Shikhar Insurance
National Life

नेपालले २० खर्ब ७० अर्ब ऋण तिर्न बाँकी

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन २८, आईतवार ०८:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा नेपालको सार्वजनिक ऋण २० खर्ब ७० अर्ब ५३ करोड ६३ लाख रुपैयाँ पुगेको छ । गत पुस मसान्तसम्म नेपालले ११ खर्ब २ अर्ब ५१ करोड रुपैयाँ बाह्य ऋण र ९ खर्ब ६८ अर्ब १ करोड रुपैयाँ आन्तरिक ऋण तिर्न बाँकी रहेको देखिएको हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको दोस्रो त्रैमासिक अवधिको सार्वजनिक ऋण प्रतिवेदनअनुसार चालु आवको छ महिनाको अवधिमा ५७ अर्ब २४ करोड रुपैयाँ ऋण थपिएको छ । गत असार मसान्तसम्म कूल सार्वजनिक ऋण २० खर्ब १३ अर्ब रुपैयाँ थियो । जसमध्ये बाह्य ऋण १० खर्ब ५० अर्ब २३ करोड रुपैयाँ र आन्तरिक ऋण ९ खर्ब ५७ अर्ब ६१ करोड रुपैयाँ बराबर थियो । चालु आवको दोस्रो त्रैमासिक अवधिसम्ममा ७६ अर्ब ६६ करोड ९९ लाख रुपैयाँ बाह्य ऋण थपिएको छ । आन्तरिक ऋण भने गत असारको तुलनामा पुसमा १९ अर्ब ४३ करोड रुपैयाँले घटेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपालको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा सार्वजनिक ऋणको अनुपात ४२.६७ प्रतिशत बराबर पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । अहिले कूल गार्हस्थ्य उत्पादन ४८ खर्ब ५१ अर्ब ६२ करोड रुपैयाँ बराबर छ । जिडिपी अनुपातमा आन्तरिक ऋण १९.९५ प्रतिशत र बाह्य ऋण २२.७२ प्रतिशत रहेको कार्यालयको तथ्याङ्कबाट देखिन्छ ।

चालु आवको पुस मसान्तसम्म नेपालले ४७ अर्ब २७ करोड रुपैयाँ बराबर ऋण उठाएको छ । जसमध्ये ३० अर्ब आन्तरिक र १७ अर्ब २७ करोड रुपैयाँ बाह्य ऋण उठाएको हो । यही अवधिमा ४५ अर्ब ६१ करोड रुपैयाँ बराबर साँवा ब्याज भुक्तानी गरेको छ । पुस मसान्तसम्म सरकारले भुक्तानी गरेको साँवा २८ अर्ब ३० करोड रुपैयाँ र ब्याज १७ अर्ब ३१ करोड रुपैयाँ बराबर छ ।

यो अवधिमा आन्तरिक ऋणको साँवा १९ अर्ब ५९ करोड २५ लाख र ब्याज १५ अर्ब ६५ करोड ९६ लाख रुपैयाँ गरी कूल ३५ अर्ब २५ करोड रुपैयाँ भुक्तानी भएको छ भने बाह्य ऋणको साँवा ८ अर्ब ७१ करोड र ब्याज १ अर्ब ६५ करोड रुपैयाँ गरी १० अर्ब ३६ करोड रुपैयाँ भुक्तानी भएको छ । कूल साँवा ब्याज भुक्तानीमा आन्तरिक ऋणको साँवा ब्याज भुक्तानी ७७.२८ प्रतिशत र बाह्य ऋणको साँवा ब्याज भुक्तानी २२.७२ प्रतिशत बराबर छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्