Shikhar Insurance
National Life

२०७८ मै सम्पन्न हुनुपर्ने खानेपानी आयोजनाको काम ५०% मात्र, ढिलासुस्तीले स्थानीय प्रभावित

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन १२, शुक्रबार १४:३४
Hyundai
NCELL
NIMB

म्याग्दी । सुरु भएको ६ वर्षपछि मालिका गाउँपालिका-६ को दरबाङ खानेपानी तथा सरसफाइ आयोजना निर्माणले गति लिएको छ । विसं २०७४ फागुनदेखि सुरु भएको दरबाङ खानेपानी आयोजना निर्माणको कामले पछिल्लो समय गति लिएको हो । उपभोक्ता, उपभोक्ता समितिका पदाधिकारी, जनप्रतिनिधि र सम्बद्ध कार्यालयले चासो देखाएपछि केही महिनायता आयोजनाको अधुरा संरचना निर्माण धमाधम भएको जनाइएको छ ।

विसं २०७४ फागुनदेखि थालिएको दरबाङ खानेपानी आयोजनाको अहिलेसम्म ५० प्रतिशत काम सकिएको छ । प्रदेश सरकारको रु दुई करोड ९९ लाख ४० हजार नौ सय ३६ लागतमा उपभोक्ता समितिमार्फत कार्यान्वयन गरिएको आयोजनाको आर्थिक वर्ष २०७२÷७३ मा सर्वेक्षण गरिएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

खानेपानी आयोजना निर्माणमा भएको ढिलासुस्तीले स्थानीय प्रभावित भएका छन् । तीव्ररूपमा बस्ती र बजार विस्तार भइरहेको दरबाङमा पिउने तथा सरसफाइका लागि पानीको समस्या छ । खानेपानी उपभोक्ता समितिका सचिव खिमबहादुर पुनले मुख्य लाइन निर्माण सकेर ट्याङ्कीसम्म पानी खसालिएको र शाखा लाइन निर्माणको काम थालिएको बताए । दरबाङका बासिन्दाले आयोजनाको शाखा र मुख्य पाइप लाइन खन्ने काममा श्रमदान गरिरहेका छन् ।

तीव्ररूपमा बस्ती विकास भइरहेको दरबाङमा खानेपानी अभावको समस्या हट्ने अपेक्षासहित श्रमदानमा जुटेको स्थानीय गोपाल गौतमले बताए । विसं २०७८ मा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना सङ्घीयता स्थापनासँगै खानेपानी कार्यालयको संरचना परिवर्तन, विश्वव्यापीरूपमा फैलिएको कोरोना महामारी, २०७७ मा आयोजना निर्माण क्षेत्रको जङ्गलमा आगलागी हुँदा र वर्षात्को समयमा दरबाङ–दिच्याम सडकबाट खसेको पहिराले पाइप बगाउँदा निर्माणमा ढिलाइ भएको उपभोक्ता समितिका अध्यक्ष ओमप्रकाश शेरचनले बताए।

उनका अनुसार उक्त आगलागीमा ९० एमएमको तीन सय मिटर, ६३ एमएमको एक हजार मिटर, ५० एमएमको नौ सय ५० मिटर पाइप जलेर नष्ट भएको थियो । चालू आवमा सम्पन्न गर्ने लक्ष्य राखेर आयोजना निर्माणलाई तीव्रता दिइएको उनले बताए । “विविध कारण केही समय आयोजना निर्माणको काम रोकिएको हो”, उनले भने, “सञ्चालन भएको आयोजना निर्माणलाई यो आवभित्र सम्पन्न गर्नेगरी तीव्रता दिएका छौँ ।”

गाउँपालिकाको वडा नं ७ स्थित छिपछिपे, ढुनोट र वडा नं ६ गोजाखोला मुख्य मुहान तथा तेलचाप्रे, धाढखर्कमाथिको सहायक मुहानबाट पानी ल्याएर दरबाङ बजारमाथि निर्माण भएको १०० घनमिटर क्षमताको रिजर्भ ट्याङ्कीमा खसालिएको छ ।

उक्त खानेपानी आयोजनाबाट प्रतिदिन ९९ हजार तीन सय ८५ लिटर पानी आपूर्ति हुनेछ । आयोजनाबाट २ सय ९६ घरधुरीका १ हजार ५ सय ४१ जनसंख्या लाभान्वित हुनेछन् । अहिलेसम्म सबै मुहानमा ट्याङ्की, सङ्कलन र रिजर्भ ट्याङ्की निर्माण भएका छन् ।

मुहानबाट ६.८० किमी मुख्य पाइप लाइन बिछ्याउने काम सकेर ट्याङ्कीमा पानी खसालिएको छ । ३.६८ किमी शाखा लाइनको पाइप बिछ्याउने र धारामा मिटर जडानको काम बाँकी छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका इञ्जीनियर राजेश उलकका अनुसार कार्यालयले आयोजना निर्माणका लागि पाइपसहित आवश्यक सामग्री खरिद गरी आयोजना निर्माणस्थलसम्म ढुवानी गरिसकेको छ ।

मालिका-६ का वडाध्यक्ष पथबहादुर रोकाले उपभोक्ता समिति र सम्बद्ध कार्यालयसँग छलफल र समन्वय गरेर निर्माणलाई गति दिइएको बताए । “धेरै पटकको छलफल र समन्वयमार्फत दरबाङको प्रमुख खानेपानीको समस्या समाधानका लागि आयोजना निर्माणले गति लिने वातावरण बनेको हो”, उनले भने, “चालू आवभित्रै दरबाङवासीको घरघरमा खानेपानी वितरण गर्ने लक्ष्यसहित तीव्रताका साथ काम भइरहेको छ ।”

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्