काठमाडौं । नेपाल लघुवित्त वित्तीय संस्था बैंकर्स संघले कर्मचारीहरुमाथि हमला गर्ने राजनीतिक दलका कार्यकर्ता विरुद्ध कानुनी उपचार खोज्ने भएका छन् । जसकालागि प्रेप विज्ञाप्ती जारी गर्दे संघले राष्ट्र बैंक लगायत सम्बन्धी निकायको ध्यानाकर्षण गराएको हो ।
जाजरकोटमा एनआइसी एशिया लघुवित्तको फिल्डमा गएका कर्मचारीलाई नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समुहले कालोमोसो दलेपछि सोको विरोध लघुवित्त बैंकर्स संघले गरेको हो ।
फागुन १७ गते बुधबार (आज) बिहान जाजरकोटको भेरी नगरपालिकामा किस्ता उठाउन गएका एनआइसी एशिया लघुवित्तका कर्मचारी गोपालप्रसाद उपाध्यायलाई विप्लवका कार्यकर्ताले कालोमोसो दलेका थिए । लघुवित्तले चर्को ब्याज असुलेको, पटक–पटक घरमा ताला लगाउने धम्की दिएको र घरबारविहिन बनाएको भन्दै किस्ता उठाउन आएका लघुवित्तका कर्मचारीलाई कालोमोसो दलिएको पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यसरी सार्वजनिक रुपमा कर्मचारीलाई कालोमोसो दल्न थालेपछि त्यसको कानुनी उपचार खोज्ने नेपाल लघुवित्त वित्तीय संस्था बैंकर्स संघले उल्लेख गरेको छ । विप्लव समुहले गरेको कार्यको विरोध गर्दै संघद्वारा जारी पे्रश विज्ञप्ती जारीमा भनिएको छ–‘मिति २०७९ फाल्गुण १६ गते एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाको जाजरकोट शाखामा कार्यरत कर्मचारी गोपाल प्रसाद उपाध्यायलाई अज्ञात समुहले कुटपिट सहित कालो मोसो दली अपमानजनक व्यवहार गर्दै समुहबाट संकलन भएको रकम समेत लुटेर फरार भएको घटना प्रति नेपाल लघुवित्त बैंकर्स संघ घोर आपत्ती प्रकट गर्दछ र यस कार्यको निन्दा तथा भर्त्सना गर्दछ ।’
लघुवित्त वित्तीय संस्थाहरुले विगत ३० वर्ष देखि ग्रामिण क्षेत्रमा गै विनाधितो कर्जा उपलब्ध गराई ग्रामिण विपन्न महिलाहरुको जीवनस्तर माथि उकास्न निरन्तर लागि रहेको छ। यहि क्रममा जाजरकोट जस्तो अति विकट क्षेत्रमा गै गरिवी न्यूनिकरण र महिला शक्तिकरणको लागि अहोरात्र खटिने लघुवित्तका कर्मचारी माथी भएको यो कारवाही अमानविय र अराजकताको पराकाष्ठ हो यसको जति नै निन्दा गरे पनि कमै हुन्छ नै, यसले राज्यको सुरक्षा प्रणालीमा पनि प्रश्न उठेको संघले उल्लेख गरेको छ ।
वित्तीय कारोबार अत्यावश्यक सेवा हो । तर यो सेवा शान्ती सुरक्षा तथा अमनचैन बिना प्रदान गर्न सकिदैन । त्यसमा पनि घरदैलोमा वित्तीय सेवा प्रदान गर्न फिल्डमा खटिई कार्य गर्नु पर्ने लघुवित्त वित्तीय संस्थाहरुका कर्मचारीहरुको लागि त शान्ती सुरक्षाको झनै आवश्यक पर्दछ। त्यसैले, बिना बाधा व्यवधान, बिना रोकतोक सुरक्षित र शान्तीपूर्ण तवरबाट काम गर्न सुरक्षित कार्य वातावरणको सुनिश्चतता गर्न नेपाल सरकार र तथा नियामक निकाय नेपाल राष्ट्र बैंकसंग अपिल गरेको छ ।
विज्ञाप्तीमा भनिएको छ, –‘सम्पूर्ण लघुवित्तका कर्मचारी साथीहरु तथा अन्य बैंक वित्तीय संस्थाका कर्मचारीहरु यो विषम परिस्थितीमा सजग, सचेत र संयमतापूर्वक आफ्ना ग्राहक सदस्य, अभिभावक र स्थानीय निकायसंग समन्वय गरी कार्य गर्न पनि अपिल गर्दछौ । हाल देशमा अराजकताको अवस्था सिर्जना हुदै गएको छ यस्तो परिस्थतीमा कत्ति पनि विचलित नभै आफ्नो सुरक्षाको ख्याल गर्न पनि लघुवित्तकर्मी सबै कर्मचारी साथीहरुलाई अनुरोध गर्दछौ ।’
यस्ता गतिविधिबाट कहि कसैका लाभ नभै यसले सम्पूर्ण जनमानसमा नकारात्मक प्रभाव पार्ने र देशमा अराजकतालाई बढवा दिने, आर्थिक अस्थिरता निम्त्याउने र देशको अर्थतन्त्र नै दुर्घटनाग्रस्त हुने सम्भावना हुदा यस्ता गतिविधि तत्काल बन्द गरी शान्तीपूर्ण काम गर्ने वातावरण सिर्जना गर्न सम्बन्धीत सबै पक्षसंग संघले अपिल गरेको छ ।
प्रतिक्रिया दिनुहोस्