काठमाडौँ । लगानी बोर्ड नेपालले तीन वटा ठूला जलविद्युत आयोजनाहरुको निर्माणका लागि डेढ खर्ब रुपैयाँ विदेशी लगानी स्वीकृत गरेको छ । लगानी बोर्डका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको लगानी बोर्डको ५३ औं बैठकले बैठकले ५ वटा जलविद्युत परियोजनाको लागि एक खर्ब ४६ अर्ब २२ करोड वैदेशिक लगानी र २१ अर्ब ३७ करोड स्वदेशी गरी कूल एक खर्ब ६७ अर्ब ५९ करोड बराबरको लगानी स्वीकृत गरेको हो ।
बोर्ड बैठकले तल्लो अरुण जलविद्युत परियोजनाका लागि ९२.६८ अर्ब बराबरको लगानी स्वीकृत गर्नुका साथै विकासकर्तासँग वार्ता गरी परियोजना विकास सम्झौताको सहमतिको दस्तावेज तयार पारेर बोर्डसमक्ष पेश गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ। त्यसैगरी, १०२ मेगावाटको माथिल्लो मर्स्याङ्दी–१ जलविद्युत परियोजनाको ३३.१९ अर्ब, ७० मेगावाटको दुधकोसी–२ (जलेश्वर) जलविद्युत परियोजनाको २०.३५ अर्ब, ७०.३ मेगावाटको सिम्बुवा खोला जलविद्युत परियोजनाको १३.४४ अर्ब र ४३ मेगावाटको अप्पर मादी खोला जलविद्युत परियोजनाको लागि रु। ७.९३ अर्ब लगानी स्वीकृत गरेको छ ।
बैठकले लगानी बोर्डको ५०औं बैठकको निर्णयानुसार डीआईएजी इन्डष्ट्रिज जीएबीएच जर्मनीले रासायनिक मल कारखाना स्थापना सम्बन्धमा अध्ययन अनुमतिका लागि पेश गरेको प्रस्ताव अनुसार विकासकर्तासँग सम्पन्न गरिने समझदारीपत्र र डाबर नेपालको पूँजी तथा क्षमता वृद्धि परियोजना कार्यान्वयनका लागि सम्पन्न गरिने समझदारीपत्रको मस्यौदालाई स्वीकृत गरेको छ ।
बोर्ड बैठकले २०८० सालमा आयोजना गर्न लागिएको लगानी सम्मेलनको अवधारणापत्र स्वीकृत गर्नुका साथै सम्मेलन सफलतापूर्वक आयोजना गर्न आवश्यक पूर्वतयारीका लागि लगानी बोर्डको कार्यालयलाई जिम्मेवारी दिएको छ ।
बैठकमा अघिल्लो बोर्ड बैठकले निर्देश गरे बमोजिम परियोजना विकासका सम्बन्धमा भएका प्रगति र लगानी बोर्डको कार्यालयले सम्पादन गरेका प्रमुख कार्यहरुको सम्बन्धमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्