काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग ब्याज असुली नगर्न ग्लोबल आइएमई बैंकलाई अदालतले आदेश दिएको छ । झापा जिल्ला अदालतले ग्लोबल आइएमई बैंकका नाममा आन्तरकालिन आदेश जारी गर्दै २०७९ चैत मसान्तसम्म ब्याजको किस्ता अुसली नगर्नु भनि आदेश दिएको हो ।
दुर्गा प्रसाईँले सञ्चालन गरेको झापा दमकको बी एण्ड सी मेडिकल कलेज एण्ड रिसर्च सेन्टर प्रालीका तर्फबाट डा. निराजन प्रसाईले झापा जिल्ला अदालतमा मुद्धा दायर गरि तत्काल ऋणको ब्याज असुली नगर्न अन्तरकालिन आदेश माग गरेका थिए । डा. प्रसाईको माग बमोजिम नै झापा जिल्ला अदालतका न्यायधिश इश्वरमणी ओझाको एकल सुनुवाईले पुस २८ गते अन्तरकालिन अन्तरिम आदेश जारी गरेको थियो ।
सो आदेशमा माघ ९ गते सुनुवाईका लागि दुबै पक्षलाई डाक्ने भनिएको थियो । माघ ९ गते दुबै पक्षको बहस सुनिसकेपछि न्यायधिश अशोककुमार बस्नेतको एकल इजलासले पुस २८ गतको अन्तरकालिन आदेशलाई २०७९ चैत मसान्तसम्मका लागि निरन्तरता दिएको हो ।
‘…सुबिधा सन्तुलनको दृष्टिकोणले निश्चित समयसम्मलाई अन्तरकालिन आदेशलाई जारी गर्न उपयुक्त देखियो । अतः २०७९ चैत मसान्तसम्म वा लिखित जवाफ पेश गरि पूर्ण सुनुवाई हुँदा ठहरे बमोजिम हुने गरि वा निवेदकले पेशी स्थगित गरेमा स्वतः निश्कृय हुने गरि निवेदक बी एण्ड सी मेडिकल कलेज एण्ड रिसर्च सेन्टर प्रालीलाई प्रदान गरिएको सह वित्तिय कर्जाको ब्याज रकम नेपाल राष्ट्र बैंकको सहमति लिई पुँजीकरण गर्नु’ अदालतको अन्तरकालिन आदेशमा लेखिएको छ ।
अदालतले ऋणीलाई चैत मसान्तसम्म सो ब्याजको बिषयलाई लिएर कालो सूचिमा नराख्नु भन्ने व्यहोरा समेत उल्लेख गरेको छ । ग्लोबल आइएमई बैंकले ६ जनवरी २०२३ का दिन पत्र लेखेर ९ करोड ९५ लाख रुपैयाँ ब्याजको किस्ता बुझाउन भनेको थियो । त्यसका विरुद्ध बी एण्ड सीले जिल्ला अदालत झापामा मुद्धा हालेको हो ।
अदालतले ग्लोबल आइएमई बैंकको नेतृत्वमा कन्सोटियम मार्फत बी एण्ड सीका नाममा ऋण दिएका कुनै पनि बैंक तथा वित्तिय संस्थालाई ब्याज असुली नगर्न भनेको छ ।
प्रसाईँले झापाको काकडभिट्टामा मान्छे भेला पारेर बैंकको ऋण नतिर्न आव्हान गरेका थिए । उनले बैंकहरुको गेटमै बसेर कर्मचारीहरुलाई कालोमोसो दल्न भनेका थिए ।
प्रसाईको उत्तेजक अभिव्यक्तिपछि राजधानी काठमाडौंको माइतीघरमा बैंक विरुद्ध प्रदर्शन भएको थियो ।
कुन बैंकबाट कति लिएका छन् ऋण ?
प्रसाईको बी एण्ड सी मेडिकल कलेज एण्ड रिसर्च सेन्टर प्रालीले तत्कालीन जनता बैंक(ग्लोलब आइएमई)बाट एक अर्ब रुपैयाँ ऋण लिएका थिए । जनता बैंक(ग्लोबल आइएमई)को नेतृत्वमा अस्पताललाई नबिल बैंकले ७६ करोड, एनसिसी(कुमारी बैंक)ले १ अर्ब, राष्ट्रिय वाणिज्यले ७० करोड, मेगा(नेपाल इन्भेष्टमेन्ट मेगा) बैंकले ६५ करोड ऋण दिएका थिए । त्यस बाहेक लुम्बिनी विकास बैंकले १५ करोड ३० लाख, गुडविल फाइनान्सले ११ करोड ऋण दिएका छन् । साढे पाँच अर्ब ऋण लिएका प्रसाई पछिल्लो समय बैंकहरु विरुद्ध आन्दोलनको नेतृत्व गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्