Shikhar Insurance
National Life

हिमाली भेगमा ७ महिनामा साढे १२ हजार पर्यटक आगमन, करिब २ करोड राजस्व संकलन

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन २६, शुक्रबार १५:४५
Hyundai
NCELL
NIMB

 

रसुवा । रसुवाको हिमाली क्षेत्रमा आन्तरिक पर्यटकको आगमन क्रमशः वृद्धि हुन थालेको छ । हिमाल अवलोकनका लागि बाह्य पर्यटक मात्र आगमन हुने धार्मिक एवं पर्यटकीय क्षेत्र गोसाइँकुण्डका साथै लाङटाङ्स्थित क्याङ्जेन, तामाङ सम्पदा मार्गअन्तर्गत गतलाङ र नाकथलीलगायत क्षेत्रमा पछिल्लो समय बाक्लो संख्यामा आन्तरिक पर्यटकको पनि आगमन हुन थालेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

रसुवास्थित लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयको तथ्याङ्कअनुसार गत साउनदेखि हालसम्म १२ हजार ६ सय ८० आन्तरिक पर्यटकको आगमन भइसकेको र पछिल्लो समय दैनिक २० भन्दाबढी पर्यटकको आगमन भइरहेको छ ।

हिमाली क्षेत्रमा पुगेका विदेशी पर्यटकका लागि खान र बस्न सुविधा पुर्याउने उद्देश्यका साथ विसं २०३५ देखि लाङ्टाङको क्याङ्जेनबाट सुरू गरिएको होटल व्यवसाय अहिले पैदलमार्गका विभिन्न स्थानमा सञ्चालनमा छन् ।

पहिलो पर्यटन व्यवसायी स्व रेञ्जेन दोर्जे तामाङ ज्याङ्वाले चौँरी गोठबाट होटल तथा लज शुभारम्भ गरेका स्थानीय लाङ्टाङवासीले बताए ।

गत साउनदेखि माघ मसान्तसम्म सार्क राष्ट्रका २ सय ४५ एवं अन्य देशका ४ हजार ७ सय ५ जनासमेत गरी ४ हजार ९ सय ५० जनाले निकुञ्जको हिमाली क्षेत्रमा भ्रमण गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए।

उनका अनुसार निकुञ्ज क्षेत्रमा पर्यटकको प्रवेश शुल्कका साथै अन्य गतिविधिबाट कूल १ करोड ८० लाख २० हजार ६ सय ६४ रुपैयाँ आय भएको छ ।

गत आवमा १ करोड ७५ लाख २३ हजार ६ सय १४ सङ्कलन गरेको निकुञ्जले यस वर्षको सात महिनाकै अवधिमा उल्लेखनीय राजस्व वृद्धि गर्न सफल भएको निकुञ्जका वन प्राविधिक सुनिल राउतले जानकारी दिए ।

विसं २०७२ को भूकम्पपछि फाट्टफुट्ट आगमन सुरू भएको आन्तरिक पर्यटकको संख्या हिजोआज निकै वृद्धि भएको र यो हिसाबले बढ्ने हो भने आगामी दिनमा वार्षिक २० हजार भन्दाबढीको आगमन हुने पर्यटन व्यवसायीले अपेक्षा गरेका छन् ।

पर्यटकका लागि गुणस्तरीय बासस्थान मिलाउन उत्तरी रसुवाका विभिन्न स्थानमा साना ठूला तीन सयभन्दा बढी पर्यटकीय होटल सञ्चालन भइरहेको होटल व्यवसायी संघका जिल्ला अध्यक्ष रामशरण गजुरेल (निसान) ले बताए ।

यस्तै आकाश मार्गबाट हिमाली सम्पदाको अवलोकन र पवित्र तीर्थ गोसाइँकुण्डको स्नानका लागि हेलिकोप्टर प्रयोग गर्ने यात्रुको संख्यासमेत क्रमशः बढ्न थालेको छ । हेलिकोप्टरको उडान भर्ने प्रायः सबै एयरलाइन्सले सेवा दिने गरेका कारण पवित्र तीर्थमा ज्येष्ठ नागरिकलाई लगेर स्नान र पूजाआजा गराउन सहज भएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।

हेलिकोप्टर कम्पनीले उडान भरेबापत कम्पनीको आयवृद्धि हुनाका साथै राज्यकोषमा अवतरण शुल्कबापत राजस्वसमेत दाखिला हुँदै आएको छ ।

विभिन्न नौवटा यात्रुवाहक हेलिकोप्टर कम्पनीले काठमाडौं–गोसाइँकुण्डको उडान–अवतरण शुल्कबापत ९ लाख ६७ हजार ६ सय ५० गत वर्ष राज्यकोषमा दाखिला गरिसकेको निकुञ्ज कार्यालयले जनाएको छ ।

गत साउनदेखि पुस मसान्तसम्मको अवतरण शुल्कबापत पाँच वटा कम्पनीबाट २ लाख ५२ हजार रुपैयाँ राजस्व दाखिला भइसकेको र राजस्व दाखिला नगर्ने कम्पनीलाई भने ताकेता गरिहेको जनाइएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्