बैंकहरुको तेस्रो त्रैमासिकको परिस्कृत वित्तिय विवरण सार्वजनिक भएको छ । त्यसले नेपालका बैंकहरु अहिले कुन अवस्थामा छन् भन्ने प्रष्ट चित्र देखाउँछ । मर्जर तथा प्राप्ति गरेका बैंकहरुको नाफा वृद्धि भएको देखिन्छ । नत्र अधिकांश बैंकहरुको नाफा घटेकै छ । चैतसम्ममा २१ वाणिज्य बैंकको खुद नाफा ४८ अर्ब ७० करोड रुपैयाँ पुगेको छ। गत वर्ष त्यस्तो नाफा ४३ अर्ब ६१ करोड रुपैयाँ थियो । यो अवधीमा बैंकहरुको नाफा नाफा ११.६७ प्रतिशतले बढेको देखिन्छ । ७ वटा बैंकहरुको नाफा घटेको देखिन्छ ।
केहि बैंकहरुको खराब कर्जा ४ प्रतिशत भन्दा माथि गैसकेको छ । औषतमा बैंकहरुको खराब कर्जा १.८१ प्रतिशतले वृद्धि भएको देखिन्छ । तीन वटा बैंकको खराब कर्जा ४ प्रतिशत नाघिसकेको छ । १० वटा बैंकको खराब कर्जा ३ प्रतिशत माथि छ । भोली खराब कर्जा बढेर पाँच प्रतिशत भन्दा बढी पुग्यो भने नेपाल राष्ट्र बैंकले पीसीए लगाउँछ । अहिले नै बाणिज्य बैंकहरुको खराब कर्जा औषतमा ३ प्रतिशत माथि छ । पाँच प्रतिशत पुगेको दिन बैंकहरुले लगानी गर्ने अवस्था रहँदैन् ।
हामीलाई सबैले धेरै कमाए, धेरै कमाए भनेर गाली गर्थे । यसपाली बैंकहरुलाई चौतर्फी घेराबन्दी गरिएकाले खराब कर्जा बढ्ने, नाफामा संकुचन आउने अवस्था सृजना भयो । सबैले बैंकहरुले धेरै नाफा कमाए भनेर गाली गरे तर बैंकहरुको खराब कर्जा ४ प्रतिशत नाघिसकेको छ । यहि अवस्था कायम रह्यो भने ३ महिनापछि खराब कर्जाको आंकडा कहाँ पुग्ला ? व्यापारीहरुले जुलुस निकालेर ब्याज नतिर्न आव्हान गरे, त्यसको नतिजा आज बैंकहरुको खराब कर्जाको आँकडा यसरी बढ्न पुग्यो । यसले भोली अर्थतन्त्रका लागि राम्रो संकेत गर्दैन् ।
बैंकहरुको खराब कर्जा बढेर गयो, समयमै यसलाई ठिक पार्न सकिएन भने असार मसान्तमा झनै खराब अवस्था देखा पर्ने सम्भावना छ ।
अब व्यवसायीहरुले ब्याज तिर्दैनौं भन्नु भएन । बैंकहरु जोगिएनन् भने उद्योगी व्यवसायीहरु पनि कसरी जोगिन्छन् ? उहाँहरु बैंकका विरुद्ध जे जे कुरा भनिरहनु भएको छ, त्यो बन्द गर्नुपर्छ । ऋण लिएपछि ब्याज तिर्नुपर्छ ।
अब नेपाल राष्ट्र बैंकले आफ्ना केहि नीतिहरु खुकुलो बनाइदिए हुन्थ्यो भन्ने हाम्रो चाहना हो । अबको तीन महिना भनेको बैंकहरुका लागि रिकभरीको समय हो । यो स्तरको खराब कर्जा बोकेर बैंकहरु अघि जानै सक्दैनन् । यहि अवस्था कायम रहेमा बैंकहरुले साउनदेखि लगानी गर्नै नपाउने हुन सक्छ । त्यतिबेला अहिले बैंक विरुद्ध आन्दोलन गरिरहेका उद्योगी व्यवसायीहरुले चाँही के गर्ने हुन् ? लगानी कहाँबाट जुटाउने हुन ?
सरकारले निर्माण व्यवसायीलाई भुक्तानी दिएन, व्यवसायीहरुले हाम्रो किस्ता तिरेनन् । अहिले हाम्रो खराब कर्जा बढ्न गयो । अनि दोष चाँही बैंकरलाई दिइँदैछ । अब यो अवस्थाको अन्त्य हुनुपर्छ । सरकार, राष्ट्र बैंक, हामी बैंकर र उद्योगी व्यवसायी मिलेर अर्थतन्त्र जोगाउने तर्फ लाग्नु पर्ने अवस्था आईसकेको छ । एकले अर्काेलाई हिलो छ्यापाछ्याप गरेर गयो भने झन खराब दिनहरु आउने छन् । सबै मिलेर यो अवस्थाको सामना गर्ने हो ।
(नेपाल बैंकर्स संघका उपाध्यक्ष तथा माछापुच्छ्रे बैंकका सिईओ कोइरालासँग सिंहदरबारले गरेको कुराकानीमा आधारित)
प्रतिक्रिया दिनुहोस्