काठमाडौं । नेपाल बायुसेवा निगमले आन्तरिक उडानका लागि त्यो पनि बिशेष गरि पहाडी र हिमाली क्षेत्रमा उडाउनका लागि ३ वटा साना जहाज किन्ने तयारी गरेको छ । निगमले अहिले राम्रै व्यवसाय गरिरहेको छ । निगमको आर्थिक अवस्था पनि राम्रै भइरहेको छ । आर्थिक वर्ष २०७८/७९ मा निगमले एक अर्ब रुपैयाँ सञ्चालन मुनाफा पनि आर्जन गरेको छ ।
आन्तरिक उडानमा प्रयोग हुने छोटो दुरीका (सर्ट टेक अफ एण्ड ल्याण्डिङ) जहाज खरिद गर्ने तयारीमा यतिबेला निगम जुटेको छ । त्यसका लागि आगामी आर्थिक वर्ष २०८०/८१ को नीति कार्यक्रममा समावेश गर्ने तयारी गरिरहेको छ ।
यो जहाज खरिदका लागि सरकार वा अन्य कुनै निकायसँग ऋण वा सहायता माग्नु पर्दैन । निगमले आफुसँग रहेको बजेट बाटै नयाँ जहाज किन्ने भनेको हो । १९ सिट क्षमताका ति जहाजहरुले आन्तरिक उडानमा निकै ठूलो बजार ओगट्न सक्नेछन् । अहिले निगमसँग त्यस्ता जहाजहरु २ वटा मात्रै छन् ।
निगमको बाँकी ऋण एकै पटक तिर्नुपर्ने होइन । १५ वर्षको ऋण हो, प्रत्येक ३/३ महिनामा साँवा तथा ब्याजको किस्ता तिर्नुपर्ने व्यवस्था छ । हामी सोही अनुसार नियमित तिर्दै जानेछौं ।
व्यवस्थापनले जहाज किन्ने र सञ्चालन गर्ने कार्ययोजना सञ्चालक समितिमा बुझाईसकेको छ । सञ्चालक समितिले उप समिति गठन गरेर थप काम अघि बढिररहेको छ । चैत २९ गते गठन भएको उप समितिले १५ दिनभित्र काम सक्ने भन्ने थियो । अबको केहि दिनमै उप समितिको रिपोर्ट पनि आउँछ र थप काम अघि बढ्छ भन्ने अपेक्षा छ ।
सन २०२३ भित्रमा साना ३ जहाज किनेर ल्याईसक्ने योजना हो । सार्वजनिक खरिद ऐन पालना गर्दै अघि बढ्नुपर्ने हुन्छ । त्यसकारण सन २०२३ भित्रमा नयाँ जहाज ल्याईसक्ने गरि योजना अघि बढाइएको हो । नेपाल बायुसेवा निगमको पूर्ण स्वामित्व नेपाल सरकारसँग छ । हामीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र अर्थमन्त्रालयसँग अनुमति पनि यहि बिचमा लिनुपर्नेछ ।
सरकारले निगमलाई कसरी अघि बढाउने भन्नेबारे अध्ययन गर्न कार्यदल गठन गरेको छ । यस्ता कार्यदलहरु बिगतमा पनि बनेका थिए । अहिलेको कार्यदलले पनि रिपोर्ट बनाउँछ, सरकारले कार्यान्वयन पनि गर्दै जाला तर कार्यदलको अध्ययनका कारण जहाज खरिदको प्रक्रिया रोक्नुपर्ने कुनै कारण छैन र यो रोकिन्न पनि । निगम व्यवसायीक संस्था भएकाले आफ्नो योजना अनुसार जहाज थप्ने काम गर्दै अघि बढ्छ । जहाज नभए के उडाउनु छ र फेरि ? जहाज नकिन्नु भन्ने कार्यदलको प्रतिवेदन त पक्कै पनि नआउला । कार्यदलको रिपोर्टले निगमलाई थप जहाज किन्न प्रेरित गर्ला र सोही अनुसारको प्रतिवेदन पनि आउँला भन्ने लाग्छ ।
नेपाल बायुसेवा निगमको सम्पति र दायित्वबारे केहि पुरानो अध्ययनले मोटामोटी ६० अर्ब सम्पति र ४८ अर्ब ऋण छ भन्ने थियो । ठ्याक्कै अहिले यति छ भन्ने केहि मुस्किल नै पर्छ । अहिले निगमसँग ट्वीनअटर जहाज उडाउन लायक २ वटा मात्रै छन् । चिनियाँ जहाजहरुको व्यवस्थापनका लागि मन्त्रालयले नै छुट्टै काम अघि बढाईसकेको छ । अहिले निगमसँग ३ अर्ब रुपैयाँ जति छ । जहाज किन्ने बिषयको बिरोध नगरौं भन्ने हाम्रो कुरा हो । निगमलाई मलजल गरौं । -नेपाल बायुसेवा निगमका प्रवक्ता पौडेलसँग गरिएको कुराकानीमा आधारित
प्रतिक्रिया दिनुहोस्