काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटको आकार २ खर्ब ४४ अर्ब रुपैयाँले घटाएको छ । उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले चालु आव २०७९÷८०को मध्यावधि समीक्षा गर्दै बजेटको आकार १४ प्रतिशतले घटाइएको बताएका छन् ।
सरकारले चालु आर्थिक वर्षको लागि कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो । सरकारी खर्चलाई घटाएर हाल १५ खर्ब ४९ अर्ब ९९ करोड रुपैयाँ कायम गरिएको अर्थमन्त्री पौडेलले प्रतिनिधिसभामा चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै जानकारी दिएका हुन् ।
चालु खर्चतर्फ ११ खर्ब ८३ अर्ब २३ करोड रुपैयाँ बराबरको सुरुवाती बटेजलाई घटाएर १० खर्ब २१ अर्ब ९२ करोडमा झारिएको छ । जुन सुरुवाती विनियोजनको ८६.३७ प्रतिशत बराबर हो । त्यसैगरी पुँजीगत खर्चतर्फ ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ बराबर सुरुवाती विनियोजन रहेकोमा त्यसलाई घटाएर ३ खर्ब १३ अर्ब ८५ करोडमा झारिएको छ । जुन सुरुवाती विनियोजनको ८२.५१ प्रतिशत बराबर हो ।
वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २१ करोड रुपैयाँ बराबर सुरुवाती विनियोजन रहेकोमा त्यसलाई घटाएर २ खर्ब १४ अर्ब २१ करोड रुपैयाँमा झारिएको छ । जुन सुरु विनियोजनको ९३.०५ प्रतिशत बराबर हो ।
प्रतिक्रिया दिनुहोस्