काठमाडौं । जीवन बीमक संघ नेपालले जापानको जीवन बीमक संघ फालिया (फाउन्डेसन फर दि एडभान्समेन्ट अफ लाइफ एण्ड इन्स्योरेन्स अराउण्ड दि वल्र्ड) सँग मिलेर ‘जापान–नेपालः टप लेभल म्यानेजमेन्ट सेमिनार’ आयोजना गर्ने भएको छ । जीवन बीमक संघका अध्यक्ष पोषक राज पौडेलको पहलमा २०८० साल बैशाख १२ गते काठमाडौंमा समिट आयोजना हुन लागेको हो ।
फालियासँग मिलेर पहिलोपटक यस्तो सेमिनार नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको हो । उनले आफ्नो जापान भ्रमणमा फालियाका प्रतिनिधिहरुसँग भेटघाट गरेका थिए । सोहि भेटघाटमा उनले नेपालमा पनि एउटा सेमिनार आयोजना गर्ने प्रस्ताव गरेका थिए । फालिया र जीवन बीमक संघ नेपालले आगामी दिनमा पनि एक आपसमा सहकार्य गर्दै थप कार्यक्रम गर्दै जाने सहमति समेत गरेको अध्यक्ष पोषक राज पौडेलले जानकारी दिए ।
संघले सम्पूर्ण जीवन बीमा कम्पनीहरुलाई प्रमुख कार्यकारी अधिकृत सहित तीन जना प्रतिनिधिहरुलाई सहभागी हुन आमन्त्रित गरेको छ । संघले बैशाख ७ गतेसम्म सहभागीको सूची बुझाउन सम्पूर्ण कम्पनीलाई पत्राचार समेत गरिसकेको छ ।
बैशाख १२ गते विहान ९ बजेदेखि कार्यक्रम सुरु हुने संघले जनाएको छ । सेमिनारको प्रारम्भमा जीवन बीमक संघ नेपालका अध्यक्ष पोषक राज पौडेल र फालियाका प्रबन्ध निर्देशकले संबोधन गर्नेछन । एक दिने सेमिनारमा तीन वटा सेसन सञ्चालन हुनेछन । पहिलो सेसन ७० मिनेटको रहनेछ, जसमा फालियाको तर्फबाट “द्रुत गतिमा बदलिरहेको व्यापार वातावरणमा जीवन बीमा उद्योगका चुनौतीहरू” विषयमा प्रस्तुतिकरण रहेको छ ।
दोश्रो सेसनमा “जापानको जीवन बीमा उद्योगमा आएको परिवर्तन र नेपालको जीवन बीमा कम्पनीहरूका लागि सुझावहरू” बारे प्रस्तुतिकरण रहेको छ । साथै तेश्रो सेसन “जीवन बीमा कम्पनीको दिगोपन व्यवस्थापन” सम्बन्धी रहेको छ । सेमिनारको अन्तिममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले सम्बोधन गर्नेछन ।
प्रतिक्रिया दिनुहोस्