फुङ्लिङ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटन व्यवसाय विस्तारै लयमा फर्कँदै छ । कञ्चनजङ्घामा ४ महिनामा ४ सय ३९ बाह्य पर्यटकले भ्रमण गरेका छन् । पर्यटकको आगमन बढ्दै गएको छ ।
कोभिड-१९ का कारणले लामो समय सुनसानजस्तै रहेको कञ्चनजङ्घा हिमशृङ्खला क्षेत्रमा पर्यटकीय चहलपहल बढ्दै गएको छ । कञ्चनजङ्घा संरक्षण तथा व्यवस्थापन परिषद्का कार्यालयका सचिव मनकुमार लिम्बूका अनुसार कञ्चनजङ्घा बसोबास गर्ने समुदायको मुख्य आम्दानीको स्रोत पर्यटन हो । पर्यटकको आगमनले पर्यटन तथा होटल व्यवसायी उत्साहित भएका उनी बताउँछन्। पर्यटकलाई लक्षित गरेर कञ्चनजङ्घा हिमाल जाने पदमार्गमा साना-ठूला लगानीका ५२ होटल सञ्चालनमा छन् ।
फक्ताङलुङ गाउँपालिका-६ ग्याप्लामा ७ करोड रुपैयाँभन्दा बढीको लगानीमा बनेको सिङ्गी नामजोङ होटल सञ्चालनमा छ । समुद्र सतहबाट ३ हजार ५ सय मिटरदेखि ४ हजार ५ सय मिटर उचाइमा १ करोड रुपैयाँभन्दा बढी लगानीमा बनेका ४ होटल सञ्चालनमा रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालयका कार्यक्रम सहायक संयोजक जितेन चेम्जोङले जानकारी दिए ।
“कोरोनाका कारण लामो समयसम्म कञ्चनजङ्घामा पर्यटकको आगमन हुनसकेको थिएन । पर्यटन व्यवसायी निराश भएका थिए । पहिल्लो समय पर्यटक आगमनले व्यवसायी उत्साहित भएका छन्”, घुन्साका होटल व्यवसायी पेमा शेर्पाले भने ।
आर्थिक वर्ष २०७६/७७ मा ३ सय ८६ पुरुष र १ सय ८६ महिला विदेशी पर्यटक कञ्चनजङ्घा क्षेत्रमा आएको परिषद्को तथ्याङ्कमा उल्लेख छ । दक्षिण एशियाली मुलुकबाट २५ पुरुष र ४ महिला पर्यटक कञ्चनजङ्घा आएका थिए । विसं २०५६ मा ७ सय ९९ विदेशी पर्यटक घुमघाम गर्न आएको तथ्याङ्क छ । विसं २०५७ मा ८ सय ७३ तथा २०५७ देखि २०७७ सालसम्म ११ हजार १ सय ९७ विदेशी पर्यटकले कञ्चनजङ्घा हिमालको अवलोकन गरेको परिषद्ले जनाएको छ ।
कञ्चनजङ्घाको आधार शिविर पुग्न दुई पदमार्ग प्रयोग गरिँदै आएको छ । पाँचथरको गणेशचोक हुँदै ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका भएर पर्यटक कञ्चनजङ्घा हिमालको आधार शिविर पुग्छन् । काठमाडौंबाट हवाईमार्ग भएर ताप्लेजुङको सुकेटर विमानस्थलसम्म हुँदै फक्ताङलुङ गाउँपालिकाको बाटो प्रयोग गरी कञ्चनजङ्घाको आधार शिविर पुगिन्छ । कञ्चनजङ्घा आउजाउ गर्ने पर्यटकको विवरण परिषद्ले राख्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्