काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचन संघारमै आईसकेको छ । यसपालीको निर्वाचनमा बरिष्ठ उपाध्यक्षका उम्मेदवारहरुले राजनीतिक नेतृत्वलाई खुल्लम खुल्ला आमन्त्रण गरेका छन् । बरिष्ठ उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठलाई जिताउन काँग्रेस महामन्त्री गगन थापा सक्रिए देखिन्छन् । अर्का उम्मेदवार उमेश श्रेष्ठले केपी ओलीलाई फकाईरहेका छन् ।
रामचन्द्र संघाईलाई जिताउन भने काँग्रेस सभापति शेर बहादुर देउवा निवासबाट टास्क फोर्स नै खटिएको छ । त्रिवेणी समुहको पुतलिसडकस्थित कार्यालयमै बसेर सो टास्क फोर्सले संघाईका लागि काम गरिरहेको छ । देशभरका काँग्रेस समर्थक मतदाताहरुलाई फोन गरेर उनीहरुले ‘संघाईलाई जिताउन शेर बहादुर दाईको बिशेष निर्देशन छ, सहयोग गर्नुस’ भनिरहेका छन् ।
पूर्व प्रधानमन्त्री देउवाले संघाईलाई चुनाव जिताउने राजनीतिक कमाण्ड भने केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतलाई दिएका छन् । बस्तुगत र जिल्ला नगरमा कार्य समितिका उम्मेदवार नै खडा गर्न नसकेका संघाईले ‘भोट बटुल्ने उपाय’ लगाईरहेका छन् । काँग्रेस समर्थक, त्यसमा पनि संस्थापन समुह नजिक रहेकाहरु सबैको भोट आफुलाई आउने आंकलन संघाईले गर्दै आईरहेका छन् । त्योत्सना श्रेष्ठलाई अञ्जनको टिमबाट खोसेर आफ्नो टिमको उपाध्यक्ष उम्मेदवार बनाएका संघाई पुनः अर्काे सरप्राइज दिने तयारीमा रहेको स्रोत बताउँछ ।
‘फिल्डमा संघाईका पक्षमा खासै मान्छे देखिन्नन्, टिम पनि पुरै बनेको छैन्, तर पनि उनको ‘बडि ल्याङग्वेज’ भने चुनाव जित्ने उत्साहको छ’, महासंघका एक नेताले सिंहदरबारसँग भने । अघिल्लो निर्वाचनमा पनि संघाईले चुनाव जित्ने विश्वास थोरैले मात्रै गरेका थिए । तर उनले अपत्यारिलो नतिजा ल्याउँदै सौरभ ज्योतिलाई पराजित गरि एसोसिएट उपाध्यक्ष निर्वाचित भएका थिए ।
संघाईसँग एसोसिएटमा सबै भन्दा धेरै प्रोक्सी मत रहेको बताइन्छ, एसोसिएटमा ठूलो अन्तरले नेतृत्व गर्ने, बस्तुगतमा त्रिपक्षिय मत भएपनि थोरैले लिड गर्ने र जिल्ला नगरमा प्रतिष्पर्धीहरु भन्दा थोरै कम मत ल्याएर पहिलो चरणमा पहिलो मतसहित फाइनल रेसका लागि तयार हुने संघाईको योजना देखिन्छ ।
यद्यपी उनको आड भरोसा भनेकै ‘देउवा दाई’ हुन् । ‘यसपाली संघाईलाई दाई भाउजुको बिशेष साथ छ, उहाँको भरोसा भनेकै बुढानिलकण्ठ हो’, महासंघका एक पदाधिकारीका उम्मेदवारले भने । त्यसो त यसपाली संघाईले मारवाडी समुहको बहुसंख्यक मत पाउने सम्भावना बन्दै गएको छ ।
मारवाडी समुदायले उमेशलाल श्रेष्ठलाई रुचाउँदैन, उनीहरु अञ्जन श्रेष्ठलाई आफ्नो प्रतिष्पर्धी ठान्छन् । अञ्जन श्रेष्ठ पनि मारवाडी समुदाय जस्तै गाडी, स्टिल, डेरी लगायतका क्षेत्रमा लगानी गरिरहेका छन् । आफ्नै प्रकृतिको व्यवसाय गरिरहेका श्रेष्ठले महासंघको नेतृत्व हात पारे भने आफुहरुको व्यवसायमा थप टक्कर दिन सक्ने निष्कर्षमा उनीहरु रहेको बताइन्छ ।
‘जे जस्तो भए पनि मारवाडी समुदायले अन्तिममा संघाईकै पक्षमा मत दिन्छ’, स्रोतले भन्यो । त्यसो त संघाईले यसपाली ‘बरिष्ठ बन्न दिल खोलेर खर्च गर्छु’ भन्ने सन्देश पनि बजारमा पठाएका छन् । संघाई तुलनात्मक रुपमा कम खर्च गर्ने व्यवसायीका रुपमा चिनिन्थे ।
खर्च गर्ने क्षमता, मारवाडी समुदायको साथ र काँग्रेस संस्थापनको आड भरोसासहिर्त बरिष्ठ बन्ने बन्ने अभियानमा रहेका संघाईलाई रोक्न अञ्जन–उमेशको कस्तो रणनीति रहला ? हेर्न बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्