काठमाडाैं । पानी नपर्दा र डढेलोका घटना बढेकाले वायु प्रदूषण पुनःबढ्न थालेको छ । हावाको गुणस्तर मापन सूचकाङ्क एक्यूआइका अनुसार अहिले ललितपुर पाटनको एक्यूआइ १ सय ७६, काठमाडाैं कीर्तिपुरको १ सय ६३, रत्नपार्कको १ सय ६३, नारायणीको १ सय ७१ र धनकुटाको १ सय ५५ रहेको छ ।
एक्यूआइ शून्यदेखि ५० सम्मको मानकलाई सामान्य अवस्था मानिन्छ । एक्यूआइ १ सय ५० भन्दामाथि जानुलाई हानिकारक मानिने गरिएको छ । पाटन, कीर्तिपुर, रत्नपार्क, नारायणी र धनकुटाको एक्यूआइ १ सय ५० भन्दामाथि छ ।
स्वास्थ्यलाई नै हानि गर्ने खालको प्रदूषण बढेकाले घर बाहिर निस्कँदा मास्क लगाउन स्वास्थ्य विज्ञले सुझाव दिएका छन् । प्रदूषणकै कारण काठमाडाैं उपत्यकासहित धेरै ठाउँमा बिहानदेखि तुवाँलो लागेको मौसमविद् गोविन्द झाले जानकारी दिए ।
उनका अनुसार तत्काल पानी पर्ने सम्भावना नरहेकाले प्रदूषण अझै बढ्ने अनुमान छ । भक्तपुर, मध्यपुरथिमि र वीरेन्द्रनगरको हावा पनि जोखिममा रहेकाले यहाँको हावा अस्वस्थकर देखिएको जनाइएको छ ।
यी क्षेत्रको एक्यूआइ १ सय ५० भन्दा कम रहेको छ । यस्तो हावामा दीर्घरोगी, बालबालिका र ज्येष्ठ नागरिकलाई जोखिम हुन्ने विज्ञ बताउँछन् । गाडीबाट निस्किएको धुवाँका कारण पनि वातावरण प्रदूषित बन्दै गएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्