Shikhar Insurance
National Life

लघुवित्तको खराब कर्जा ८३ प्रतिशतसम्मले बढ्यो

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन ३०, मंगलवार १९:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । पछिल्लो समय लघुवित्त कम्पनीको निष्क्रिय कर्जा बढ्दै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९÷८० को दोस्रो त्रैमासिक अवधिको ‘लघुवित्त वित्तीय संस्थाको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदन’अनुसार निष्क्रिय कर्जा पछिल्लो छ महिना अवधिमा करिब ८३ प्रतिशतसम्म बढेको देखिएको हो ।

“पुस मसान्तसम्ममा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाको निष्क्रिय कर्जाको अनुपातमा वृद्धि भएको छ । त्यस्तै, खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाको निष्क्रिय कर्जा रकममा उल्लेखनीय वृद्वि भएको छ”, प्रतिवेदनमा भनिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हाल सञ्चालनमा रहेका ६४ वटा लघुवित्त वित्तीय संस्थामध्ये ४ वटा थोक कर्जा प्रदायक र ६० वटा खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्त संस्था रहेका छन् । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाले प्रवाह गरेको कूल कर्जा रकम गत असारको तुलनामा ३.१७ प्रतिशतले बढेर पुस मसान्तसम्म ५९ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाले प्रवाह गरेको कूल कर्जा तथा सापट रकम पुस मसान्तमा ३ खर्ब ९१ अर्ब ४४ करोड रुपैयाँ रहेको छ ।

पुस मसान्तसम्ममा थोक कर्जा प्रदायक लघुवित्तको निष्क्रिय कर्जा ५२ करोड रुपैयाँ र खुद्रा कर्जा प्रदायक लघुवित्तको निष्क्रिय कर्जा १८ अर्ब ३४ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । अर्थात् कुल प्रवाहित कर्जामध्ये थोक कर्जा प्रदायकको निष्क्रिय कर्जा ०.८७ प्रतिशत र खुद्रा कर्जा प्रदायकको निष्क्रिय कर्जा ४.६८ प्रतिशत रहेको छ ।

गत असार मसान्तसम्ममा खुद्रा कर्जा प्रदायक संस्थाको कूल कर्जामा निष्क्रिय कर्जाको अनुपात २.५६ प्रतिशत थियो । अर्थात् पछिल्लो छ महिनामा निष्क्रिय कर्जा ८२.६२ प्रतिशतले बढेको छ ।

गत पुस मसान्तसम्ममा लघुवित्त वित्तीय संस्थाको सदस्य सङ्ख्या ५९ लाख ८८ हजार र ऋणी सङ्ख्या ३२ लाख ६० हजार रहेको छ । गत असार मसान्तको तुलनामा लघुवित्तका ऋणी १.३० प्रतिशतले घटेको पनि राष्ट्र बैंकले जनाएको छ ।

लघुवित्त वित्तीय संस्थाले आफ्नो जोखिमभारित सम्पत्तिको अनुपातमा न्यूनतम प्राथमिक पुँजी ४ प्रतिशत र पुँजीकोष ८ प्रतिशत कायम गर्नुपर्ने वैधानिक प्रावधान रहेको छ । गतपुस मसान्तसम्म समग्रमा लघुवित्त वित्तीय संस्थाको जोखिमभारित सम्पत्तिको अनुपातमा प्राथमिक पुँजी र पुँजीकोष क्रमशः १२.२३ प्रतिशत र १३.४५ प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्षको छ महिना अवधिमा लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजी २. २३ प्रतिशतले र जोखिमभारित सम्पत्ति १.०७ प्रतिशतले बढेको पनि राष्ट्र बैंकले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्