ढोरपाटन । धौलागिरि हिमालको काख । बाक्लो बस्ती, प्राकृतिक सुन्दरता । केही भिरालो, केही समथर भू–भाग । बागलुङ सदरमुकामबाट सबैभन्दा टाढा छ, तमान गाउँ । तमानखोला गाउँपालिका–३ मा पर्ने यो गाउँ पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको छ ।
चिटिक्क मिलेर बनेका तमान गाउँका घरले धेरैलाई आकर्षित गरिरहेको छ । वर्षौंदेखि पर्यटक पर्खी रहेको तमान गाउँ विकटमा हुँदा आगन्तुक भित्र्याउन सकेको छैन । गाउँपालिकाले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन पूर्वाधार निर्माणमा जोड दिएको छ ।
गाउँपालिकाले तमान गाउँलाई ‘पर्यटकीय हब’का रुपमा विकास गर्न ‘मिनी’ जलाशययुक्त बहुउद्देश्यीय हाइड्रोपावर निर्माण गर्ने भएको छ । यही गाउँ हुँदै बग्ने तमानखोलालाई थुनेर गाउँपालिकाले हाइड्रोपावर निर्माण गर्न दुई वर्षदेखि अध्ययन गरेको छ ।
गाउँपालिकाको गौरवको यो परियोजना सरकारी तथा निजी क्षेत्रको सहकार्यमा हुने छ । तमानखोला थुनेर हाइड्रोपावर मात्रै बन्ने छैन । यहाँ ‘फिस फार्म’, ‘¥याफ्टिङ’ लगायत पर्यटक आकर्षित गर्ने अन्य संरचना बन्ने छन् ।
गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगर तमान गाउँलाई ‘पर्यटकीय गाउँ’ बनाउन र यहाँका नागरिकको जीवनस्तर उकास्न यो योजना सुरु गर्न लागेको बताउँछन् । “हाइड्रोपावरसँगै यहाँ पर्यटकीय पूर्वाधार निर्माण गरिने छ, यसका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार हुँदैछ, योजनाको निर्माण सुरु भएको तीन वर्षमा सक्ने गरी काम हुने छ, परियोजना सरकार, निजी क्षेत्र र स्थानीय नागरिकको लगानीमा निर्माण हुनेछ”, उनले भने ।
तमान गाउँ राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र सालझण्डी–ढोरपाटन सडकसँग नजिक पर्छ । सरकारको रणनीतिक सडकअन्तर्गत प्युठानको स्वर्गद्वारी, बागलुङको ढोरपाटन, म्याग्दीको गलेश्वर र मुस्ताङको मुक्तिनाथसँग जोडिने सडकको केन्द्रमा यो गाउँ पर्छ ।
यो सडकलाई ‘धार्मिक पर्यटक सडक’को नामकरण गरेको र यहाँ धार्मिक पर्यटक बढी भित्र्याउने लक्ष्य लिइएको छ । उनि भन्छन्, “यो गाउँ निकै केन्द्रमा पर्छ, अहिले आन्तरिक पर्यटक त आउँछन् तर एक/दुई दिन राख्न सकिएको छैन, पर्यटक घुम्न बाँध बाँधेर ताल बन्छ, डुङ्गा सञ्चालन हुन्छ, फिस फार्म चल्छ्, वरपर रेष्टुराँ र आकर्षक पर्यटकीय संरचना निर्माण हुने छ ।”
प्रतिक्रिया दिनुहोस्