काठमाडौं । नेपालका एक मात्रै घोषित डलर अर्बपति बिनोद चौधरीको सम्पति ३० करोड डलरले वृद्धि भएको छ । विश्वका धनाढ्यहरुको सूचि सार्वजनिक गर्ने फोर्ब्स म्यागेजिनका अनुसार नेपालका डलर अर्बपति चौधरीको सम्पति एक वर्षको अन्तरालमा १.५० बिलियन डलरबाट १.८० बिलियन डलर पुगेको हो । चौधरी हाल नेपाली काँग्रेसको केन्द्रिय सदस्य तथा प्रतिनिधी सभा सदस्यको जिम्मेवारीमा रहेका छन् ।
चौधरीको सम्पति २ खर्ब ३७ अर्ब ६७ करोड २० लाख रुपैयाँ नाघेको हो । गत वर्ष चौधरीको कुल सम्पत्ति एक खर्ब ९७ अर्ब थियो । चौधरीले एक वर्षमा आफ्नो सम्पति ३९ अर्ब ९६ करोड २० लाख रुपैयाँले वद्धि गरेका हुन् । सन २०२२ मा चौधरीको सम्पति १.५० बिलियन डलर मात्रै थियो । सन् २०२३ मा विश्वका धनाढ्यहरुको सूचिमा चौधरी १६४७ औं नम्बरमा उक्लेका छन् । सन २०२२ मा चौधरी १९६५ औं स्थानमा थिए ।
बिनोद चौधरीले सीजी कर्प ग्लोबल मार्फत संसारभर लगानी गर्दै आएका छन् । उनको नेपालमा नबिल बैंक, विश्व चर्चित वाईवाई चाउचाउको निर्माता सीजी फुड्समा मुख्य लगानी रहेको छ । वाईवाई चाउन नेपालमा माधै नभएर भारत, बंगलादेश, सर्बिया, इजिप्ट लगायतका देशमा समेत उत्पादन हुन्छ । चौधरीको नेतृत्वमा ताज होटलसहित १४३ वटा ठूला तथा लक्जरी होटलहरुमा लगानी रहेको छ ।
चौधरीका तीन छोराहरु निर्वाण, राहुल र वरुणले विदेशमा बसेर यी कम्पनीहरु सञ्चालन गर्न चौधरीलाई सघाईरहेका छन् । निर्वाण र राहुल भने सीजी ग्रुपका प्रबन्ध निर्देशक छन् ।
प्रतिक्रिया दिनुहोस्