लमजुङ । क्व्होलासोथर गाउँपालिका–३ स्थित घलेगाउँ घरबासमा पर्यटक आउन थालेका छन् । समुद्री सतहदेखि २ हजार एक सय मिटर उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण सो स्थानका घरबासमा गर्मी लागेसँगै अहिले दैनिक ४०/५० पर्यटक आउन थालेका हुन् । जाडो बढेसँगै घरबास सुनसान थिए ।
ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका कार्यालय सचिव दीर्घराज घलेले भने, “जाडोयाम बढेसँगै सुनसान जस्तै बनेको यहाँको घरबासमा यतिबेला बिस्तारै पर्यटक आउन थालेका छन् ।” दैनिकजसो ३० देखि ५० र शुक्रबार, शनिबार तथा बिदाको समयमा १ सय जनाभन्दा बढी पर्यटक आउने गरेको उनको भनाइ छ ।
वितगमा दैनिक ३ सयदेखि ५ सय जनासम्म पर्यटक आउने गरेको र आगामी दिनमा पनि सोही हाराहारीमा आउने अपेक्षा यहाँका घरबास सञ्चालकहरूले गरेका छन् । यहाँ पर्यटकीय ‘सिजन’मा प्रतिघरबासले ५० हजारभन्दा बढी आम्दानी गर्ने गरेका छन् ।
यसअघि पर्यटक नआउँदा फुर्सदिला बनेका यहाँका घरबास सञ्चाल अहिले पर्यटक आउन थालेसँगै पर्यटक सत्कारमा व्यस्त हुन थालेको घरबास सञ्चालक हेमकुमारी गुरुङको भनाइ छ । उनले भनिन्, “यहाँका घरबास सञ्चालकहरूलाई दुई–चार पैसासमेत दैनिकजसो आम्दानी हुन थालेको छ । विसं २०५७ बाट सञ्चालनमा आएको यस घरबासमा यतिबेला ४४ घरमा घरबास सञ्चालनमा रहेका छन् । तीन सयजना एक रातमा बास बस्न सक्नेछन्, साथै यहाँ दुईवटा होटलसमेत सञ्चालनमा रहेका छन् । घरबासमा पुगेका पर्यटकका लागि सत्कारसँगसँगै आफ्ना कला, वेशभूषा, संस्कार, संस्कृति जोगाइराख्न जुटेका उनीहरूहरूको जातीय पहिचानसहित सांस्कृतिक नृत्यसमेत प्रस्तुत हुने गर्दछ ।
तत्कालीन सरकारको परराष्ट्रमन्त्री स्तरीय सार्क बैठकले नेपाल सरकारको पहलमा घलेगाउँलाई सार्क राष्ट्रकै नमूना ग्रामीण पर्यटन गाउँका रूपमा घोषणा गरेको थियो । नेपाल आदिवासी जनजातिमध्ये गुरुङहरूको उद्गमथलो तथा घलेराजाले अन्तिम राज्य सञ्चालन गाउँ हो । यस गाउँमा करिब एक सय ३५ घरधुरी रहेको छ । यहाँबाट आठ हजार एक सय ६३ मिटर उचाइको मनास्लु हिमाल, सात हजार आठद सय ३५ मिटरमा रहेको ङादीचुली (डा हर्क हिमाल), ७ हजार ९ सय ३५ मिटर उचाइको अन्नपूर्ण हिमाल (दोस्रो), अन्नपूर्ण हिमाल (चौथो), ६ हजार ९ सय ६३ मिटर उचाइको माछापुच्छे« हिमाल, ७ हजार ८ सय ९३ मिटर उचाइको हिमालचुली, ६ हजार ९ सय ८६ मिटर उचाइको लमजुङ हिमाल र ६ हजार ६ सय ७२ मिटर उचाइको बुद्व हिमाल देखिन्छ । यहाँ घलेराजामध्ये अन्तिम घलेराजा ज्याल्बु रुजा क्लेको सालिकसमेत देख्न सकिन्छ । यहाँ आउने पर्यटकलाई घरबास सञ्चालकहरूले गाउँघरमै उब्जाइएका अग्र्यानिक धान, मकै, कोदो, भटमास, रायोको साग, सिस्नोको खोले, लोकल कुखुरा, खसीबोका, भेडाको मासु लगायतको परिकार खुवाउने गर्दछन् ।
घरबासमा आएका पर्यटकहरूलाई सत्कारसँगसँगै आफ्ना कलासंस्कृति जोगाई राख्न जुटेका गुरुङसेनीहरूको जातीया पहिचानसहित कृष्ण चरित्र, लामा, सोरठी, घ्याब्रे, पच्चु, झ्याउरे, चुट्का, झँक्री, सेर्गा लगायतका लोपोन्मुख सांस्कृतिक नृत्यसमेत प्रस्तुत हुने गर्दछ । गाउँमा आएका पर्यटकलाई स्वागत तथा सम्मान र बिदाइमा सेतो टीका, फूल, फूलको माला, गुच्छा र खादा चढाइन्छ । पर्यटकलाई गुन्द्रक, मकै, भटमास, कोदोको सेलरोटी, चिया लगायतका परिकार खुवाइन्छ । पर्यटकका लागि गुरुङ संस्कृति झल्किने गीत तथा नाच प्रस्तुत गरी भरपुर मनोरञ्जन दिलाइन्छ । पाहुना तथा पर्यटकलाई समाज घरमा लगेर गुरुङ संस्कारमा आधारित कृष्णचरित्र नाच, घाँटु, घ्याब्रे, लामा, सोरठीलगायत विभिन्न परम्परागत नृत्यहरू प्रस्तुत गर्नु घलेगाउँवासीको परम्परा हो ।
घलेगाउँमा प्रतिव्यक्ति एक रातको १ हजार २ सय ५० शुल्क लिइन्छ । सो रकम तिरेबापत एक रात सुत्न तथा एक छाक मांसाहारी र शाकाहारी भोजन पाइन्छ । साथै बिहानको खाजामा चिया, कोदोको सेलरोटी, तरकारी र अण्डा पर्यटकले प्राप्त गर्छन् । यस गाउँमा पैदल यात्रा गरेमा करिब ६ घण्टा समय लाग्दछ भने काठमाडौंबाट तनहुँको डुम्रेबजार हुँदै बेँसीसहरसम्मको एक सय ७२ किमी र प्रदेश राजधानी पोखरादेखि बेँसीसहरसम्म एक सय १० किमीको दूरीमा रहेको छ । त्यस्तै बेँसीसहरबाट घलेगाउँ पुग्न २४ किमी यात्रा गर्नुपर्छ । घलेगाउँसम्म पुग्ने सडक पूर्वाधार विकास भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्