उदयपुर । जिल्लाको धार्मिक तथा पर्यटकीय पहाडी क्षेत्र रौतामा स्थानीय जातजातिहरुसँग सम्बन्धित खानाका परिकारप्रति आकर्षण बढ्दै गएको छ । एक वर्षदेखि रौता क्षेत्रमा आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएसँगै रौताका मौलिक खानाप्रति पनि आकर्षण बढेको हो ।
रौता घरबास (होमस्टे)का सञ्चालक घमण्डबहादुर मगरका अनुसार रौता क्षेत्रका होमस्टेहरुमा स्थानीय जातजातिका खानाका परिकारहरुमा पर्यटकले रुची देखाएका छन् । गत वर्षको माघ महिनादेखि यस वर्षको फागुन दोस्रो हप्तासम्ममा झन्डै ५० हजार पर्यटकले रौताको भ्रमण गरेको मगरले बताए ।
यीमध्ये झन्डै १५ हजारभन्दा बढी पर्यटक रौतामा स्थानीय खाना खान र बास बस्नका लागि नै आउने गरेको मगरको भनाइ छ । रौता क्षेत्रमा भ्रमण गर्न आउनेले प्रायः स्थानीय खानाहरु कोदो तथा फापरको ढिँडो, फापरको रोटी, कोदाको तुङ्बा, मकैको भात, सिस्नो, सिन्कीको अचार, गुन्दु्रकका परिकारहरु बढी रुचाउने गरेका छन् । स्थानीय खानाकै लागि उनीहरु होमस्टेमा बास बस्न रुचाउने गरेको अर्का होमस्टे सञ्चालक दमनबहादुर राई बताउँछन् ।
उनी भन्छन्, “सात वर्षदेखि निरन्तर रौतामा होमस्टे सञ्चालन गर्दै आएको छु, विगतका वर्षमा वर्षभरिमा प्रायः एक हजार पर्यटक बास बस्दैनथे तर गत वर्षको मङ्सिर यता झन्डै ४ हजारभन्दा बढी पर्यटक मेरो होमस्टेमा बास बसिसकेका छन्, अधिकांश पर्यटकले नितान्त स्थानीय खाना मन पराउँछन् ।” पर्यटकले स्थानीय खाना मन पराउन थालेपछि आफूले दैनिक फापर र कोदाको ढिँडो, रोटी, मकैको भात, कोदाको तुङ्बा र सिन्कीको अचार, गुन्द्रुक होमस्टेमा पकाउने गरेको राई बताउँछन् ।
यस्तै, होटल रौता पर्यटन हाउसका सञ्चालक शिव अधिकारीले पनि एक वर्षदेखि यता रौतामा आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएको बताए। “रौता क्षेत्रमा भ्रमण गर्न र खान बस्न आउनेको संख्या वृद्धि भएको छ, रौताको चिसो पानीसँगै स्थानीय परिकारको खाना खान पन पराउने सङ्ख्या बढ्दै गएको छ । त्यसैले गर्दा पर्यटन आगमनमा वृद्धि भइरहेको छ ।”
जाँडमा प्रायः कोदाको तुङ्बा, भात खानामा मकै फापर र कोदाको ढिँडो तथा मकैको भात र सिस्नोसहित लोकल कुखुरा र परेवाहरु मासुहरु खान रुचाउनेको संख्यामा वृद्धि हुँदै गएको अधिकारीले बताए । प्रायः पूर्वको तराई झापा, विराटनगर, सुनसरीसहित अन्य क्षेत्रबाट बास बस्नकै लागि आउने पर्यटकको संख्यामा वृद्धि हुँदै गइरहेको छ ।
जिल्ला सदरमुकाम गाईघाट बजारका एक समाजसेवी प्रेमकुमार थापा भन्छन्, “वर्षमा चार पटकदेखि ६ पटकसम्म आफू रौतामा बास बस्नकै लागि जाने गरेको छु ।” रौताको चिसो पानी र फापरको ढिँडो, सिन्कीको अचार, मकैको भात र सिस्नोजस्ता खान खानका लागि पनि आफू रौता क्षेत्रमा जाने गरेको उनको भनाइ छ ।
पछिल्ला वर्षदेखि रौता क्षेत्रमा स्थानीय अन्य जातजातिहरुको खानाको प्रकारमा पनि वृद्धि गरिएको रौता सिजाली होमस्टेका सञ्चालिका राधा पुलामी मगर बताउँछिन् । मगर भन्छिन्, “नेवार जातिहरुको छोइला, कचिला तथा दनुवार जातिहरुको हण्डी थारू जातिहरुको लोकप्रिय खाना घुँगीहरु पनि होमस्टेहरुमा उत्पादन गरेर बिक्री गर्न थालिएको छ ।”
स्थानीय जातजातिहरुको खानाको परिकारमा वृद्धि गर्न थालेपछि रौता घुम्न र बस्न जाने पर्यटकहरुको संख्या दिनानुदिन वृद्धि भइरहेका छन् । पर्यटकको वृद्धिसँगै रौता क्षेत्रमा होमस्टेको आर्थिक कारोबारमा समेत वृद्धि भएको छ । रौता पञ्चकन्या देवीको दर्शन गर्नका साथै रौता क्षेत्रबाट उत्तरी क्षेत्रतिर एकैपटक देख्न सकिने सातवटा हिमशृङ्खालहरु र रौताबाट दक्षिणतर्फका सप्तकोसी, सप्तरी, सिरहा, जनकपुरसहित पूर्वका इटहरी सुनसरीको धरान दुहबी, विराटनगरसहितका दृृश्यहरु हेर्नका लागि पनि रौता क्षेत्रमा पर्यटक आउने गरेका छन् ।
रौतामाई गाउँपालिकाले रौता क्षेत्रमा आउने पर्यटकका लागि सवारी पार्किङ, विद्युत् विस्तारका साथै सडक व्यवस्थापन गरेपछि उदयपुरको रौता क्षेत्र अहिले पर्यटको आकर्षणको केन्द्र बन्दै गइरहेको छ । रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्रकुमार मगरका अनुसार जिल्लाको त्रियुगा नगरपालिकाको बेलदोभान क्षेत्रबाट रौतासम्म १७ किलोमिटर केबुलकार जडान र रौतामा हेलिप्याडसहित प्रहरी चौकीको कामसमेत व्यवस्थापन गर्न लागिएको छ । आगामी दिनमा रौताको आन्तरिक पर्यटन अझ सुदृढ बनाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने रौतामाई गाउँपालिकाका अध्यक्ष मगरले बताए ।
समुद्री सतहदेखि दुई हजार मिटरको उचाइको उदयपुर जिल्लाको मध्य पहाडी क्षेत्रमा अवस्थित उदयपुरको रौता पोखरी क्षेत्र धार्मिक तथा पर्यटनको हिसाबले पनि जिल्लाकै महत्वपूर्ण स्थलका रुपमा रहेको छ । उदयपुरको रौताबाट एकै पटक पूर्वी पहाडका सात जिल्लाहरु ओखलढुङ्गा, सोलु, खोटाङ, भोजपुर, सङ्खुवासभा र धनकुट्टा र सिन्धुली अवलोकन गर्न सकिन्छ भने उत्तरी क्षेत्रका सातवटा हिमशृङ्खलासहित दक्षिण तराईका पाँच जिल्ला र पूर्वको विराटनगर, सुनसरी, सप्तकोसीसहितका क्षेत्रहरु अवलोकन गर्न सकिने रौतामाई गाउँपालिकाका उपाध्यक्ष भूपेन्द्र थापा क्षेत्री बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्