काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट लाइसेन्सका लागि आशय पत्र(एलओआई) प्राप्त गरेका ब्रोकर कम्पनीहरु संंगठित भएका छन् । सागर ढकालको संयोजकत्वमा उनीहरुले न्यु स्टक ब्रोकर एसोसिएसन नेपाल नामको संगठन खोलेका हुन् ।
एलओआई पाएका नयाँ ब्रोकरहरुले इतिहासमै पहिलो पटक पारदर्शी रुपमा ब्रोकर लाइसेन्स वितरण भएको दाबी गर्दै त्यस्तो कामको बिरोध नगर्न पुराना ब्रोकर कम्पनीहरुलाई चेतावनी पनि दिएका छन् ।
स्टक ब्रोकरहरुको नयाँ संगठनले भनेको छ‘आफ्नो सिन्डिकेट एवं एकाधिकार कायम हुनुपर्छ भन्ने संकुचित मानसिकताका साथ पुँजी बजारमा संलग्न धितोपत्र दलाल व्यवसायीहरुको संगठन स्टक ब्रोकर्स एसाेसिएसन अफ नेपालले मिति २०८०/०१/२९ गते जारी गरेको भ्रामक, कपोलकल्पित, आधारहीन विज्ञप्तिले सम्पूर्ण ५६ लाख लगानीकर्ताहरुले गरेको अपेक्षामाथिको तुषारापात भएको हाम्रो ठहर छ । उक्त विज्ञप्तिमार्फत स्टक ब्रोकर्स एसाेसिएसन अफ नेपालले स्वायत्त नियामक निकाय नेपाल धितोपत्र बोर्ड, तत्कालिन मन्त्री परिषद तथा सर्वोच्च अदालतमाथि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आर्थिक चलखेल गरेको आरोप लगाइएको र यसमा हामी भर्खरै पूर्वस्वीकृति (आशयपत्र) लिई सञ्चालनको तर्खरमा रहेका ४३ वटा नयाँ ब्रोकर कम्पनीहरु समेत संलग्न रहेको आरोप पूर्ण रुपमा निराधार र कपोलकल्पित रहेको छ ।’
नयाँ कम्पनीका लगानीकर्ताहरुले नेपालको इतिहासमै पहिलो पटक समय सिमा तोकर पारदर्शी ढंगले एक रुपैयाँ खर्च नगरि लाइसेन्सका लागि आसय पत्र वितरण भएको पनि बताएका छन् ।
आर्थिक चलखेलको प्रमाण पेस गर्न पनि नयाँ ब्रोकरहरुले पुरानाहरुलाई चुनौती दिएका छन् ।
‘नेपालको इतिहासमा पहिलो पटक समय सीमा तोकेर, तोकेको समय सीमाभित्र सम्पूर्ण कार्यहरु सक्दै पूर्ण रुपमा पारदर्शी ढंगबाट सबै प्रक्रियाहरु सम्पन्न गरी कार्य अगाडि बढाएकोदेखेको र सो उपर हामीहरुले १ पैसा समेत खर्च नगर्नुपरेको सम्भवतः यो नै पहिलो घटना हो । तर यसरी अगाडि बढाइएको कार्यमा समेत आर्थिक चलखेलको आरोप स्टक ब्रोकर्स एशोशिएसन अफ नेपालले लगाएको हुँदा सो आरोप प्रमाण सहित प्रमाणित गर्न हामी चुनौति दिन्छौ । आगामी दिनमा यस्तै किसिमका आधारहीन, कपोलकल्पित आरोपहरु लगाइएको पाइएमा हामी त्यसउपर कानूनी उपचार खोज्न बाध्य हुनेछौं ।’, नयाँ ब्रोकरहरुका तर्फबाट जारी भएको विज्ञप्तिमा भनिएको छ ।
नेप्सेले २०७९ सालमा गरेको अध्ययनले १७८ वटा ब्रोकर कम्पनी थप्न सकिने तथ्य उजागर गरेको दावी पनि उनीहरुले गरेका छन् । ५६ लाख डिम्याट खाता, दोस्रो बजारका लगानीकर्ता नै २० लाख पुगिसकेको अवस्थामा ५० वटा ब्रोकरहरुले बजार धान्नै नसकने दावी पनि उनीहरुको छ ।
प्रतिक्रिया दिनुहोस्