काठमाडौं । अर्थम्न्त्री डा. प्रकाश शरण महतले ठूला व्यवसायीहरु समस्यामा नरहेको बताएका छन् । आन्तरिक राजश्व कार्यालयका प्रमुखहरुसँगको समिक्षा बैठकमा मन्त्री महतले अहिलेको संकटबाट ठूला व्यवसायीहरु खासै प्रभावित नबनेको बताएका हुन् । ठूला व्यवसायीहरु खासै प्रभावित नहुँदा पनि राजश्व संकलनमा भने निकै गिरावट आउनु संकास्पद भएको मन्त्री महतको ठम्याई छ । बैठकलाई सम्बोधन गर्दै मन्त्री डा. महतले प्रश्न गर्दै भनेका छन–‘पछिल्लो समयमा ठूला व्यवसायिक घराना त्यत्ति धेरै प्रभावित भएका छैनन्, अहिले साना व्यवसायी धेरै प्रभावित भएका छन् । त्यत्ति हुँदा पनि काठमाडौं उपत्यकामा किन राजस्व संकलनले लक्ष्यभन्दा कम उठ्छ ?’
उनले नक्कली भ्याटबिलको बिगबिगी रहेको तथ्य पनि आफुले बुझेको स्पष्ट पारे । ‘भ्याटमा नक्कली बिलको समस्या आइरहेको छ भनिएको छ, यदि हो भने यो अपराध नै हो’, मन्त्री महतले भने ।
उनले राजस्व संकलन गर्न जिम्मेवारी लिएका कर्मचारीले तदारुकता, इमान्दारिता र अनुशासन देखाउनुपर्ने बताएका छन् । आन्तिरक राजश्व कार्यालयका प्रमुखहरुको समीक्षा बैठकमा मन्त्री डा. महतले ठूला व्यवसायीहरु अहिले समस्यामा नरहेको र उपत्यकामै राजश्व संकलन कम भएको प्रति आश्चर्य व्यक्त गरेका थिए । बैठकमा उनले भने–‘नेपाल सरकारको विभिन्न मन्त्रालय खर्चका लागि जिम्मेवार हुन् । सम्बन्धित मन्त्रालयमा विनियोजन भएको रकम प्रभाबकारी ढंगले खर्च होस् भन्ने अर्थ मन्त्रालयको अपेक्षा रहन्छ । राजस्व संकलनमा अर्थ मन्त्रालयको अहम् भूमिका रहेकोले सबै राजस्व संकलनको जिम्मा अर्थ मन्त्रालयको हो ।’
उनले यसपाली राजश्व संकलन निक्कै कम हुनु आश्चर्यको बिषय भएको समेत बताएका थिए । ‘विभिन्न परिस्ठितिजन्य अवस्थाले यस पटक राजस्व निक्कै कम संकलन हुन गएको हो । गत वर्ष संकलन भएको राजस्वसँग अहिले संकलन भएको राजस्व दाँज्दा पनि हाम्रो प्रगति निक्कै कम देखियो’ मन्त्री महतले भने । ‘यसको सम्पूर्ण दोष राजस्वका कर्मचारीको हो भनेर मैले भनेको छैन, राष्ट्रिय अर्थतन्त्रमा आएको संकुचन, केही वस्तुहरुको आयातमा लगाएको प्रतिबन्ध, पूँजिगत खर्चमा आएको ह्रास, चोरी पैठारीका कारणले राजश्वमा कमी आएको देखिन्छ’, मन्त्री महतले भने ।
बैठकमा डा. महतले भने तमाम परिस्थितिका वावजुद पनि राजश्व प्रशासनको कमी कमजोरी भने नछुपेको स्पष्ट पारे । ‘यी तमाम पावन्दी र समस्याका बाबजुद हाम्रो प्रयासमा अवश्य पनि कमी कतै छ भन्ने निष्कर्ष निकाल्न सकिन्छ । हामी सबैले इमान्दारिताका साथ आ–आफ्नो जिम्मेवारी पूरा गर्ने बाहेक मसँग अर्को कुनै एजेन्डा छैन । तपाईंहरुको कार्य प्रगतिबाट नै तपाईंहरुको मूल्यांकन हुन्छ भन्ने कुरामा तपाईंहरु निश्चिन्त हुनुहोस् ।’
‘काठमाडौं लगायत राज्यका विभिन्न स्थानमा राजस्व संकलन गर्न आन्तरिक राजश्व कार्यालयहरु रहेका छन् । ती राजश्व कार्यालयहरुले राम्रोसँग आफ्नो जिम्मेवारी पुरा गर्न कुनै कसर बाँकी राख्नु भएन । बजारको प्रभाबकारी अनुगमन, कारोबारको यथार्थ बिल लिनेदिने कार्यको बिकास, कर्मचारीमा नैतिकता र ईमान्दारिता तथा महालेखा परिक्षकको कार्यालयले प्रतिबेदनमा देखाएका कुराहरुलाई गंभिरता पूर्वक लिन जरुरी छ । यी सबै कुराहरुलाई सबै कार्यालय प्रमुखहरुले आत्मसाथ गरी लक्षित राजश्व असुल गर्ने कार्यमा आजैदेखि तनमनले लाग्नु हुने भन्ने पूर्ण अपेक्षा गरेको छु ।’, मन्त्री महतले भने ।
समिक्षा प्रतिवेदनले एउटा राजश्व कार्यालयबाट बढी र अर्कोमा थोरै राजस्व संकलन अनुपात देखिएको पनि बताए । ‘एक अर्कोमा धेरै फरक अनुपातमा संकलन देखिनुमा के विशिष्ठ परिवेश होला ? संकलन दर सबैतिर सामान्यत एकैप्रकार हुनुपर्ने होइन ? धेरै ठूलो अन्तर किन भइरहेको छ ?’, मन्त्री महतले प्रतिप्रश्न गरे ।
उनले ४४ प्रतितश ठूला करदाता रहेको काठमाडौंमै राजश्व संकलन किन घट्यो भन्दै कटाक्ष पनि गरे । ‘झन्डै ४४ प्रतिशत राजस्व ठूला करदाताबाट राजस्व आउँछ । गत वर्षको तुलनामा अहिले ठूला करदाताबाट पनि राजस्व कम संकलन भएको छ । यहाँ पनि समस्या देखियो । यसमा कहाँ त्रुटी भयो, त्यसको समीक्षा हुन जरुरी छ । तथ्यांकलाई तुलना गरेर व्याख्यात्मक विश्लेषण हुन जरुरी छ’ उहाँले भन्नुभयो, ‘समस्या पहिचान हुनुपर्यो, समस्या आउने कारण यी हुन् भनेर विश्लेषणपछि आउने कार्यदिशा तय गर्न जरुरी छ ।’,मन्त्री महतले भने ।
उनले समिक्षा बैठकहरुलाई कर्मकाण्डी नसम्झिन चेतावनी पनि दिए । ‘समिक्षा बैठकहरुलाई कर्मकाण्डी सम्झनु र बनाउनु हुन्न। आन्तरिक राजस्व कार्यालयहरुमा कुनैको राजस्व संकलनमा प्रगति भएको छैन भने कुनैमा सामान्य प्रगति भएको छ । यी कार्यालयका प्रमुखहरुले किन यस्तो भयो भन्ने कारण खोज्नुपर्छ । बदमासी भएको छ, दुरुपयोग भएको छ भने कारबाहीको सिफारिस गर्नुपर्छ । अप्ठ्यारोमा पनि राम्रो परिणाम जसले दिएको छ, उनीहरुको मूल्यांकन गर्ने पद्धतिलाई विकास गर्नुपर्छ । गरे पनि त्यस्तै, नगर्दा पनि त्यस्तै भयो भने त के अर्थ भयो ?’, डा. महतले भने ।
प्रतिक्रिया दिनुहोस्