काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुमा स्वार्थ बाँझिने गरी नियुक्त भएका सञ्चालकहरुलाई हटाउने तयारी गरेको छ । निक्षेप संकलन गर्ने बैंक तथा वित्तीय संस्था र अन्य बीमा कम्पनीका संस्थापक र कर्मचारी समेत रहेका बीमा कम्पनीहरुका सञ्चालकहरुलाई हटाउने तयारी प्राधिकरणले गरेको हो ।
बीमा कम्पनीहरुका सञ्चालकहरुको अयोग्यता प्रष्ट्याएको बीमा ऐन २०७९ को बुँदा ५० उपबुँदा (ङ) र (च) लाई कार्यान्वयन गर्न प्राधिकरणले १५ दिनको ताकेता लगाएको हो । सञ्चालकको अयोग्यताबारे उक्त बुँदामा भनिएको छ –‘बीमक वा बैंक तथा वित्तीय संस्था वा कुनै पनि प्रकारको निक्षेप संकलन गर्ने संगठित संस्थाको सञ्चालक रहेको वा अन्य कुनै बीमकको संस्थापक समुहको आधारभुत सेयर लिएको बहालवाला सञ्चालक वा कर्मचारी’
उक्त बुँदामा उल्लेख गरेअनुसार बीमा कम्पनीहरुले निक्षेप राख्ने बैंकहरुको सञ्चालक वा कर्मचारी सोही बीमा कम्पनीमा पनि सञ्चालक हुन अयोग्य हुनेछ । साथै, अन्य बीमा कम्पनीको संथापक समेत अर्को बीमा कम्पनीको सञ्चालक हुन अयोग्य हुनेछ ।
‘बीमा ऐनमा उल्लेख भएका बुँदाको कार्यन्वयन गर्न आजको मितिबाट १५ दिनको समय दिएर प्रत्येक बीमा कम्पनीका सञ्चालक समितिमा पत्र पठाइसकेका छौं,’ बीमा प्राधिकरणका उच्च अधिकारीले सिंहदरबारसँग भने, ‘यसबीचमा सेयर र निक्षेप सेटलमेन्ट गर्ने वा सञ्चालक नै फिर्ता पठाउने कम्पनीको हातमा छ, दिएको समय पछि भने प्राधिकरणले ऐन अनुसार सञ्चालकलाई अयोग्य ठहर गर्छ ।’
धेरै बीमा कम्पनीहरुमा ‘क्रस होल्डिङ’ रहेको संस्थाको र निक्षेप स्वीकार्ने बैंकका संस्थापकहरु सञ्चालक रहेको हुँदा यसरी स्वार्थ बाँझिने गरी नियुक्त भएका सञ्चालकहरुलाई प्राधिकरणले हटाउने तयारी गरेको उनले बताए ।
यसैगरी, प्राधिकरणले बीमा ऐन २०७९ को बुँदा नम्बर ५० को (च) मा उल्लेखित विषयलाई समेत १५ दिन भित्रै कार्यान्वयन गर्न ताकेता लगाएको छ । सम्बन्धित बीमा कम्पनीको बहालवाला लेखापरिक्षक वा परामर्शदाता वा बीमकसँग कुनै पनि किसिमको ठेक्का पट्टामा हिस्सेदार रहेका वा निजी स्वार्थ रहेका व्यक्ति वा संस्था, फर्म र कम्पनीहरु समेत बीमा कम्पनीहरुको सञ्चालक भएमा १५ दिन भित्रै हटाउन प्राधिकरणले भनेको हो ।
प्रतिक्रिया दिनुहोस्