Shikhar Insurance
National Life

सुनसरी–मोरङ औद्योगीक करिडोरमा अघोषित १२ घण्टे लोडसेडिङ, व्यवसायीले थाले आन्दोलन

सिंहदरबार संवाददाता
२०८० बैशाख ९, शनिबार १०:५५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सुनसरी–मोरङ औद्योगीक करिडोरमा अघोषित १२ घण्टे लोडसेडिङ गर्न थालेको छ । प्राधिकरणले आफ्नो उत्पादन नभएको र भारतबाट विद्युत खरिदमा पनि सहज अवस्था नरहेपछि मनलाग्दी विद्युत कटौती गर्न थालेको हो । ‘तीन महिना भैसक्यो, दैनिक झण्डै १२ घण्टा बत्ति काटिएको छ, बत्ति कतिबेला आउँछ, कतिबेला जान्छ कुनै ठेगान छैन्, हामी उद्योगी व्यवसायी मारमा परिरहेका छौं’, उद्योग संगठन मोरङका बरिष्ठ उपाध्यक्ष प्रदिप मुरारकाले सिंहदरबारसँग भने ।

उनले नियमित विद्युत आपूर्ति नसक्ने हो भने लोडसेडिङको तालिका उपलब्ध गराउन पनि नेपाल विद्युत प्राधिकरणसँग माग गरे । ‘हामीलाई कि त नियमित विजुली चाहियो, होइन भने लोडसेडिङको कार्यतालिका दिनु पर्यो’, आक्रोशित हुँदै मुराकाले भने । विद्युतको आपूर्ति नियमित नहुँदा कतिबेला मेसिन चलाउने, कर्मचारीहरुलाई कतिबेला बेलाउने भन्ने अन्यौलता सृजना भएको दुखेसो समेत पोखे । उता, मोरङ व्यापार संघले भने आन्दोलनको कार्यक्रम अघि सारेको छ । संघले बैशाख १० गते आइतबार ‘विद्युत आतंक विरुद्ध घेराउ कार्यक्रम’ आयोजना गरेको छ । संघले नेपाल विद्युत प्राधिकरणको दुहबी ग्रीड शाखामा घेराउ कार्यक्रम आयोजना गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भिम घिमिरेले पनि सुनसरी–मोरङ औद्योगीक करिडोरमा अघोषित १०–१२ घण्टाको लोडसेडिङ जारी रहेको बताए । ‘बत्ति कहिले आउँछ, कहिले जान्छ कुनै ठेगान छैन्, लोडसेडिङ तालिका दिन पनि नसक्ने, बत्ति दिन पनि नसक्ने विद्युत प्राधिकरणको नेतृत्वलाई के भन्ने र खोई ?’, घिमिरेले प्रतिप्रश्न गरे । उनले सुनसरी–मोरङ औद्योगीक करिडोरका उद्योगी व्यवसायीका संघ संगठनहरुले मिलेर आन्दोलनको तयारी गरिरहेको बताए । ‘मोरङ व्यापार संघले आइतबार घेराउ कार्यक्रम तय गरेको छ, हामी सबैले मिलेर आन्दोलन गर्ने तयारी गरिरहेका छौं’, घिमिरेले भने ।

के भन्छ विद्युत प्राधिकरण ?
नेपाल विद्युत प्राधिकरण प्रदेश १ का प्रमुख उमेश कुमार झाले पनि केहि दिनदेखि नियमित विद्युत आपूर्तिमा समस्या रहेको स्वीकार गरे । ‘विगत चार पाँच दिनदेखि विद्युत आपूर्तिमा केहि समस्या देखिएको छ, जति हल्ला गरिएको हो, त्यति समस्या भने छैन्, हामी आफ्नो पुरै क्षमता लगाएर नियमित आपूर्तिको प्रबन्ध मिलाउन खटिएका छौं’, प्राधिकरण प्रदेश १ का प्रमुख झाले सिंहदरबारसँग भने ।

सुनसरी–मोरङ औद्योगीक करिडोरमा दैनिक २७० मेगावाट विद्युत माग रहेको तर हाल १७० मेगावाट आसपास मात्रै आपूर्ति गर्न सकिएको पनि उनले बताए । उनले प्राधिकरणका एमडी कुलमान घिसिङ स्वंय नै यो समस्या समाधानका लागि नियमित काममा खटिएको पनि बताए । भारतबाट हुने विद्युत खरिदमा पनि उतार चढाव आएकाले त्यसको समाधानका लागि माथिल्लो तहबाटै छलफल अघि बढेको पनि उनले जानकारी दिए ।

भारतले आफुहरुले मागे जति विद्युत उपलब्ध गराएमा केहि दिनभित्रै समस्याको समाधान हुने अन्यथा सुख्खा यामको यो समस्या केहि समय निरन्तर रहने पनि उनले स्पष्ट पारे ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्