अमेरिकामा सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक डुबेका छन् । त्यहाँको सरकारले नै निक्षेप कर्ताहरुको पुरै रकम तिरिदिने भनेर घोषणा गरिसकेको छ । स्वयं राष्ट्रपति जो वाइडेनले आफैं अघि सरेर निक्षेपकर्ताहरुलाई आश्वस्त पारेका छन् । उनले सन २००८ को जस्तो वित्तीय संकट आउन नदिने आफ्नो अथक प्रयासका बावजुद सिलिकन भ्याली र सिग्नेचर बैंकमा समस्या आएको र अब त्यसको समाधान खोजिने बताएका छन् । निक्षेपकर्ताहरुले आफ्नो रकम चाहेको बेला फिर्ता पाउने सुनिश्चितता पनि उनले गरेका छन् र त्यसमा करदाताहरुलाई अतिरिक्त भार नपार्ने पनि बताईसकेका छन् ।
किन डुबे अमेरिकी बैंक?
सिलिकन भ्याली बैंकमा कुल निक्षेप १७३ बिलियन डलर थियो । बैंकमा सेयर होल्डरको लगानी १६ बिलियन थियो भने बैंकको कुल सम्पति २११ बिलियन डलर थियो । सन २०२१ मा बैंकले आफ्नो निक्षेपलाई दुई गुणाले वृद्धि गरेको थियो । त्यस्तो निक्षेप स्टार्टअप बिजनेस र भेञ्चर क्यापिटलबाट संकलन गरिएको थियो । अमेरिकाका ४४ प्रतिशत टेक्नोलोजी र हेल्थ केयर कम्पनीहरुले सिलिकन भ्यालीसँग बैंकिङ गरेका छन् ।
सिलिकनले ऋण लगानी गर्न पाउने व्यवस्था थिएन्, भेञ्चर क्यापिटलहरुले नै स्टार्टअप बिजनेशमा लगानी गरेका थिए । सिलिकनले युएस टी बिल, बण्ड, कर्पोरेट बण्ड (एचटीएम पोर्टफोलियो ९१ बिलियन, एएफएस २६ बिलियन) मा लगानी गरेको थियो । बैंकको ४३ प्रतिशत लगानी रहेको एचटीएमको प्रतिफल १.६६ प्रतिशत थियो भने एएफएसको प्रतिफल १.५६ प्रतिशत मात्रै थियो ।
सन २०२२ अन्तिमदेखि अमेरिकामा ब्याजदर वृद्धि हुन थाल्यो । बढ्दो मुद्रास्फितिलाई रोक्न ब्याजदर बढाईएको भनिएको थियो । ब्याजदर बढेपछि सिलिकनमा पैसा राखेका स्टार्टअप बिजनेश कम्पनीहरुले धमाधम रकम झिक्न थाले । बैंकले तरलता व्यवस्थापनका लागि आफुले खरिद गरेका बण्डहरु धमाधम बेचेर निक्षेपकर्ताको पैसा फिर्ता गर्नुपर्ने अवस्था आईपुग्यो । बैंकले आफैंले २ बिलियन डलर नोक्सानीमा रहेको सार्वजनिक गर्यो ।
बैंक आफैंले नोक्सानीको जानकारी दिएपछि निक्षेप राख्ने भेञ्चर क्यापिटलहरुले धमाधम रकम झिक्न थाले । तीन दिनकै अवधीमा सिलिकन भ्यालीबाट ४० बिलियन डलर निक्षेप बाहिरयो । अमेरिका टाट पल्टिएको अर्को बैंक हो सिग्नेचर बैंक । जसको कुल सम्पति ११० बिलियन डलर थियो ।
यो बैंकमा ठूलो निक्षेप क्रिप्टे करेन्सी वालाहरुको थियो । बैंकको ८९ बिलियन निक्षेपमध्ये १८ बिलियन डलर क्रिप्टो करेन्सीहरुको थियो । बैंकले आफ्नो ठूलो हिस्सा रियलस्टेट क्षेत्रमा लगानी गरेको थियो । बैंकले डिजिटल करेन्सीको सेटलमेन्ट बैंकका रुपमा काम गर्दथ्यो । त्यसका लागि बैंकले आफ्नै ब्लकचेन प्लेटफर्म प्रयोग गरेको थियो ।
आफ्नै क्रिप्टो सञ्चालन गरिरहेको एफटिएक्स नामको कम्पनी टाट पल्टिएपछि बैंकमा निक्षेपकर्ताहरुको लाइन लाग्न थालेको थियो ।
सिग्नेचर बैंकको सेयर मूल्य ७६ प्रतिशतले घटेको थियो र शुक्रबार मात्रै २० प्रतिशतले बिक्रि भएको थियो । जोखिम बढेको पुष्टि भएपछि फेडेरल रिजर्भ बैंकले सिग्नेचर बैंकलाई नियन्त्रणमा लिए फेडेरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशनलाई जिम्मा लगाएको हो ।
नेपालमा के हुन्छ?
अमेरिकामा दुई वटा बैंकहरु डुबेपछि नेपालमा के हुन्छ भन्ने प्रश्न भन्दा पहिले ती बैंक र नेपालका बैंकहरुको कार्य प्रणाली बुझ्नु आवश्यक हुन्छ । अमेरिकाका दुबै बैंक बिशेष प्रकृतिका थिए । उनीहरु मुलतः स्टार्टअप केन्द्रित थिए । तिनको ठूलो स्रोत एकाध क्षेत्रमा मात्रै लगानी भएको थियो । त्यसकारण लगानी गरिएको क्षेत्रमा केहि समस्या देखिने वित्तिकै अमेरिकाका दुबै बैंक डुब्ने अवस्था आयो ।
तर नेपालका हकमा हामी भिन्न प्रकृतिको बैंकिङ गर्छौ । हाम्रो निक्षेपको स्रोत र लगानीको क्षेत्र वृहत्तर छ । हामीले स–साना निक्षेप संकलन गरेका हुन्छौं । हाम्रो लगानीको क्षेत्र पनि वृहत्तर नै छ । कुनै पनि क्षेत्रमा १५.२० प्रतिशतको ऋण पनि मुस्किलले गएको छैन् ।
अमेरिकामा डुबेका बैंक र हाम्रो बैंकिङबीच कुनै सम्बन्ध नै छैन् । हाम्रो नियामक नेपाल राष्ट्र बैंक पनि निकै चनाखो छ । बैंकहरुमाथिको नियमन एकदकमै छ । त्यसकारण सिलिकन भ्याली र सिग्नेचर बैंक डुब्दैमा हाम्रो बैंकिङ क्षेत्र डराउनुपर्दैन् । यद्यपी हामी सचेत भने हुनुपर्छ ।
(नेपाल बैंकर्स संघका अध्यक्ष समेत रहेका एनएमबि बैंकका सीईओ सुनिल केसीकाे विचारकाे सम्पादित अंश)
प्रतिक्रिया दिनुहोस्