पोखरा । नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर डा. चिरन्जीवी नेपालले तत्कालै पुरक बजेट ल्याउनुपर्ने बताएका छन् । पोखरामा आयोजित ‘लथालिङग अर्थतन्त्र कहिलेसम्म’ बिषयक कार्यक्रममा उनले तत्कालै पुरक बजेट ल्याएर अर्थतन्त्र सुधारका प्रयास थाल्नुपर्नेमा जोड दिएका हुन् ।
उनले मौद्रिक नीतिमार्फत सरकारले अर्थतन्त्रलाई सुधार गर्नुपर्ने भन्दै मौद्रिक नीति राम्रो नभएसम्म सुधार हुन नसक्ने बताए । पूर्वगर्भनर नेपालले सबैले चाहेमा अर्थतन्त्रमात्र नभई देश नै सुधार हुनसक्ने भन्दै त्यसको लागि संकल्पका साथ अगाडि आउनुपर्नेमा जोड दिए । व्यापार व्यवसाय उत्थानका लागि पूरक बजेट ल्याउनुपर्नेमा उनले जिकिर गरे ।
‘व्यापार व्यवसाय उत्थानका सप्लिमेन्ट बजेट ल्याएर राहत दिनुपर्छ । अहिले बैंकमा अधिक ब्याज हुँदा रकम लिन नचाहेको हुँदा यसमा ध्यान दिनुपर्नेछ,‘ पूर्वगर्भनरले भने, ‘अहिले पैसा बाहिर बाहिर नै छ । त्यसलाई च्यानलमा ल्याउन पनि सप्लिमेन्ट्रि बजेट ल्याउनुको विकल्प छैन् । यो सत्य हो ।’
उनले नीति बनाउनेहरु सचेत नबन्दा अर्थतन्त्र निरन्तर संकटको भूमरीमा फस्दै गएको र निजी क्षेत्र पनि निरुत्साहित बनेको आरोप पनि लगाए । उनले भने–‘मैले धेरैपटक नियामक र नीतिगत तहमा भएकाहरु सिरियस भएको जस्तो देखिँदैन् । अझै सरकार सुधार गर्न सचेत छैन् ।’
सरकारमा बस्नेहरुले ध्यान नदिँदा अर्थतन्त्रको अवस्था जटिल बनेको उनको आरोप छ । उनले यसको लागि नीतिगत सुधार गर्नुपर्नेमा पनि जोड दिए ।
कार्यक्रममा राष्टिय स्वतन्त्र पार्टी नेपालका सांसद मनिष झाले देश तदर्थवादमा अल्झिएको हुँदा समस्या आएको बताए । उनले आफ्नो पार्टि सरकारमा हुँदा र आाफू स्वयं उद्यम क्षेत्रमा रहेको अनुभवले पनि अझ संकटतर्फ उन्मुख भएको बताए ।
‘हामीकहाँ विश्लेषक धेरै तर विज्ञ कम भए र राजनीतिमा पनि त्यस्तै भएकोछ । हामीले तदर्थवादलाई नहटाएसम्म समस्या घट्दैन्। हामीसँग योजनाहरु धेरै छन् तर रणनीतिहरु केहि छैन्,‘ सांसद झाले भने ।
उनले देशमा सँधै राजनीतिक योजनाहरु बन्ने गरेको तर अर्थतन्त्रका लागि कुनै योजनाहरु नबनेकोमा रोष प्रकट गरे ।
त्यस्तैगरी कार्यक्रममा पोखरा अनुसन्धान केन्द्रका सुजन रेग्मीले पूँजीगत खर्च नबढाएसम्म अर्थतन्त्र सुधार नहुने बताए । उनले पूँजीगत खर्च बढाउँदै सरकारले अर्थतन्त्र वृद्धि गर्न सुधारका कदम चाल्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्