Shikhar Insurance
National Life

७० अंक ल्याएर सवारी लाइसेन्स पाइने ‘ग्रेडिङ सिस्टम’ बागमती प्रदेशमा लागू, यस्ता छन् मापदण्ड

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन २, मंगलवार ११:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । बागमती प्रदेशमा आजदेखि सवारी अनुमतिपत्र (लाइसेन्स) परीक्षामा ‘ग्रेडिङ सिस्टम’ लागू भएको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले आजदेखि प्रदेशका सम्पूर्ण यातायात सेवा कार्यालयमा पहिलोपटक लाइसेन्समा ७० अंक ल्याए पास हुने गरी ग्रेडिङ सिस्टम कार्यान्वयनमा ल्याएको हो ।

यही फागुन १ गतेबाटै लागू गर्ने तयारीमा रहेको प्रदेश सरकारले सो बिदा परेकाले आजदेखि नयाँ मापदण्ड कार्यान्वयन ल्याएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मन्त्रालयले मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कूल अंकभार १ सय तोकेको छ । यसमा ७० अंक प्राप्त गर्ने प्रशिक्षार्थी अनुमतिपत्रका लागि योग्य मानिने व्यवस्था गरिएको छ । सवारी चालक अनुमति परीक्षा सञ्चालन निर्देशिका २०७७ निर्देशिकाअनुसार मोटरसाइकल, स्कुटर र मोपेड चालकका लागि घुमाउरो आठ (एट आकार) को अंक २० तोकिएको छ । २ पटकसम्म अंकित रेखा छोएमा प्रत्येक पटक ५ अंकको दरले १० अंकभार घट्नेछ तर, पनि ट्रायल भने फेल भइँदैन ।

यस्तै २ पटकभन्दा बढी उक्त रेखा छोएमा, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गएमा, १ पटकभन्दा धेरैपटक खुट्टाले भुइँ टेके, ठीक दिशाबाट वा ठीक तरिकाबाट ८ आकार नबनाए वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण भएको घोषणा गरिने व्यवस्था छ ।

यसैगरी साँघुरो फलेकको अंकभार १० तोकिएको छ । साँघुरो फलेकमा खुट्टाले भुइँमा टेकेमा, फलेकको लम्बाइ पार गर्नुअगावै फलेकबाहिर निस्के पनि अनुत्तीर्ण हुनेछन् । निर्देशिकामा यु–टर्नको अंकभार १० तोकिएको छ । टर्निङ लाइट नबालेको खण्डमा १० अंक घटाइनेछ । त्यस्तो अवस्थामा पनि अंकित रेखा छोए भने अनुत्तीर्ण हुनेछन् ।

ट्राफिक संकेतका लागि १५ अंकभार तोकिएको छ । ट्राफिक संकेत पालना नगरेको खण्डमा १५ अंक घटाइनेछ । निर्देशिकामा उबडखाबडको अंकभार १५ तोकिएको छ । एकपटकसम्म सवारीको स्टार्ट बन्द भएको खण्डमा ५ अंकभार घटाइनेछ । एकपटकभन्दा बढी स्टार्ट बन्द भयो भने प्रयोगात्मक परीक्षा दिने अनुत्तीर्ण हुनेछन् । उकालो (¥याप) को अंकभार २० तोकिएको छ । त्यसैगरी परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्याङ्कनलाई १० अंकभार तोकिएको छ ।

यस्तै कार, जिप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षाको कुल अङ्कभार एक सय तोकिएको छ । यसमा ७० प्रतिशत ल्याएको खण्डमा प्रशिक्षार्थी उत्तीर्ण भएको मानिनेछ । निर्देशिकाअनुसार कार, जिप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षामा घुमाउरो ८ (एट) को अंकभार २० तोकिएको छ । २ पटकसम्म अंकित रेखा छोए प्रत्येक पटक ५ अंकका दरले १० अंकभार घट्नेछ तर ट्रायल फेल भइँदैन ।

दुई पटकभन्दा बढी अंकित रेखा छोए, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गए, ठीक दिशाबाट वा ठीक तरिकाबाट ८ आकार नबनाएमा वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण हुने व्यवस्था गरिएको छ । निर्देशिकामा ट्राफिक संकेतको अंकभार १५ तोकिएको छ । पालना नगरे १५ अंक घट्ने प्रावधान राखिएको छ ।

त्यसैगरी यु–टर्नको अंकभार १० तोकिएको छ । टर्निङ इन्डिकेटर लाइट नबालेको खण्डमा १० अङ्कभार घटाइनेछ । अङ्कित रेखा छोएको खण्डमा भने प्रशिक्षार्थी अनुत्तीर्ण हुनेछन् । चारपाङ्ग्रे सवारी चालकलाई र्याम (उकालो)का लागि अंकभार १५ तोकिएको छ ।

तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी अगाडि बढेमा, रोकिएको अवस्थामा सवारीसाधन अगाडि बढाउँदा सवारीको पछाडिको टायर छ इन्चभन्दा पछाडि सरेमा, उकालो पार गरी ओरालोबाट झर्ने क्रममा तोकिएको सीमा नाघी सवारी रोकेमा वा एकपटकभन्दा धेरै सवारी स्टार्ट बन्द भएमा अनुत्तीर्ण हुनेछ । ‘ग्यारेज पार्किङ’को अंकभार १० तोकिएको छ । त्यसैगरी परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्याङ्कनलाई १० अंकभार तोकिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्