काठमाडौं । बीमा कम्पनीहरुले चुक्ता पुँजी वृद्धि गर्न ३ महिना थप समय पाएका छन् । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई तोकिएको पुँजी पुर्याउन ३ महिना समय थप गरिदिएको हो । बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले पुँजी वृद्धिको समय सिमा ३ महिना थप्ने निर्णय भएको बताए । नेपाल इन्स्योरेन्सले सम्पति बेचेर पुँजी बढाउने प्रस्ताव गरेको र प्रभु इन्स्योरेन्सले विदेशी साँझेदार ल्याउन लागेकाले ३ महिना समय माग गरेका थिए । यी दुई कम्पनीले ३ महिना समय थप प्राप्त गरेपछि प्राधिकरणले अन्य कम्पनीहरुलाई पनि समय थपिदिएको हो ।
‘नेपाल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सलाई ३ महिना समय थपिदिनुपर्ने भएपछि अन्य कम्पनीहरुलाई पनि सोही अनुसारको समय थपिएको हो’, प्राधिकरणका प्रवक्ता समेत रहेका पौडेलले भने । बीमा प्राधिकरणले २०७९ चैत मसान्तभित्र जीवन बीमा कम्पनीहरुले ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउनुपर्ने व्यवस्था गरेको थियो ।
त्यसका लागि बीमा कम्पनीहरुलाई मर्जरमा जान प्रेरित गरिएको थियो । चैत मसान्तसम्म जम्मा ४ वटा कम्पनीले मात्रै तोकिएको पुँजी कायम गरेका छन् । जीवन बीमा तर्फ नेपाल लाइफ इन्स्योरेन्सले पुँजी पुर्याएको छ भने निर्जीबन तर्फ शिखर, सिद्धार्थ प्रिमियर र सगरमाथा लुम्बिनी इन्स्योरेन्सले मात्रै पुँजी पुर्याएका छन् ।
अब भने प्राधिकरणले २५ प्रतिशतसम्म हकप्रद सेयर निष्काशन गर्न दिने तयारी पनि गरेको छ । बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको नाफाबाट बोनस सेयर दिने र त्यसपछि पनि अपुग भएमा अधिकतम २५ प्रतिशतसम्म हकप्रद सेयर जारी गर्न दिने तयारी प्राधिकरणले गरेको हो ।
राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी सरकारी हुन र यी कम्पनीहरुको केहि बर्षको वित्तिय विवरण नै पास भएको छैन् । नयाँ जीवन बीमा कम्पनी सिटिजन लाइफ, सन नेपाल, आईएमई लाइफ र रिलायबल इन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ जारी गरि पुँजी पुर्याउने तयारी अन्तिम चरणमा पुर्याएका छन् । महालक्ष्मी लाइफले आईपीओ जारी गरेर प्रभु लाइफसँग मर्ज गर्ने तयारी गरेको छ । प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफले मर्जरको अन्तिम स्वीकृतिका लागि प्राधिकरणमा निवेदन दर्ता गरिसकेका छन् ।
सानिमा जिआईसीले पनि मर्ज गरेर हकप्रद सेयर जारी गर्न बाटो खुला गरिसकेका छन् । सगरमाथा लुम्बिनीले पनि अपूग पुँजीका लागि हकप्रद सेयर जारी गर्न पाउँछन् । नेशनल इन्स्योरेन्स भारतीय कम्पनीको शाखा मात्रै हो । प्रुडेन्सियल र आईजीआइले मर्जरको तयारी अन्तिम चरणमा पुर्याएका छन् । एलआईसी नेपालले भारतीय मातृ कम्पनीबाट लगानी ल्याएर पुँजी पुर्याउने अन्तिम तयारी गरिसकेको छ । बाँकी जीवन तथा निर्जीवन कम्पनीहरु बोनस सेयर र २५ प्रतिशतसम्म हकप्रद सेयर जारी गरेर तोकिएको पुँजी पुर्याउन सक्ने अवस्थामा पुगिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्