काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्र प्रसाद ढकालले नेतृत्व सम्हालेको एक साता नपुग्दै ‘ब्याक गियर’ सुरु गरेका छन् । बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने विधानको व्यवस्था अनुसार चैत ३० गते अध्यक्षको सपथ लिएका ढकालले एक साता नपुग्दै ब्याक गियर सुरु गरेका हुन् । आफु नेतृत्वको नयाँ कार्य समितिको पहिलो बैठकबाटै उनले पछाडी फर्कने यात्राको संकेतहरु दिएका थिए । बैशाख ३ गते पदभार ग्रहण गरेर पहिलो बैठक बसेपछि ढकालले साँझ धापासीस्थित आफ्नो निजी निवासमा नयाँ कार्य समितिका लागि ‘डिनर’ आयोजना गरेका थिए । सोही डिनरमा उनले निरक केसीलाई कोषाध्यक्ष बनाउने प्रस्ताव अघि सारे । कार्य समितिका सबै निर्वाचितहरुका बीचमा ढकालले त्यस्तो प्रस्ताव राखेपछि सहभागीहरु केहिबेर मुखामुख मात्रै गरि बसे ।
बरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको चाहाना प्रबलजंग पाण्डे थिए । उता, एसोसियट उपाध्यक्ष ज्योत्सना श्रेष्ठले भने सन्दिप गाडिया अग्रवाललाई कोषाध्यक्ष बनाउनुपर्ने इच्छा राखेकी थिइन् । बैशाख ४ गते पुनः कोषाध्यक्ष छान्न महासंघको बैठक बस्यो । तर सहमति भएन, साँझ निर्वाचनको कार्यतालिका सार्वजनिक गरियो । केसी र पाण्डेले उम्मेदवारी दर्ता गराए । ढकालका उम्मेदवार केसीले ३८ मत ल्याए भने अञ्जन श्रेष्ठका उम्मेदवार पाण्डेले २९ मत मात्रै पाए । एक मत भने बदर भएको थियो ।
को हुन् केसी ?
निरक केसी महासंघमा विगत ११ कार्यकालदेखि कार्यसमितिमा रहँदै आएका व्यक्ति हुन् । उनी भवानी राणाको कार्यकालमा कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले राजीनामा गरेपछि पनि कोषाध्यक्ष नै थिए । सुर्खेतका केसीलाई कोषाध्यक्ष बनाउन चन्द्र ढकालसँगै पूर्व अध्यक्ष चण्डीराज ढकालको पनि बिशेष जोड थियो । त्यसो त यसपाली महासंघमा उनको कार्यकाल १८ महिनाको मात्रै हुनेछ । जिल्ला नगरबाट उम्मेदवार बनेका केसी र दिपक नेपालको समान ६३/६३ मत आएको थियो । उनीहरुले आधा आधा कार्यकाल महासंघमा बस्ने समझदारी गरे । सोही अनुसार पहिलो आधा कार्यकाल अर्थात १८ महिना केसी महासंघमा रहनेछन् । त्यसपछिको १८ महिना भने दिपक नेपालले महासंघको कार्य समिति सदस्यको जिम्मेवारी पाउनेछन् ।
अर्थात अहिले कोषाध्यक्ष बनेका केसीले आगामी १८ महिनापछि महासंघ छाड्नुपर्नेछ र पुनः अर्काे निर्वाचनबाट नयाँ कोषाध्यक्ष छान्नुपर्नेछ । अब प्रश्न उठ्छ–‘११ कार्यकालदेखि महासंघको कार्यसमितिमा रहेका, यसपाली पनि १८ महिनापछि अर्काे विकल्प खोज्नुपर्ने गरि निरक केसीलाई नै कोषाध्यक्ष बनाउन अध्यक्ष चन्द्र ढकालले किन मरिहत्ते गरे ? केसीमा के क्षमता थियो ? जसले गर्दा उनी ११ कार्यकालसम्म निरन्तर कार्यसमितिमा बसि रहे र अहिले फेरी कोषाध्यक्षमै चित्त बुझाए ? जबकी चन्द्र ढकाल आफैं चौथो कार्यकालमै महासंघको अध्यक्ष निर्वाचित भैसकेका छन् ।
पाण्डेको सवाल ?
निजी क्षेत्रको सबै भन्दा ठूलो सञ्जाल रहेको संस्था नेपाल उद्योग बाणिज्य महासंघले आफुलाई वैकल्पिक सरकारको दावी समेत गर्ने गरेको छ । महासंघमा नेतृत्व विकास नियमित प्रक्रियाबाट हुँदै आएको छ । आगामी नेतृत्वका लागि भनेर प्रबलजंग पाण्डे, सन्दिप गािडया अग्रवालहरुलाई अघि सार्न खोजिएको थियो तर ढकालले निरक केसीलाई बोकेपछि नेतृत्व विकासको एक चरण अवरुद्ध बनेको महासंघकै एक कार्यकारीणी समिति सदस्यले सिंहदरबारलाई बताए ।
‘हामीले भावी नेतृत्वका लागि अहिलेबाटै तयारी गर्नुपर्छ भन्ने सोँच बनाएका थियौं, सरकारसँगको लबिङ र छलफलमा खरोसँग आफ्ना कुरा राख्न सक्ने, उद्योग व्यवसाय बुझेका र युवाहरुलाई अघि सार्नुपर्छ भन्ने हाम्रो चाहना थियो तर चन्द्र सरले कुनै हालतमा पछि हट्न नसक्ने भन्नु भयो’, एक कार्यसमिति सदस्यले भने । उनले एक अर्थमा महासंघ अध्यक्ष ढकालले एक साता नबित्दै ‘ब्याक गियर’ सुरु गरेको आरोप पनि लगाए ।
प्रतिक्रिया दिनुहोस्