Shikhar Insurance
National Life

अब पनौती छेउमै पाइन्छ प्याराग्लाइडिङको अवसर, फुल्चोकी–कुशादेवीमा परीक्षण उडान सफल

राजकुमार पराजुली
२०७९ फाल्गुन २, मंगलवार १०:२७
Hyundai
NCELL
NIMB

काभ्रेपलाञ्चोक । पनौती नगरस्थित पुल्चोकी–कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ उडान सुरुआत गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरणले काभ्रेको फुल्चोकी–कुशादेवी क्षेत्रमा स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई गत पुस अन्तिम साता प्याराग्लाइडिङ (मनोरञ्जनात्मक उड्डयन सञ्चालन)को अनुमति दिएको थियो ।

उक्त स्थानमा प्याराग्लाइडिङ सञ्चालनार्थ प्राधिकरणले गत माघबाट सञ्चालन गर्न पाउने गरी अनुमति प्रदान गरेको हो । प्राधिकरणबाट सञ्चालन निर्देशन भएपछि व्यावसायिक उडानको तयारीस्वरुप सोमबारदेखि परीक्षण उडान सुरु गरिएको प्रालिका अध्यक्ष छविलाल हुमागाईँले बताए । “व्यावसायिक उडानका लागि परीक्षण उडान थालेका हौँ, तीन दिनको परीक्षण उडानपछि व्यावसायिक उडान गर्नेछौँ”, उनले भने । सम्पूर्ण तयारीपछि उडान थालिएको जनाइएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अध्यक्ष हुमागाईँका अनुसार हाल उडानका लागि तीन प्याराग्लाइडिङबाट ‘डेमोस्ट्रेशन’ उडान भएको हो । परीक्षण उडानपछि क्रमशः १० वटाले प्याराग्लाइडिङबाट उडान सञ्चालनमा ल्याइने जनाइएको छ । ‘डेमोस्ट्रेशन’ उडानपछि ‘टेकअप’ र ‘ल्याण्डिङ’का स्थान यकिन गरी दुवै क्षेत्रको दिगो व्यवस्थापनमा लाग्ने उनले बताए ।

कुशादेवी क्षेत्र तीन वर्षअघि विहावर क्षेत्र पर्यटन महोत्सवका क्रममा फुल्चोकीको गुर्दूमडाँडाबाट प्याराग्लाइडिङको परीक्षण उडान गरिएको क्षेत्र हो । त्यसबेला १५ प्याराग्लाइडिङद्वारा तीन दिन परीक्षण उडान गरिएको थियो भने त्यसपछि अन्य दुई समयमा पनि व्यावसायिक उडानका लागि परीक्षण भइसकेका थिए । उक्त स्थानबाट उडान भर्ने स्थान, ल्याण्डिङ, हावाको चाप तथा अन्य वातावरण अनुकूल भएकाले हाल अनुमति पाएको जनाइएको छ ।

यस्तै प्रालिले दैनिक १० प्याराग्लाइडिङले बिहान १० देखि अपराह्न ४ बजेसम्म उडान अनुमति पाएको हो । तोकिएको समयमा छ हजार पाँच सय फिट उचाइसम्म ‘भिजीबीलिटी’ रहने जनाइएको छ । प्याराग्लाइडिङ गुर्दूमडाँडाबाट उडान सुरुगरी कुशादेवीको बन्चरेटारमा ल्यान्डिङ हुन्छ । गुर्दूमडाँडाबाट बन्चरेटार सडकको दूरीका हिसाबले चार किलोमिटर हो । तर प्याराग्लाइडिङको दूरी करिब एक हजार ५० मिटर छ । उडान भर्ने स्थान समुद्री सतहबाट दुई हजार तीन सय ५० मिटर उचाइमा छ भने ल्याण्डिङ हुने स्थान बन्चरेटार एक हजार तीन सय मिटरमा छ ।

प्याराग्लाइडिङ उडानका लागि स्थानीय पाँच युवालाई सोही विषयको अध्ययन गराइएको थियो । “प्याराग्लाइडिङले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नुका साथै यस क्षेत्रको पर्यटन प्रचारात्मक हुने अपेक्षा गरेका छौँ”, पनौती–२ का वडाध्यक्ष पुरुषोत्तम अधिकारीले भने । उनका अनुसार प्याराग्लाइडिङ सञ्चालनपछि कुशादेवी विहावर क्षेत्रको आर्थिक विकासमा थप टेवा पुग्नेछ ।

पनौती नगरले पनि चालु आर्थिक वर्षमा साहसिक खेल–पर्यटनलाई प्राथमिकतामा राखेको छ । साथै यस वर्ष हाइकिङ ट्रेलको विकास, विस्तार तथा प्रचार गर्न नगरले आफ्नो नीति तथा कार्यक्रममासमेत उल्लेख गरेको छ । यस्तै साहसिक खेलजन्य गतिविधिको प्रवद्र्धनार्थ प्याराग्लाइडिङ, रक क्लाइम्बिङ, साइक्लिङजस्ता इभेन्ट सञ्चालन गरिने योजनामा राखिएको हो ।

नगरले यसअघि गत वर्ष चैतमा पर्यटन प्रवद्र्धनार्थ पर्यटकीय क्षेत्र फुल्चोकी र नागीडाँडामा साहसिक खेल साइक्लिङको सुरुआत गरेको थियो । उक्त साहसिक खेल नगरको १ नं वडास्थित सबैभन्दा अग्लो पर्यटकीयस्थल फुल्चोकीडाँडाबाट २ नं वडाको नागीडाँडासम्म छ किलोमिटर साइक्लिङ टे«ल रुट तय गरिएको छ । नगरको ‘फुल्चोकी टावर माउन्टेन बाइक ट्रेल’मा त्यतिबेला नेपाल, क्यानाडा र भारतका करिब दुई सय राइडरले साइक्लिङ गरेका थिए ।

यसैगरी नेपाल पर्यटन बोर्डका अनुसार पनौती–नमोबुद्ध हाइक, बल्थली इको–ट्रेल (लो–ल्याण्ड ट्रेक), साँगा–पनौती हाइक (कम्युनिटी हाइक), गुर्दूम–महाभारत पदयात्रा, माउण्टेन बाइक (फुल्चोकी वरिपर्)ि, बर्ड वाचिङ (चराको दृष्यावलोकन), योग रिट्रिट, सामुदायिक र निजी होमस्टे, तामाङ सांस्कृतिक पदयात्रा मार्ग, जात्रा–मेला अवलोकन भ्रमण गर्न सकिने छ ।

गत वर्ष असोजमा बोर्डले पनौतीको ऐतिहासिक एवं पर्यटकीय क्षेत्र प्रवर्द्धनार्थ घुम्ने स्थान र गर्न पाइने गतिविधि प्रचारमा ल्याएको थियो । यसका लागि बोर्डले पनौती नगरभित्रका ऐतिहासिक सम्पदा एवं पर्यटकीयस्थललाई मान्यता दिँदै प्रचार सामग्रीसमेत सार्वजनिक गरेको छ । यस्तै साहसिक खेल पर्यटनका लागि पनौती उपयुक्त स्थान रहेको जनाउँदै नगरमा मनोरञ्जनात्मक कार्य गर्न प्याराग्लाइडिङ, रक क्लाइमिङजस्ता खेल गर्न सकिने बोर्डले जनाएको छ ।रासस

GBIME

प्रतिक्रिया दिनुहोस्