योगदान दिएकाहरू थिए । हजारौं नेपालीलाई रोजगारी दिएका, करोडौं करोड राजस्व तिरेका सफल उद्यमी व्यवसायीहरूले प्रेम आचार्यको आत्मदाहपछि सामाजिक सञ्जालमा गाली खाए । कतिपयले त प्रहरीकहाँ बयान पनि दिनुपर्यो । कोही एक व्यक्तिले भन्दैमा, आरोप लगाउँदैमा समाजलाई यत्रो योगदान दिएका व्यवसायीहरू पनि सिंगो नेपाली समाज असहिष्णु बनेको थियो ।
एकथरी मान्छेहरू जसरी पनि पैसा कमाउन लालायित देखिन्छन्, अर्काथरी पैसा कमाउनेहरू सबै फटाहा हुन भन्ने ठाउँमा छन्, यसले त ठीक ठाउँमा नपुर्याउला ?
हामीले २०४८ सालपछि स्थिर सरकार पाएनौं । पाँच वर्षको कार्यकाल कुनै पनि सरकारले पूरा गरेन् । ६/७ महिनामा मन्त्री बनेकाहरूले त्यही अवधीमा जे–जे गर्न सकिन्छ गरौं भन्ने प्राथमिकता बन्यो । हरेक मान्छेले व्यक्तिगत र रेखाफेराको स्वार्थभन्दा माथि गएर काम गरेनन् । मैले गरेको कामले पाँच १० वर्षपछि देशले के फाइदा पुग्छ भनेर नेता, प्रधानमन्त्री, मन्त्री र कर्मचारी कसैले पनि सोचेनन् ।
मलाई त अचम्म लाग्छ आजकल विद्यार्थीले पढ्ने बाहेकका सबै काम गर्छन् । शिक्षकले पढाउने बाहेकका सबै काम गर्छन् । न्यायालयले न्याय दिने बाहेकका सबै काम गर्छन् । व्यवसायीले जीडीपीमा योगदान दिने बाहेकका व्यवसाय मात्रै गर्छ । राजनीतिज्ञले देशका बारेमा सोच्दैन्, बाँकी सबै कुरा सोच्छ । हामी बैंकरहरू पनि कहीँ न कहीँ वित्तीय मध्यस्थकर्ता हौं, अर्थतन्त्र उकास्न पुलको भूमिका खेल्नुपर्छ, आजको लगानीले पाँच वर्षपछि अर्थतन्त्रलाई कहाँ पुर्याउँछ भनेर हेर्नेभन्दा पनि ब्यालेन्स सिटको साइजको ग्रोथ र बटम लाइनमा प्रोफिट हेर्न थालेका छौं ।
समग्रतामा हेर्दा हरेक नागरिक आफ्नो भूमिकामा चुकिरहेका छन् । हामी आफ्नो भूमिका पूरा नगर्ने, अर्काे भूमिकाबारे कुरा काट्ने अवस्थामा पुगिसकेका छौं । जसले मिलाएर कुरा काटिरहेको छ, ऊ हिरो बनिरहेको छ । यो एक प्रकारको गम्भीर सामाजिक रोग हो ।
बैंकरका थुप्रै सुख छन्, राम्रो तलब, चिटिक्क परेर हिँड्न पाइने, समाजमा इज्जतदार काम पनि हो, तलब खान नपाउने अवस्था कहिल्यै आएन्, बैंकरका दुःख पनि होलान्, ती के–के हुन् ?
म नेपाल राष्ट्र बैंकको जागिर छाडेर निजी बैंकमा आएको थिएँ । बैंकर हुनुमा गर्व लाग्छ । गर्वका साथ भन्छु कि बेइमानी र बदमासीको एक रुपैयाँ मेरो गोजीमा आएका छैन । सामाजिक रूपमा गाली गर्नेहरूको कुरा छाड्ने हो भने आज पनि बैंकिङ पेसा सम्मानित नै छ ।
हामी बैंकरका सुःख छन् ठिकै हो । १० घण्टा आसपास काम गर्छाैं । त्यो मेहनतको रिजल्ट अपरेसनमा देखिन्छ । ब्यालेन्ससिटमा देखिन्छ । हाम्रो सुःख झ्याप्पै आएको होइन, हाम्रै मेहनतबाट प्राप्त भएको हो ।
बैंकरका दुःख भनेको अर्थतन्त्र अलिकति गाह्रो अवस्थामा पुग्दा हाम्रा दुःख आरम्भ हुन्छन् । हुन त मान्छेहरू सबै क्षेत्र नोक्सानीमा पर्दा बैंकहरूले मात्रै नाफा कसरी गरे पनि भन्छन् । अर्थतन्त्र सुधार हुँदा पनि बैंकले त्यसको फाइदा अलिपछि मात्रै पाउँछन् । अर्थतन्त्र कमजोर हुँदा पनि त्यसको असर बैंकहरूमा अलि ढिलो गरी पर्छ ।
पहिलो त्रैमासिकमा २१ वटा वाणिज्य बैंकको वितरण योग्य नाफा ४२ अर्बभन्दा माथि थियो । तेस्रोे त्रैमासिकसम्म आइपुग्दा वितरण योग्य नाफा २० अर्ब मात्रै छ । दोस्रो त्रैमासिकबाट तेस्रो त्रैमासिक आउँदा बैंकरहरूले वितरण योग्य नाफा २ अर्ब पनि बढाउन सकेका छैनन् । जति मुनाफा छ, त्यसमा वितरणयोग्य नाफा त ४०/४१ प्रतिशत मात्रै छ । जबकी नाफाको ७०/७१ प्रतिशत वितरण योग्य नाफा हुनुपर्ने थियो ।
यसको मतलब भनेको रिकभरी राम्रो हुन सकिरहेको छैन, व्यवसायीहरूको कारोबार राम्रो भैरहेको छैन भन्ने नै हो । व्यवसायी घाटामा छन्, नगद प्रवाह घटेको छ । जसका कारण बैंकहरूलाई रिपेमेन्ट गर्न सकिरहेका छैनन् । नयाँ उद्यमहरू स्थापना हुने क्रम निरुत्साहित भएको छ र पुरानाहरू बन्द हुने चरणमा छन् ।
अर्थ मन्त्रालय र राष्ट्र बैंक नमिलेर समस्या भयो, ठूला व्यवसायीहरू समस्यामा छैनन् भन्ने फरक–फरक कोणहरू छन्, के हाम्रो अर्थतन्त्र साँच्चै संकटमा हो ?
ठूला व्यवसायीहरूलाई अलि कम असर छ, सानालाई अलि बढी छ भन्ने कुरामा केही सत्यता छ । ठूलाहरूको धेरै ठाउँमा लगानी हुन्छ । उनीहरूको जोखिम पनि बाढिएको हुन्छ । एउटा क्षेत्र संकटमा पर्दा अर्काे क्षेत्रले धान्छ । उनीहरू संकटमा पर्दा कहीँ कतैबाट मागेर, सापटी लिएर पनि चलाउन सक्ने हैसियतमा हुन्छन् । तर, सानाहरूको हकमा लगानी एकै ठाउँमा केन्द्रित हुन्छ, त्यहाँ समस्या आउँदा डुब्ने अवस्था बन्छ । तर, साना ठूला सबैलाई गाह्रोचाहिँ पक्कै छ ।
तथ्यांकहरू हेरियो भने नियामक निकाय (राष्ट्र बैंक) धेरै हदसम्म सफल भएको देखिन्छ । अमेरिकामा ४० वर्षपछि मुद्रास्फीति नयाँ उचाइमा पुगेको छ । भारतमै आरबीआईको दरभन्दा माथि नै मुद्रास्फीति पुगिसकेको छ । भारतको मुद्रास्फीतिको प्रभाव सिधै नेपालमा पर्छ । रसिया–युक्रेनको युद्धले पनि असर गर्यो । कोरोनाको प्रभाव पनि देखियो । यी सबै घट्नाक्रमहरूका बाबजुद हाम्रा तथ्यांकहरू ठीक अवस्थामा छौं ।
चौथो त्रैमासिक रिपोर्ट कस्तो आउला ?
चौथो त्रैमासिकको रिपोर्ट प्रति मचाहिँ खासै आशावादी छैन । मान्छेहरूको मनोविज्ञान जोगाउने नाममा आर्टिफिसियल कुरा गर्न चाहान्न तर राम्रो रिपोर्ट आउने अवस्था मैले देखेको छैन । अर्थतन्त्रका सूचकहरूलाई हेर्ने हो भने पोहोर सालभन्दा यसपालि राम्रो छ । तर, व्यवसायीको हालत भने यसपालि अझै खराब छ । इन्डिकेटरहरू हेर्दा गत वर्षभन्दा राम्रो अवस्था देखिएला, मुद्रास्फीति ठीक छ, २ खर्ब जति लगानी योग्य रकम पनि छ । विदेशी मुद्राको सञ्चिति राम्रो छ ।
रेमिटेन्स पनि बढेको छ । यी सबै कुरा हेर्दा अवस्था ठिकठाक छ कि भन्ने लाग्न सक्छ । तर, बाटोमा हिँड्दा हेरियो भने ३०/४० प्रतिशत सटरहरू खाली भैसकेका छन् । बैंकहरूको ब्याजदर उठ्ने क्रम घटेको छ, एनपीए पनि बढेको छ, यसले हामी कहीँ न कहीँ चुकिरहेको देखिन्छ ।
चौथो त्रैमासिकमा खराब कर्जाको आँकडाले नयाँ उचाइ पुग्ला भन्ने रहेछ नि !
मैले तेस्रो त्रैमासिकको रिपोर्ट आउनु अघि नै भनेको थिएँ कि १२ वटा बैंकको वितरण योग्य नाफा नेगेटिभ आउँछ । एक दुई करोडको वितरण योग्य नाफा देखाउनु भनेको त हिसाब किताब मिलाएको मात्रै हो । चौथो त्रैमासिकमा पनि यही अवस्था आउन सक्छ । दुई करोडसम्मको वितरणयोग्य नाफालाई मैले नेगेटिभ नै मान्छु ।
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षाबाट केही कुरा आएको छ । हामी सर्कुलर कुरिरहेका छौं । त्यसले केही सहयोग त गर्ला । सरकारले पनि भुक्तानी दिन बाँकी केही रकम बजारमा पठाउने भनेको छ । पैसा घरजग्गा, सेयर बजारमा ‘लक’ भएर बसेको छ । यस विषयमा केही गति आउने बित्तिकै अर्थतन्त्र सहज हुँदै जान्छ ।
हिजोका दिनमा पनि व्यवसायीले चालु पुँजी कर्जा लिएर गतिलो ठाउँमा जग्गा किनेर प्लटिङ गरेका थिए, आपत पर्दा बेचेर ऋण तिरौंला भन्ने थियो । आज त्यो सबै जाम भएर बसिदिएको छ । साथीभाइसँग पनि पैसा छैन, सहकारीहरू पनि संकटमा पुगे । जहाँ–जहाँ पैसा लगाइयो त्यो पनि जाम भयो, अनि यो समस्या आइलाग्यो ।
बैंकहरूको प्राथमिकतामा निक्षेपकर्ता हुन कि ऋणीहरू हुन् ?
हाम्रो पहिलो प्राथमिकता निक्षेपकर्ता नै हुन् । निक्षेपकर्ताहरूको हित संरक्षण गरेपछि मात्रै ऋणीको हित हेर्ने हो । धेरै मान्छेहरूले बैंकले धितो नलिई ऋण दिँदैन भन्छन् । हो, बैंकहरू प्रायः धितोबिना ऋण दिन तयार हुँदैनन् । किने भने करोडौं निक्षेपकर्ताहरूको रकम लिएर हामीले ऋण दिने हो, त्यो डुब्यो भने त बर्वाद भइहाल्छ नि ! हामीले नागरिकको पैसा मात्रै होइन्, विश्वास पनि लिएका हुन्छौं । त्यो विश्वास जोगाइ राख्न लगानीमा सचेत हुनुपर्छ ।
निक्षेपको ब्याजदर र मुद्रास्फीतिलाई कसरी हेर्ने हो ?
मुद्रास्फीति र ब्याजदरलाई जोड्नुपर्छ भन्ने सिद्धान्त संसारमा कहीँ पनि छैन । जापानमा पनि मुद्रास्फीति छ तर त्यसले कति ब्याज दिन्छ भनेर हामीले हेर्नुपर्छ । ब्याजदर भनेको मुद्रास्फीतिले होइन् । बजारको माग र आपूर्तिले निर्धारण गर्ने हो । हाम्रो सवालमा मुद्दती निक्षेपको ब्याजदर त आजका दिनमा पनि १० प्रतिशत दिएकै छ नि ! हाम्रो मुद्रास्फीति त जम्मा ८ प्रतिशत तल हो ।
एकल अंकको ब्याजदरमा ऋण पनि चाहियो भन्ने अनि मुद्रास्फीतिभन्दा बढी ब्याज चाहियो पनि भन्ने कुरा ठीक हुन्न । बचत खाताको ब्याजदर त अझै कम हुनुपर्छ । प्रतिफल त लगानीमा खोज्ने हो, बचत खाता त चालु पैसा राख्ने ठाउँ हो । त्यसमा धेरै ब्याज किन दिनु ?
ब्याजदर बजारलाई छाड्नुपर्छ भनियो, तर ब्याजदर निर्धारणमा प्रधानमन्त्री, अर्थमन्त्री, राष्ट्र बैंक हुँदै नेपाल बैंकर्स संघसम्म मुछिनुपर्ने किन ?
सबैले सबैको भूमिका बुझिदिनुपर्छ । राष्ट्र बैंकको काम सरकारलाई कर उठाइदिने होइन, त्यसको ठेक्का अर्थ मन्त्रालयले लिएको छ । राष्ट्र बैंकको काम मौद्रिक स्थायित्व, तरलता व्यवस्थापन र मुद्रास्फीति नियन्त्रण गर्नु हो । यसमा राष्ट्र बैंक पूर्णतः सफल भएको छ ।
यस्तो खाले विश्व परिवेशबीच मुद्रास्फीतिलाई ८ प्रतिशत तल राख्न सक्नु ठूलो उपलब्धि हो । कुनै बेला ९४ प्रतिशत नाघेको सीडी रेसियो अहिले ८५/८६ मा आइपुगेको छ । डलर सञ्चिति राम्रो छ । त्यसमा ब्याजदर केही बढाउने राष्ट्र बैंकको कामले ठूलो काम गरेको देखिन्छ ।
ब्याजदर बढ्दा वा घट्दा बैंकहरूको ब्यालेन्स सिटमा के फरक पर्छ ? के फाइदा हुन्छ के नोक्सानी हुन्छ ?
ब्याजदर बढ्दा बैंकहरूलाई घाटा छ । मान्छेहरूलाई लागिरहेको छ, बैंकले ब्याजदर बढाएर लुटे । तर, त्यस्तो हुँदै होइन् । ब्याजदर बढ्दा त बैंकहरूलाई घाटा हुन्छ । ब्याजदर बढ्दा व्यवसायीहरूको रिपेमेन्ट क्षमता घट्छ । उनीहरूलाई ऋण तिर्न समस्या हुन्छ । त्यसले बैंकहरूलाई थप समस्यामा पार्छ । अर्काेतर्फ, राष्ट्र बैंकले निक्षेप र कर्जाको ब्याजदर अन्तर स्प्रेड तोकिदिएको छ । स्प्रेड घटाउँदै साउनबाट ४ प्रतिशत बनाउनुपर्छ भनिएको छ । ब्याजदर १८ प्रतिशत लिने हो भने निक्षेपकर्तालाई पनि १४ प्रतिशत दिनुपर्छ । अर्थात् बैंकहरूले नाफा कमाउन पाउने ठाउँ भनेको ४ प्रतिशत स्प्रेड मात्रै हो ।
ब्याजदर बढ्दा निक्षेप बढ्छ कि तानातान मात्रै गर्ने हो ?
अधिकांश समयमा ब्याजदर बढ्दा निक्षेप तानातान गर्ने नै हो । एकदमै धेरै नयाँ स्रोत देखिने होइन् । अहिले ब्याजदर घटाएर ऋण तानतान सुरु भैसकेको छ । ब्याजदर बढ्दा निक्षेप तानातान हुन्छ । हामी बैंकर पनि अनुशासित नभएकाले राष्ट्र बैंकले ब्याजदरमा हस्तक्षेप गर्नु परेको हो । यो हामी बैंकरहरूका लागि लज्जाको विषय हो ।
बैंक ठूला हुनुको अर्थतन्त्रमा के प्रभाव रहन्छ ?
घर बनाउँदा राम्रो फाउन्डेसन बनाए जस्तै हो, बैंक ठूला हुनु भनेको । कोर क्यापिटल धेरै हुनु भनेको जोखिम मोल्न सक्ने क्षमता बढ्छ, अपरेसन रिस्क कम हुन्छ । ठूला परियोजनामा पनि लगानी गर्न सकिन्छ । ससाना जोखिमबाट समस्या आउँदैन् ।
ठूलो पुँजीको बैंक बनेपछि लगानीकर्तालाई त्यही अनुसारको प्रतिफल दिन त समस्या हुन्छ नि !
पक्कै पनि प्रतिफल सुनिश्चित गरिदिन दौडधुप गर्नुपर्छ । राष्ट्र बैंक पनि बडो उदार बन्दै ग्राहक मैत्री बनिरहेको छ । यो शुल्क पनि नलेउ, त्यो शुल्क पनि नलेउ, यो पनि निःशुल्क गर, त्यसमा पनि शुल्क नलेउ भनिरहेको छ । मोबाइल बैंकिङमा १० रुपैयाँ लिँदा पनि गाली खाइएको छ । चेक र एटीएम पनि फ्रिमा दिनुपर्ने अवस्था छ । वास्तवमा बैंकहरूले फ्रिमा सेवा दिनुपर्छ भन्न मात्रै बाँकी छ ।
आजका दिनमा स्मार्ट लगानीकर्ताले बैंक खोलेर लगानी गर्ने अवस्था छैन । बैंकहरूको औसत रिटर्न अन इक्विटी ११ प्रतिशतमा झरिसकेको छ । वितरणयोग्य नाफा त यसपालि ४ प्रतिशतको हाराहारीमा आउन पनि मुस्किल देखिइसकिएको छ । बैंकहरूले अर्बौं कमायो भनिरहेका छन् ।
नबिल बैंकको क्यापिटल फण्ड करिब ६० अर्ब जति छ । १० प्रतिशत ब्याजमा मुद्दती निक्षेप राख्ने हो भने पनि ६ अर्ब नाफा आउँछ । हामीले करोड लगानी गरेर अरब नाफा कमाएका होइनौं । ६० अर्ब लगानी गरेर ५ अर्ब कमाएका हौं । अहिले त हरेक चिज डुबेकै राम्रो भन्ने भाष्य निर्माण भइरहेको छ । समाजमा डुबेकाहरूमाथि सहानुभूति जनाइँदैछ, राम्रो गर्नेहरूलाई निरुत्साहित गरिँदैछ ।
बैंकहरूले कति प्रतिशत प्रतिफल दिँदा लगानीकर्तामाथि न्याय हुन्छ ?
आजका दिनमा निक्षेप राखेरै १० प्रतिशत बढी ब्याजदर पाइन्छ । लगानी गर्नेहरूले कम्तीमा पनि १५ प्रतिशतभन्दा बढी प्रतिफल त चाहिन्छ । त्यसका लागि आज गरेको आम्दानीको दुई गुणा बढी कमाउनुपर्छ । हिजोका दिनमा नबिल बैंकले शतप्रतिशतसम्म प्रतिफल दिएको थियो । हामीले ८०, ६० र ४० प्रतिशत लाभांश दिएका थियौं । गत वर्ष स्वाप रेसियोबाट आएको रकम नजोडेको भए ११.५ प्रतिशत मात्रै दिएको हो । स्वाप रेसियोको पैसा राखेर लाभांश वितरण गरेका थियौं । भारतमा एचडीएफसीले गत वर्ष १६५० प्रतिशत लाभांश दिएको थियो । आईसीआईले २५० प्रतिशत प्रतिफल दिएको थियो । हाम्रो अवस्था छ ।
सबै बैंकहरू आजका दिनमा ठूला करदातामा पर्छन् । हामीले पारदर्शी व्यवसायलाई निरुत्साहित गर्दै जाने, अपारदर्शी व्यवसायलाई प्रोत्साहन गर्दै जाने हो भने कहाँ पुगिएला ? सुपर प्रोफिट होइन, रिजनेबल प्रोफिट सुनिश्चित गरिनुपर्छ ।
बैंकभित्र करप्सन छिर्यो भने के होला ? नियामकदेखि समाज पनि सचेत रहनुपर्छ ।
तरलता र ब्याजदर अब कता जान्छ ?
तरलता पहिलेभन्दा राम्रो भैरहेको छ र यो अझै सुधार हुँदै जान्छ । ऋणको वृद्धि मुस्किलले ४ प्रतिशत पुग्ला । सीडी रेसियो भने पनि अहिले सहज अवस्थामा आइसकेको छ । सरकारले खर्च पनि बढाउने समय आयो । अब तरलता थप सहज हुँदै जानेछ, तरलता सहज भएपछि ब्याजदर पनि घट्दै जानेछ ।
२ खर्ब लगानी योग्य रकम छ भनियो, ऋणको माग नभएको कि तपाईहरू ‘चुजी’ भएको हो ? सेलेक्टिभ भएको हो ?
दुवै कुरा हो । बैंकहरू सेलेक्टिभ र चुजी भएका छन् । तर, बजारमा कर्जाको माग पनि गतिलो छैन् । बैंकहरूको प्राथमिकता अहिले ऋण दिनेभन्दा पनि ऋण उठाउने तयारीमा छन् ।
चार प्रतिशत कर्जा वृद्धि गरेर कति नाफा कमाउने ?
यसपालि नाफाभन्दा पनि बाँच्ने हो । पुराना कर्जाहरू राम्रोसँग उठाउने हो, जति कमाइन्छ त्यति बाढ्ने हो । फेरि अहिले लगानी गरेर धेरै नाफा आउने पनि होइन् ।
नबिल बैंक आजका दिनमा कुन पोजिसनमा छ ?
अहिले हामी धेरै कमाउने बैंकमै परेका छौं । वितरणयोग्य नाफा १ अर्ब ७७ करोड मात्रै हो । अब रिकभरि राम्रो गर्न सकिएन भने यो वर्ष १०/११ प्रतिशत मात्रै दिन मुस्किल छ । सेयर स्वाप रेसियोको पैसा पनि बाढ्ने भनियो भने ६/७ प्रतिशत रकम त्यहाँ पनि छ । हामीले ३० प्रतिशतको प्रतिफल नघटाउने भनेका थियौं । अब रिकभरी कसरी अघि बढ्छ, त्यसमा धेरै कुरा निर्भर गर्छ । फेरि पनि हामी अरूको भन्दा राम्रो प्रतिफल दिनेछौं ।
प्रतिक्रिया दिनुहोस्