‘‘अमेरिकाको ठूलो बैंकमध्येमा पर्ने सिलिकन भ्याली बैंक टाट पल्टिएको छ । त्यसले नेपालमा पनि बैंकिङ क्षेत्रमा अब के हुन्छ ? भन्ने स्वभाविक प्रश्न उठेको छ । तर हामीले बुझ्नुपर्ने कुरा भनेको सिलिकन भ्याली बैंकको स्रोत संकलन र लगानीको शैली हो । सिलिकन भ्यालीमा एसेट्स।लायबीलीटीको मिस म्याच भएको हो ।
सिलिकन भ्यालीलाई इन्टेरेस्ट रेट (ब्याजदर) रिस्कले समस्यामा पार्यो । बैंकले सरकारी बण्डहरुमा धेरै लगानी गरेको रहेछ । बैंकले बजारबाट पैसा उठाएर न्युन ब्याजदरका सरकारी ऋणपत्रहरुमा ठूलो लगानी गरेको देखियो । त्यस्ता सरकारी बण्डहरु पनि दिर्घकालिन लगानीका रहेछन् ।
अहिले फेडेरल रिजर्भ बैंकले ब्याजदर बढाउने नीति लिएको छ । हिजो न्युन ब्याजदर हुँदा बजारबाट ठूलो रकम उठाएर न्युन ब्याजदरकै सरकारी ऋणपत्रहरु खरिद गरेको थियो । आज फेडले ब्याजदर बढाउने नीति लिएपछि मानिसहरु निक्षेप झिक्न आउन थाले । त्यसले गर्दा बैंकमा तरलताको अभाव उत्पन्न भयो ।
नेपालका सवालमा सिलिकन भ्याली एउटा पाठ हुन सक्छ । तर त्यसलाई हेरेर आत्तिनुपर्ने अवस्था भने छैन् । नेपालका बैंकहरुले कम्तिमा पनि २० प्रतिशत तरलता व्यवस्थापन गरेका हुन्छन् ।
बैंकहरुले सरकारी बण्डमा त्यति धेरै लगानी गरेका पनि छैनन् । नेपालमा सरकारी बण्डहरुमा बैंकहरुको लगानी मुस्किलले १० प्रतिशत पनि छैन् । तर ब्याजदर भने नेपालमा पनि घटाउनुपर्नेछ । फिक्स डिपोजिटको ब्याजदर १० प्रतिशत भन्दा कम बनाउनुपर्ने अवस्था देख्छु । अहिलेकै अवस्थामा नेपालका बैंकहरु ढलिहाल्ने रिस्क चाँही छैन् ।
अमेरिकामा सन २००८ मै सीटी बैंक टाट पल्टिएको थियो । त्यतिबेला सरकारले नै उद्धार गरि जोगाएको थियो । ‘टु लार्ज टु फेल’ भनेझै भएको थियो । अमेरिकामा हाम्रो जस्तो कडा नियमन छैन्, त्यहाँ संस्थाहरुलाई नै अलि बढी स्वनियमनमा जोड दिईएको हुन्छ ।
सिलिकन भ्याली बैंकको व्यवस्थान टिमले सम्पति दायित्व व्यवस्थापनमा चुकेको देखियो । उनीहरुले न्युन प्रतिफलको दिर्घकालिन सरकारी ऋणपत्रहरु खरिदलाई प्राथमिकतामा राखे । तर अहिले फेडले बैंकको ब्याजदर भारी मात्रामा वृद्धि गर्ने नीति अघि सार्यो । निक्षेपकर्ताहरु धेरै ब्याज पाइने आशमा बैंकबाट पैसा झिक्न थालेपछि बैंकलाई तरलताको अभाव भयो ।
नेपालका सवालमा त्यस्तो कुनै जोखिम देखिन्न । तर ब्याजदर बढेका कारणले गर्दा निष्क्रिय कर्जा वृद्धि भएको छ । अहिले बैंकहरुसँग ऋण दिन सक्ने २ खर्ब रुपैयाँ छ ।
तर ऋणको माग खासै बढेको देखिन्न । अहिले बैंकहरुको सीडी रेसियो नै ८६ प्रतिशतमा झरिसकेको छ । अहिले त्यो २ खर्ब ऋण प्रवाह गर्न सकियो भने बजारमा पैसा जान्थ्यो र त्यसले खराब कर्जा घटाउन सहयोग नै गर्ने थियो ।
त्यसकारण अहिले राष्ट्र बैंकले थप ब्याजदर घटाउनका लागि प्रेरित गर्नुपर्छ । नत्र चैतपछि बैंकहरुको खराब कर्जा अझै बढ्न सक्ने जोखिम छ ।’’
–नेपाल बैंकर्स संघका पुर्व अध्यक्ष भुवन दाहालसँग सिंहदरबारले गरेको कुराकानीमा आधारित ।
प्रतिक्रिया दिनुहोस्