Shikhar Insurance
National Life

‘पौडेलको उम्मेदवारीमा १० दलको समर्थन हो, उहाँले निर्वाचन जितिसक्नुभयो’–प्रम दाहाल

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन १८, बिहीबार १६:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व सभामुख रामचन्द्र पौडेलको उम्मेदवारीले राष्ट्रिय एकताको सन्देश दिएको बताएका छन् । पौडेललाई आठ दलको समर्थनमा राष्ट्रपतिको उम्मेदवार बनाएपछि राष्ट्रिय एकताको सन्देश प्रवाह भएको उनले बताएका हुन् ।

राष्ट्रपतिको निर्वाचन यही फागुन २५ मा हुँदैछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन समितिले आठ राजनीतिक दलका प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यलाई आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा उनले गत पुस २६ को प्रतिनिधिसभा बैठकमा संसद् विघटन ठीक थियो भन्ने अभिमत जाहेर भएपछि आफूहरूले नयाँ विकल्प खोजेको उल्लेख गरे ।

प्रधानमन्त्री दाहालले गत पुस २६ मा बसेको प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीद्वारा व्यक्त विचारले आफूहरूलाई सोच्न बाध्य बनाएको बताए ।
“अघिल्लो पटक संविधानविपरीत संसद् विघटन भएपछि हामी सबै संविधान र लोकतन्त्रको पक्षमा उभियौँ । संसद् पुनःसस्थापना गर्न सडकसम्म गयौँ । हाम्रो गठबन्धन लोकतन्त्र र संविधानको रक्षाका निम्ति थियो, विकास र समृद्धिको जनचाहना सम्बोधन गर्न थियो । तर, बिचमा हामी अलिकति अलमलियौँ, अब ठीक ठाउँमा आएका छौँ । गठबन्धन सुदृढ बनाएर अघि बढ्छौँ ।”

राष्ट्रपति पदका उम्मेदवार पौडेललाई आठ दलको मात्र होइन १० दलको समर्थन रहेको बताउँदै उनले स्वतन्त्र सांसदहरूको पनि समर्थन रहेको स्पष्ट पारे ।

“उहाँले निर्वाचन जितिसक्नुभएको छ । यो लोकतन्त्र र संविधानको हितमा छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “नेपाली राजनीति उतारचढावपूर्ण परिस्थितिमा छ । हामी अहिले पनि राजनीतिक सङ्कट र चुनौतीकै बीचमा छौँ ।”

प्रधानमन्त्री दाहालले भन्नुभयो, “पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने क्रममा मलाइ अभूतपूर्व मत प्राप्त भयो, त्यो आफैमा राष्ट्रिय सहमतिको आधार थियो । बालुवाटारको पछिल्लो वार्तामा पनि मैले निकै गम्भीरताका साथ ओलीजीलाई भनेको थिएँ, देश अप्ठ्यारो परिस्थितिमा छ । तपाईं र म मिलेर कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा प्रस्ताव गरौँ, मिलेर राष्ट्रिय सहमतिको वातावरण बनाउँ । तर, उहाँले मान्नुभएन । त्यसपछि हामी अधिकतम सहमतिका साथ आजको परिस्थितिमा छौँ ।”

उनले आफ्ना लागि प्रधानमन्त्री पद ठूलो कुरा नभएको, संविधान र लोकतन्त्रको रक्षा ठूलो कुरा भएको बताए।

“हामीसँग विगतका तीता अनुभव छन् । राष्ट्रपति संस्था संविधान र लोकतन्त्रको रक्षक हो, राष्ट्रको अभिभावक हो । तर, विगतमा त्यस्तो भएन”, प्रधानमन्त्री दाहालले भने, “यसपटक हामीले संविधानको महत्व र अन्तर्य बुझेको, लोकतन्त्रका निम्ति लामो सङ्घर्ष गरेको निष्ठावान नेता पौडेललाई उम्मेदवार बनाएका छौँ । उहाँले संविधान र लोकतन्त्रको रक्षाका निम्ति अभिभावकको भूमिका खेल्नुहुनेछ भन्ने हाम्रो विश्वास छ ।”

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्