काठमाडौं । नेपालको ऐतिहासिक एवं धार्मिक महत्व बोकेको ‘चन्द्रागिरि डाँडा’ पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख रोजाइ बन्दै गएको छ ।
मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट दक्षिण–पश्चिम क्षेत्रमा अवस्थित रमणीयस्थल चन्द्रागिरि डाँडाबाट काठमाडौँ उपत्यकाका साथै धादिङ, नुवाकोट, मकवानपुरलगायतका स्थलको मनोरम दृश्य देखिने र यहाँ विकास भएको एकीकृत पर्यटकीय संरचनामा रमाउन पाउने भएपछि यो डाँडा स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख रोजाइ बनेको हो ।
स्वदेशी तथा विदेशी पर्यटकहरू चन्द्रागिरि डाँडाबाट देखिने हिमाल र काठमाडौँ उपत्यकाको मनोरम दृश्यमा रमाउन, आफ्नो दैनिकीबाट विश्राम लिई आराम गर्न, सभा–समारोह र बैठक आयोजना गर्न, विदेश तथा उपत्यका बाहिरबाट आएका पाहुनालाई भ्रमण गराउन त्यहाँ जाने गरेका छन् । साथै धार्मिक तथा ऐतिहासिक चासो राख्ने व्यक्तिहरू पनि दर्शन तथा अध्ययनका लागि चन्द्रागिरि पुग्ने गरेका छन् ।
शाहवंशीय राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको अभियानमा यही चन्द्रागिरि डाँडाबाट अवलोकन गरी काठमाडौँ उपत्यका (तत्कालीन नेपाल खाल्डो) को एकीकरणको सोच बनाएका थिए भन्ने ऐतिहासिक तथ्य नेपाल राज्य निर्माणको इतिहासमा भेटिन्छ । त्यसैले यही डाँडामा पृथ्वीनारायण शाहको सालिक पनि निर्माण गरिएको छ । उक्त इतिहाससँग जोडिएको सो सालिक त्यहाँ पुग्ने जो–कोहीको पनि मुख्य आकर्षण बन्ने गरेको छ र उनीहरू यो सालिकसँगै तस्बिर लिने गरेका छन् ।
त्यसैगरी उक्त स्थानमा भालेश्वर महादेवको मन्दिर रहेको छ । यहाँ साक्षात् महादेव उत्पत्ति भएको किंवदन्ती रहेकाले पनि यसको धार्मिक महत्वका कारण धेरै नेपाली तथा भारतीय नागरिक यहाँ पुग्ने गरेका छन् । यसरी आन्तरिक तथा बाह्य पर्यटकका अतिरिक्त यहाँको ऐतिहासिक र धार्मिक अध्ययन गर्नेहरूको पनि यो डाँडा आकर्षक गन्तव्य बन्न पुगेको देखिएको छ ।
विसं २०७३ पुस १ देखि चन्द्रागिरि हिल्स लिमिटेडले व्यावसायिकरूपमा केबलकार सञ्चालनमा ल्याएसँगै केबलकारमार्फत चन्द्रागिरि डाँडामा उक्लिने यात्रुको सङ्ख्यामा वृद्धि भएको हो । यस्तै पर्यटकहरू पैदलमार्गबाट समेत चन्द्रागिरि डाँडा जाने गरेका छन् । यो विगत लामो समयदेखिको ‘ट्रेकिङ रुट’ हो र अहिले पनि यसको महत्व घटेको छैन ।
चन्द्रागिरि हिल्स लिमिटेडका फाइनान्स प्रमुख विनायक पोखरेल बिहान ८ देखि बेलुका ८ बजेसम्म सञ्चालन हुने केबलकारमार्फत गएको पुस महिनामा मात्र ७१ हजार १ सय ४५ जनाले केबलकारमार्फत चन्द्रागिरिको भ्रमण गरेको बताउँछन् । केबलकारमार्फत चन्द्रागिरि डाँडामा जान नेपाली नागरिकका लागि ७ सय ९९ रुपैयाँ, नेपाली विद्यार्थीका लागि ६ सय रुपैयाँ र विदेशी नागरिकका लागि २२ अमेरिकी डलर शुल्क लाग्ने गरेको छ ।
चन्द्रागिरि डाँडामा अहिले दैनिक २ हजार व्यक्ति केबलकारबाट जाने गरेका छन् । बिदाका दिन ४ हजार ५ सयदेखि ५ हजार व्यक्ति चन्द्रागिरि डाँडा पुग्ने गरेका छन् । चन्द्रागिरि डाँडामा भालेश्वर मन्दिर, पृथ्वीनारायण शाहको सालिक, जिपलाइन, बालउद्यान, घोडाचढी, चन्द्रागिरि हिल्स रिसोर्टलगायत हेर्नलायक र घुम्नलायक ठाउँहरू छन् ।
चन्द्रागिरि हिल्समा आर्थिक वर्ष २०७८/७९ मा ५ लाख ७ हजार ४ सय ११ नेपाली र ६३ हजार ३ सय ४४ सार्कसहित विदेशी मुलुकका पर्यटकले भ्रमण गरेको हिल्सका फाइनान्स प्रमुख पोखरेल बताउँछन् ।
चन्द्रगिरि विकासका लागि जिपलाइन सञ्चालन
चन्द्रागिरि डाँडामा जिपलाइन सञ्चालनमा आएसँगै स्वदेशी तथा विदेशी पर्यटक बढ्न थालेका छन् । चन्द्रागिरि हिल्स प्रालिले गत वर्षदेखि जिपलाइन सञ्चालनमा ल्याएको थियो । जिपलाइन सञ्चालनमा ल्याएसँगै चन्द्रागिरीमा जिपलाइनको मज्जा लिने पर्यटकसमेत बढेका हुन् ।
७० लाख रुपैयाँ लगानीमा निर्माण गरिएको जिपलाइनको लम्बाइ १ सय मिटर छ भने अर्को २ सय मिटर लम्बाइ भएको जिपलाइन समेत सञ्चालनमा आइसकेको छ । चन्द्रागिरि हिल्स प्रालिका महाप्रबन्धक सञ्जीव थापा स्वदेशी तथा विदेशी पर्यटकको गन्तव्यस्थलका रूपमा चन्द्रागिरिलाई विकास गर्नका लागि जिपलाइन सञ्चालनमा ल्याएको बताउँछन् ।
भालेश्वर मन्दिर नजिकदेखि बाल खेल बगैँचासम्म एक सय मिटर लामो निर्माण गरिएको उक्त जिपलाइनको मज्जा लिनका लागि ४ सय रुपैयाँ लाग्नेछ भने २ सय मिटर लामो जिपलाईनको मज्जा लिन ८ सय रुपैयाँ लाग्नेछ । “आन्तरिक तथा बाह्य पर्यटनलाई प्रवद्र्धन गर्ने नीतिअनुसार चन्द्रागिरिमा विभिन्न भौतिक पूर्वाधार निर्माण गरेका हौँ”, महाप्रबन्धक थापा भन्छन् ।
अष्ट्रियाली ‘डोब्बलमेयर’ कम्पनीले निर्माण गरेको चन्द्रागिरि केबलकारको लम्बाइ कुल दुई किलोमिटर चार सय ६० मिटर छ । यसका मार्गमा ११ टावर छन् र यात्रु बोक्ने ३८ र सामान बोक्ने तीन गरी कुल ४१ गोण्डला छन् । चन्द्रागिरि डाँडामा पुग्न थानकोट स्टेशनबाट नौदेखि १४ मिनेट लाग्ने गर्दछ ।
केबलकारको एक डिब्बामा आठ व्यक्ति ओहोरदोहोर गर्न मिल्छ । गत वर्षहरूमा कोरोनाका कारण आन्तरिक तथा बाह्य पर्यटक घटे पनि यस वर्ष भने पर्यटक आवागमनको सङ्ख्यामा वृद्धि भएको चन्द्रागिरि हिल्सले जनाएको छ ।
चन्द्रागिरिमा रिसोर्ट
चन्द्रागिरि हिल्स प्रालिले चन्द्रागिरिमा रिसोर्टसमेत सञ्चालनमा ल्याएको छ । अहिले काठमाडौँको व्यस्त दैनिकबाट केही समय आराम लिन र हप्ताभरको थकान मेट्न शुक्रबार या शनिबार आन्तरिक तथा बाह्य पर्यटक रिसोर्ट पुग्ने गरेका छन् । कुनै राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका कार्यक्रमहरूका सभा, सम्मेलन या सेमिनार आयोजनाका लागि पनि यहाँ हलको व्यवस्था छ । नेपाल सरकार एवं गैरसरकारी सङ्घसंस्था एवं कम्पनीहरूले यहाँ कार्यक्रम सञ्चालन गर्ने गरेका छन् ।
राजधानी काठमाडौँबाट सबैभन्दा नजिकको पर्यटकीय यस गन्तव्य नेपाल सरकारको आमन्त्रणमा एवं आफैँ नेपाल आउने विभिन्न विदेशी विशिष्ठ पाहुनाहरूको पनि आकर्षण बन्ने गरेको छ । प्रालिले यहाँ एकीकृत पर्यटकीय संरचना निर्माण गरी पर्यटन गन्तव्यको विकास गरेकाले यसको अध्ययनका लागि पर्यटन क्षेत्रका व्यक्तिहरू पुग्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्