काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्रमा सुधारको सङ्केत देखा परेको बताएका छन् । उनले यद्यपी ढुक्क हुने अवस्थामा नपुगेको र चुनौती भने कायम रहेको बताए । प्रधानमन्त्री दाहालले सामूहिक प्रयासबाट मात्रै अर्थतन्त्रको समस्या समाधान गर्न सकिन्छ भन्ने विश्वासका साथ सरकार लागिपरेको उल्लेख गरे । ‘बाह्रखरी मिडिया’ले गोकर्ण रिसोर्टमा आयोजना गरेको ‘एनसेल बाह्रखरी गल्फ र आर्थिक परिसंवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले अन्तर्राष्ट्रिय क्षेत्रमा विकास भएका मूल्यमान्यता, दर्शनको अध्ययनका अलावा नेपाली समाजको नै खास अर्थमा अध्ययन तथा विश्लेषण गरेर नेपाली जनताको दीर्घकालीन हितका लागि लागिपर्नुपर्ने बताए ।
उनले नेपालमा उपभोक्तावाद र तत्काल नाफा नोक्सानतिर अघि बढ्दा राष्ट्र र आमजनताको हित प्राथमिकतामा नपरेको स्पष्ट पारे । देशमा जनता र समाजको हितभन्दा तत्कालीन विषय र नाफा नोक्सान प्राथमिकतामा पर्ने गरेको उनको भनाइ थियो ।
प्रधानमन्त्री दाहालले विदेश र विदेशी भन्नेबित्तिकै राम्रो र नेपाली नराम्रो भन्ने मानसिकता त्यागेर मात्र राष्ट्रिय अर्थतन्त्रको निर्माण र समृद्ध नेपाल सम्भव हुने बताए । विदेशका अनुभव, शिक्षा र दृष्टान्तलाई बढी महत्व दिएर नेपाली विशेषता र मौलिकता नभुल्न सहभागीलाई उनले आग्रह गरे ।
प्रधानमन्त्री दाहालले भने, “हामीले विश्व पढ्नैपर्छ, विश्वका अनुभव र दृष्टान्त पनि पढ्नुपर्छ । तर त्यसभन्दा बढी नेपालको इतिहास पढ्नुपर्दछ । हाम्रो अर्थराजनीतिक चरित्र, हाम्रो विशेषता र मौलिकता पढ्नुपर्छ । हामीकहाँ विदेशी भन्नेबित्तिकै राम्रो, नेपाली चाहिँ नराम्रो भन्ने मानसिकता पनि देखिन्छ । यसले राष्ट्रिय अर्थतन्त्र निर्माण, समृद्धि र स्वाधीनतालाई सहयोग गर्दैन । विश्वका मोडेल र अनुभव पढ्दै गर्दा हामीले हाम्रो आफ्नोपन पढौँ र सोहीअनुरूप नीति तय गरौँ ।”
अर्थनीति र अर्थतन्त्रबारे विश्वमा आआफ्नै मोडेल रहेको उल्लेख गर्दै उनले भने– “नवउदारवाद र समाजवादी अर्थतन्त्रका आआफ्नै चरित्र र विशेषता छन् । तर त्यसलाई हुबहु अवलम्बन गरेर हाम्रो अर्थनीति बनाउन सकिँदैन ।” प्रधानमन्त्री दाहालले हाम्रो अर्थराजनीति, उत्पादन पद्धति अरूको भन्दा मौलिक रहेको उल्लेख गर्दै यसमा धेरै व्यक्ति अल्मलिएको बताए । हाम्रो संविधानले निजी, साझेदारी र सहकारीको तीनखम्बे अर्थनीति अवलम्बन गरेकाले विश्वका अरू मोडेलसँग हुबहु नमिल्ने उनले बताए ।
आमजनतालाई आर्थिक विकास र सामाजिक मूल्य र मान्यतामा स्थापित गर्ने सोचका साथ तीन तहको सरकार स्थापना गरिएको भए पनि अझै पनि सिंहदरबार केन्द्रित सरकारको मानसिकता परिवर्तन हुन नसकेको प्रधानमन्त्री दाहाललले बताए । देश सङ्घीयतामा गए पनि सिंहदरबारको मानसिकतामा परिवर्तन आउन नसकेको उनले उल्लेख गरे ।
निजी क्षेत्रलाई सम्मान गरेर अगाडि जान सरकार तयार रहेको भए पनि हाम्रो सोचमा परिवर्तन हुन नसकेको प्रधानमन्त्री दाहालले बताए । आफूले गरेको निरन्तर प्रयासका बाबजुद राजस्व सङ्कलनमा वृद्धि भएको, वैदेशिक मुद्राको सञ्चितीमा वृद्धि हुँदै गएको, ब्याजदर क्रमशः ओरालो लाग्दै गएको तथ्य उनले पेस गरे ।
प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा केही सुधारका महत्वपूर्ण एजेण्डा स्थापित गरेर जाने विश्वास दिलाए । उनले निजी क्षेत्रको हित र चासोविपरीत गएर कुनै पनि ऐन तथा कानुन नबनाउने विश्वास दिलाए ।
प्रतिक्रिया दिनुहोस्